राजस्व संकलनको लक्ष्य भेट्टाउन कठिन

काठमाडौं । विगतका वर्षझैं चालू आर्थिक वर्ष २०७९÷८० मा पनि सरकारलाई राजस्व संकलनको लक्ष्य भेटाउन कठिन देखिएको छ ।

चालू आर्थिक वर्षको साउनदेखि मंसिर मसान्तसम्मका लागि सरकारले ४ खर्ब ३१ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको थियो । तर, हालसम्म जम्मा ३ खर्ब ७ अर्ब रुपैयाँ मात्र राजस्व उठेको छ । यो चालू आवको समीक्षा अवधिका लागि यसअघि तय गरिएको अनुमानित लक्ष्यको ७१ प्रतिशत मात्रै हो । यो अवधिमा तय गरिएको अनुमानित लक्ष्यभन्दा १ खर्ब २३ अर्ब रुपैयाँ कम राजस्व उठेको छ ।

हालसम्मको अवस्थाअनुसार चालू आर्थिक वर्षको बाँकी आगामी सात महिनाको अवधिमा सरकारले राजस्व संकलनको लक्ष्य भेट्न निकै कठिन हुनेछ ।

आन्तरिक रावस्व विभाग र भन्सार विभागको तथ्यांकअनुसार हालसम्मको समीक्षा अवधिमा लक्ष्यभन्दा निकै कम राजस्व उठेको देखिएको हो । आन्तरिक राजस्व विभागले यसअघि सरकारले विभिन्न विलासिताका वस्तुमाथि लगाएको आयात प्रतिबन्धका कारण अपेक्षाकृत रूपमा राजस्व संकलन नभएको बताएको छ । यसैगरी, विभागले लामो समय कायम रहेको आयात प्रतिबन्धको असर अहिले मुलुकको राजस्वमा देखिएको बताएको छ ।

– हालसम्म जम्मा ३ खर्ब ७ अर्ब रुपैयाँ मात्र उठ्यो

– लक्ष्यभन्दा १ खर्ब २३ अर्ब रुपैयाँ न्यून

सम्बन्धित व्यवसायी एवं सरोकारवालाले पनि लामो समय सरकारले सवारीसाधन, विदेशी मदिरालगायत विभिन्न वस्तुहरूलाई विलासिताका सामग्री भनेर आयात नै बन्द गरिदिएकाले मुलुकको राजस्व संकलनमा त्यसको प्रत्यक्ष प्रभाव देखिएको बताउँदै आएको छ । उनीहरूले सरकारले यस्ता वस्तुमाथि लामो समय प्रतिबन्ध लगाएकै कारण अहिले राजस्व संकलनको दर ह्वात्तै घटेको दाबी गरेका छन् ।

उनीहरूका अनुसार सरकारले विभिन्न भन्सार नाकामा भन्सार शुल्कसहित मूल्यअभिवृद्धि कर र अन्तःशुल्क समेत उठाउँछ । भन्सार विभागबाट मात्रै चालू आर्थिक वर्षको साउनदेखि मंसिरसम्म कुल २ खर्ब ५७ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य थियो । तर, सो लक्ष्यमा पनि ब्रेक लगेर समीक्षा अवधिमा जम्मा १ खर्ब ५७ अर्ब रुपैयाँ मात्र राजस्व उठेको छ । यो लक्ष्यको ६१ प्रतिशत मात्र हो ।

यसैगरी, समीक्षा अवधिको अन्तिम महिना मंसिर एक महिनामा मात्र भन्सार विभागबाट ५५ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य थियो । तर, २८ अर्ब रुपैयाँ मात्र उठेको भन्सार विभागले जनाएको छ ।

सरकारले आयात नियन्त्रण गरी वैदेशिक मुद्राको सञ्चितीदर बढाउन अनेकौं प्रयास गरेअनुसार आयात घटेसँगै भन्सारबाट असुली हुने राजस्व संकलनको दर पनि न्यून भएको छ । भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार चालू आवको कात्तिक महिनामा आयात १८.०८ प्रतिशतले घटेर ५ खर्ब ३२ अर्ब रुपैयाँमा सीमित भएको छ ।

यसैगरी, आन्तरिक राजस्व विभागले साउनदेखि मंसिर मसान्तसम्ममा १ खर्ब ७४ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको थियो । तर, सो अवधिमा जम्मा १ खर्ब ५० अर्ब रुपैयाँ मात्र राजस्व उठाउन सफल भएको छ । यो लक्ष्यको ८६.३७ प्रतिशत हो ।

यो अवधिमा आन्तरिक राजस्व विभागले आयकर (घरबहाल कर, ब्याज कर र पुँजीगत लाभकरसहित), मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, स्वास्थ्य सेवा कर र शैक्षिक करतर्फको शीर्षकबाट सो राजस्व उठाएको हो । यस्तो करसँगै आन्तरिक राजस्व विभागको मासिक असुली लक्ष्यको ७७.४९ प्रतिशत मात्र छ ।

यसैगरी, आन्तरिक राजस्व विभाग मातहत उठाइने करमा पनि वार्षिक ३ प्रतिशतले कमी आएको विभागले जनाएको छ । यही अवधिमा गत वर्ष विभागले १ खर्ब ५५ अर्ब रुपैयाँ राजस्व उठाएको थियो । यो विभागले मंसिर एक महिनामा मात्र ३३ अर्ब २२ करोड रुपैयाँ राजस्व असुलीको लक्ष्य लिएको थियो । सो अवधिमा लक्ष्यभन्दा निकै कम जम्मा २५ अर्ब ७४ करोड मात्र राजस्व संकलन गरेको छ ।

आन्तरिक राजस्व विभागले यो अवधिमा उठाएको मध्ये मूल्य अभिवृद्धि कर र अन्तःशुल्क शीर्षकको राजस्वमा सबैभन्दा धेरै कमी आएको हो । गत वर्ष साउनदेखि मंसिरसम्म ४४ अर्ब ५३ करोड रुपैयाँ मूल्य अभिवृद्धि कर उठाएकोमा यसपालि जम्मा ४२ अर्ब रुपैयाँ मात्र उठेको विभागले जनाएको छ ।

त्यसैगरी, विभागले गत वर्षको सोही अवधिमा ४२ अर्ब ४५ करोड रुपैयाँ अन्तः शुल्क उठाएको विभागले यसपालि जम्मा ३९ अर्ब ७४ करोड रुपैयाँ मात्र उठाउन सफल भएको बताएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 314 times, 1 visits today)

epaper

ताजा समाचार

सामाजिक सञ्जाल नियमन गर्न कानुन बनाउन माग