कपिलवस्तु । चिसो तथा शीतलहरबाट हुनसक्ने सम्भावित विपद्बाट जोगाउन कपिलवस्तुमा पूर्वतयारी थालिएको छ । चिसो मौसम सुरु भएपछि बिहीबार जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जिल्ला संरक्षण विषयगत समितिको बैठक बसी एकीकृत तयारी गर्ने योजना बनाएको छ ।
चिसो मौसमसँगै शीतलहरका कारण विशेषगरी विपन्न, गर्भवती, बालबालिका तथा ज्येष्ठ नागरिक प्रभावित हुने भएकाले लक्षित वर्गलाई पहिचान गरी आवश्यक सहयोग तथा राहत हुने खालका क्रियाकलाप गरिने भएको छ ।
बैठकको सहजीकरण गर्दै सिद्धार्थ सामाजिक विकास केन्द्रका कार्यकारी निर्देशक पोमनारायण पौडेलले जाडोमा महिला, बालबालिका तथा वृद्धवृद्धामा असर गर्न सक्ने हुँदा अति जोखिममा रहेका समुदायको संरक्षण गरिने बताए ।
बैठकले पत्रकार महासंघले जाडोबाट बच्ने सुरक्षाका लागि सचेतना गर्ने, जिल्ला समन्वय समितिले पालिकासँग समन्वय गर्ने, प्रहरी र प्रशासन कार्यालयले लक्षित समुदायसम्म एकद्वार प्रणालीबाट राहत पु-याउने योजना बनेको समितिका सदस्य त्रिलोचन ज्ञवालीले बताए ।






