प्रचण्ड तेस्रोपटक प्रधानमन्त्री

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएका छन् । माओवादी जनयुद्धका ‘नायक’ प्रचण्ड तेस्रो कार्यकालका लागि आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । प्रचण्डले प्रधानमन्त्रीका रूपमा सोमबार दिउँसो ४ बजे शपथ ग्रहण गर्ने राष्ट्रपति कार्यालयले जनाएको छ । हाल कांग्रेसको नेतृत्वमा रहेको सत्ता गठबन्धन भत्किएपछि एमाले, माओवादीलगायतको नयाँ गठबन्धनबाट प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका हुन् । एमाले र माओवादी केन्द्रबीच आधाआधा कार्यकाल प्रधानमन्त्री बन्ने सहमति भएको छ । जसअनुसार पहिलो साढे दुई वर्ष प्रचण्ड प्रधानमन्त्री बनेका छन् भने साढे दुई वर्षपछि एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने सहमति भएको छ ।

माओवादी केन्द्र संसदीय दलका नेतासमेत रहेका प्रचण्डले माओवादी केन्द्रसहित नेपाल कम्युनिस्ट पार्टी (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी नेपाल (जसपा), जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टीको समर्थनसहित राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए ।

ओली र प्रचण्ड आधाआधा कार्यकालको सहमति

यसैगरी, स्वतन्त्र सांसद प्रभु साह, किरणकुमार साह र अमरेशकुमार सिंहले पनि प्रचण्डलाई समर्थन गरेका छन् । २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा सरकार गठनका लागि १ सय ३८ सांसद आवश्यक हुन्छ । तर, प्रचण्डलाई १ सय ६९ सांसदको समर्थन रहेको छ ।

एमालेको ७८, माओवादी केन्द्रको ३२, रास्वपाको २०, राप्रपाको १४, जसपाको १२, जनमत पार्टीको ६, नागरिक उन्मुक्ति पार्टीको ४ र स्वतन्त्र सांसद ३ गरी प्रचण्डलाई १ सय ६९ सांसदको समर्थन रहेको हो ।

प्रतिनिधिसभामा निर्वाचनमा कुनै पनि एक दलको बहुमत नआएकाले राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (२) अनुसार मिलीजुली सरकार बनाउन आइतबार बेलुकी ५ बजेसम्मको समय दिएकी थिइन् । राष्ट्रपतिले दिएको समयभित्र प्रचण्डले १ सय ६९ सांसदको समर्थनसहित प्रधानमन्त्रीमा दाबी पेस गरेका हुन् ।

कम्युनिस्ट नेताबाट तेस्रोपटक प्रधानमन्त्री
नेपालका कम्युनिस्ट पार्टीबाट तेस्रो कार्यकालका लागि प्रचण्ड प्रधानमन्त्री भएका छन् । यसअघि कम्युनिस्ट पार्टीबाट एमालेका अध्यक्ष केपी शर्मा ओली दुई कार्यकाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल एक कार्यकाल, एकीकृत समाजवादीकै सम्मानित नेता झलनाथ खनाल एक कार्यकाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई एक कार्यकाल प्रधानमन्त्री भएका थिए । यी नेताबाहेक एमालेका मनमोहन अधिकारी समेत एकपटक नै प्रधानमन्त्री भएका थिए ।

एमालेः ७८

माओवादी केन्द्रः ३२

रास्वपाः २०

राप्रपाः १४

जसपाः १२

जनमत पार्टीः ६

नागरिक उन्मुक्ति पार्टीः ४

स्वतन्त्र सांसदः ३

जम्माः १६९

तेस्रोपटक प्रधानमन्त्री भएका प्रचण्ड माओवादी जनयुद्धका नेतृत्वकर्ता पनि हुन् । प्रचण्डले नेतृत्व गरेको जनयुद्धमा कैयौं निर्दोष नागरिक मारिएको, बेपत्ता भएको र विस्थापित भएको विषयमा उनको आलोचना पनि हुने गरेको छ ।

प्रचण्डको सफल राजनीतिक यात्रा
प्रचण्ड २ भदौ २०६५ मा पहिलोपटक गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्रीको भएका थिए । संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणापछि कम्युनिस्ट पार्टीबाट पहिलोपटक प्रधानमन्त्री भएका प्रचण्डले ११ जेठ २०६६ सालमा तत्कालीन नेपाली सेनाका प्रधानसेनापति रुक्मांगत कटुवालसँग विवाद परेपछि राजीनामा दिएका थिए । कटुवाल प्रकरणमा राष्ट्रपति रामवरण यादवले रुक्मांगत कटुवाललाई प्रधानसेनापतिमा थमौती गरेको पत्र दिएपछि उनले राजीनामा थिए । उनको सरकारलाई एमाले र तत्कालीन मधेसी जनअधिकार फोरम नेपालको समर्थन थियो ।

३ असोज २०७२ मा नेपालको संविधान घोषणा भएपछि पनि प्रचण्ड दोस्रो कार्यकाल प्रधानमन्त्री हुन सफल भएका थिए । उनले १९ साउन २०७३ देखि २३ जेठ २०७४ सम्म झन्डै १० महिना प्रधानमन्त्री हुने अवसर पाएका थिए । उनी पहिलो संविधानसभा चुनावमा रोल्पा २ र काठमाडौं १० बाट प्रत्यक्ष निर्वाचित हुन सफल भए । दोस्रो संविधानसभा चुनावमा काठमाडौं १० बाट पराजित भए भने सिराहा–५ बाट निर्वाचित हुन सफल भएका थिए । २०७४ सालको चुनावमा चितवन ३ बाट र २०७९ को निर्वाचनमा गोरखा २ बाट निर्वाचित भएका हुन् ।

