खेलाडीले पुरस्कार रकम पाउन अझै कुर्नुपर्ने

काठमाडौं  । युवा तथा खेलकुद मन्त्रालयले चार महिनाअघि काठमाडौंमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा पदक जित्न सफल खेलाडीलाई दिने घोषणा गरिएको पुरस्कार छिट्टै पाउने बताएका छन् । मन्त्रालयका प्रवक्ता डा. मानबहादुर विकेले जारी गरेको विज्ञप्तिमा (साग)मा सहभागी खेलाडी, प्रशिक्षक, अफिसिएल तथा संघले पेस्की फस्र्योट गरेपछि सरकारले घोषणा गरेको पुरस्कार रकम पाउने जनाएको छ ।

सोहीअनुरूप प्रक्रिया अघि बढेको र केही प्रक्रिया हुन बाँकी रहेको र त्यो पूरा हुनेबित्तिकै घोषित रकम सम्बन्धित खेलाडी तथा प्रशिक्षकको खातामा पठाइनेछ । आफूले लिएको पेस्की रकम पूर्ण रूपमा फस्र्याेट नहुँदासम्म पुरस्कार रकम नपाउने विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले साग सकिएको भोलिपल्ट २५ मंसिरमा सागमा ऐतिहासिक प्रदर्शन गरेकालाई नगद पुरस्कारबाट सम्मानित गर्ने घोषणा गरेका थिए । प्रधानमन्त्री आफैंले घोषणा गरेको रकम चार महिनासम्म खेलाडीले नपाउँदा चौतर्फी दबाब बढेको छ । खेलकुद मन्त्रालयमा गत मंगलबार खेलाडीलाई सागको प्रोत्साहन रकम दिने सम्बन्धमा बैठक बसेको थियो । खेलाडी, प्रशिक्षक, अफिसिएल, संघ तथा संस्थाले सरकारलाई तिर्नुपर्ने बेरुजु रकम बाँकी नरहेको स्वयं घोषणा गरेको अवस्थामा घोषित पुरस्कार रकम पाउने मन्त्रालयका प्रवक्ता विकेले जनाएका छन्  ।

‘पुरस्कार तथा सम्मानका लागि मन्त्रालयसमक्ष सिफारिस गर्न गठित खेलकुद पुरस्कार तथा सम्मान समितिको ५ चैतमा बसेको बैठकले सरकारलाई तिर्न र बुझाउन कुनै बेरुजु वा अन्य रकम बाँकी नरहेको स्वघोषणा गर्नुपर्नेछ,’ मन्त्रालयका प्रवक्ता विकेले भने, ‘राष्ट्रिय खेलकुद परिषद्मा यथाशीघ्र सम्पर्क गरी अद्यावधिक गर्न मन्त्रालयले अनुरोध गरेको छ ।’

२४ मंसिरमा काठमाडौंमै सम्पन्न १३औं सागमा नेपालले ऐतिहासिक प्रदर्शन गर्दै ५१ स्वर्ण, ६० रजत र ८६ कांस्यपदक जितेको थियो । नेपालका लागि पौडीमा गौरिका सिंहले सर्वाधिक चार स्वर्ण जितेकी थिइन् । यसैगरी, करातेका मण्डेकाजी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य तथा गल्फका सुवास तामाङले समान दुई–दुई स्वर्ण जितेका थिए । स्वर्ण विजेतालाई नौ लाख, रजतलाई ६ लाख र कांस्यलाई तीन लाख दिइने घोषणा भएको थियो ।

यसैगरी, दुईभन्दा बढी स्वर्ण जित्ने खेलाडीलाई प्रतिस्वर्ण ११ लाख रुपैयाँ दिने जनाइएको छ । टिम इभेन्टमा स्वर्ण जित्नेलाई पाँच लाख, रजतलाई तीन लाख र कांस्य जित्नेलाई दुई लाख दिने घोषणा गरेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 395 times, 1 visits today)

epaper

ताजा समाचार

डिफेन्डिङ च्याम्पियन एनआरटी फाइनलमा