कृषि पढाउने शिक्षक हुँदै कम्युनिस्ट नेता
प्रचण्डको जन्म २६ मंसिर २०११ मा कास्की जिल्लाको तत्कालीन ढिकुरपोखरी गाविस–२ लेवाडेमा भएको हो । पिता मुक्तिराम र माता भवानीका जेठो छोरा प्रचण्डले आफ्नो प्रारम्भिक शिक्षा कास्कीको ढिकुरपोखरीमै लिएका थिए । २०२६ मा चितवनको नारायणी विद्या मन्दिर माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका थिए ।

उच्च शिक्षा काठमाडौंको पाटन बहुमुखी क्याम्पसबाट आईएससी पूरा गरेपछि चितवनको रामपुर कृषि क्याम्पसबाट बीएस्सी पूरा गरे । प्रचण्डले एमपीएसम्मको अध्ययन पूरा गरेका छन् । प्रचण्डले नारायणी विद्या मन्दिर, मावि नवलपरासी, भीमोदय मावि आरुघाटमा अध्यापन गराएका थिए । २०१९ सालमा ढिकुरपोखरी–२ बाट चितवन भरतपुरको शिवनगर गाविसमा बसाइ सरेका थिए । २०२६ वैशाखमा सीता पौडेलसँग विवाह गरेका प्रचण्डका तीन छोरी र एक छोरा छन् । हाल छोरा प्रकाश र जेठी छोरी ज्ञानुको निधन भइसकेको छ ।

प्रचण्डले २०२८ सालमा नेकपाको पुष्पलाल समूहबाट पार्टीको सदस्यता लिएका थिए । २०३४ सालमा चौथो महाधिवेशनमा प्रवेश गरी २०३५ सालमा पूर्णकालीन कार्यकर्ता कार्यकर्ता भएका थिए । २०३६ सालमा चितवन जिल्ला समिति सदस्यमा निर्वाचित हुन सफल भए । २०३८ मा क्षेत्रीय ब्युरो सदस्य एवं अखिल नेपाल युवक संघको केन्द्रीय समितिको महासचिव भई २०४० मा संघको केन्द्रीय अध्यक्षमा निर्वाचित भए । २०४१ मा नेकपा (मसाल)को पाँचांै महाधिवेशनबाट केन्द्रीय सदस्य, २०४२ सालमा पोलिटब्युरो सदस्य र २०४६ सालमा महामन्त्री हुन सफल भए । २०४८ सालमा विभिन्न कम्युनिस्ट घटकबीच एकता गरेर नेकपा –एकता केन्द्र)को महामन्त्री हुन सफल भए ।

यसैगरी, २०५१ सालमा तत्कालीन नेकपा–एकता केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनबाट पार्टीको नाम फेरेर नेकपा माओवादी बनाइयो । २०५७ सालमा भएको दोस्रो राष्ट्रिय सम्मेलनबाट प्रचण्ड माओवादी अध्यक्ष हुन सफल भए । २०५८ साल जनमुक्ति सेना नेपालको सर्वोच्च कमान्डर भएका प्रचण्ड २०६२-२०६३ सालको जनआन्दोलनपछि शान्ति प्रक्रियामा प्रवेश गरेका थिए । २०६९ सालको सातौं महाधिवेशनबाट प्रचण्ड पुनः अध्यक्षमा निर्वाचित भएका थिए । प्रचण्डको नेपाली क्रान्तिका समस्या (भाग १, २ र ३), संस्कृति, कला र सौन्दर्य चिन्तन, प्रचण्डका छानिएका रचना (खण्ड १ र २) तथा प्रचण्डका छानिएका सैन्य रचनालगायतका पुस्तक प्रकाशित छन् । २०३८ देखि २०६३ सम्म भूमिगत अवस्थामा रहँदा कल्याण, विश्वास, निर्माण र प्रचण्ड नाम राखेका थिए ।

यसरी भए महामन्त्री
कम्युनिस्ट राजनीतिमा संलग्न भएको १८ वर्षपछि ३५ वर्षको उमेरमा प्रचण्ड नेकपा मशालको महामन्त्री भएका थिए । पार्टीमा प्रमुख पद नै महामन्त्री रहने व्यवस्था त्यतिबेला थियो ।

प्रचण्ड महामन्त्री भएको प्रसंग भने रोचक छ । प्रचण्डले योङ कम्युनिस्ट लिगमा राम्रो क्षमता देखाएका कारण उनी तात्कालिक मशालको केन्द्रीय सदस्यमा परेका थिए । उनी त्यहाँ पनि लोकप्रिय हुँदै गए ।

२०४३ सालमा मोहन वैद्यले नेतृत्व गरेको मशालले पञ्चायती व्यवस्थाले घोषणा गरेको निर्वाचन बिथोल्न प्रहरीचौकीमा आक्रमण प्रयास ग¥यो । कम्युनिस्ट राजनीतिमा सो घटनालाई ‘सेक्टर काण्ड’ भनेर चिनिँदै आएको छ । तर, आक्रमण सफल नभएपछि पार्टीभित्र वैद्यले पार्टी नेतृत्व छोड्नुपर्ने माग उठ्यो । त्यसपछि मोहन वैद्य आफैंले सेक्टर काण्डमा संलग्न नेताको एक तह घटुवा गर्ने प्रस्ताव राखेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 533 times, 1 visits today)

epaper

ताजा समाचार

बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु