काठमाडौं । अभिनेत्री रेखा थापाले अब चलचित्र निर्माण तथा अभिनयलाई महत्व दिने बताएकी छिन् । पछिल्लो समय आफु राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को पार्टी अधिवेशन, स्थानीय निर्वाचन र संसदीय निर्वाचनमा व्यस्त भएको कारण सिनेमालाई समय दिन नसकेको उनले खुलाएकी छिन् ।
आधा दशकपछि उनले चलचित्र ‘ह्यारीकी प्यारी’मा विशेष भूमिका निर्वाह गरेकी छिन् । सो चलचित्रको धरहरा…गीतमा उनले नृत्य प्रस्तुत गरेकी छिन् । बिहिबार काठमाडौंमा ह्यारीकी प्यारीको यो गीतको भिडियो सार्वजनिक कार्यक्रममा अभिनेत्री रेखाले आफ्नो पहिलो महत्व चलचित्र नै रहेको जिकिर गरेकी छिन् ।
गतवर्ष मात्र विवाह गरेकी उनले अर्को वर्षमा सन्तानकी आमा समेत बन्ने भनाई राजधानीकर्मीसँग राखेकी छिन् । चलचित्र बिस्तार र सन्तान बिस्तारमध्य केलाई अब महत्व दिनुहुन्छ भन्ने राजधानीको प्रश्नमा उनले भनिन्,‘फिल्म त म अभिनय निर्माण दुबै गर्छु नै, सन्तान बिस्तारमा पनि लाग्ने छु । आगामी वर्ष मेरो सन्तान र सिनेमा दुबैको विस्तारसँगै हुने सँभावना छ ।’
डाक्टर कपिल रिजालको डेब्यु निर्देशन तथा डा. भोला रिजालको निर्माण रहेको यो फिल्ममा दुबै डाक्टरसँग काम गर्न पाउँदा खुसी लागेको रेखाले कार्यक्रममा बताईन्,‘थुप्रै सफल फिल्म बनाउनु भएको डा. भोला रिजालज्यूको फिल्मबाट प्रस्ताव आएपछि चुनावको दौडाकै बीच मैले यो यो फिल्ममा विशेष भूमिकामा अभिनय गरेको हुँ । फिल्म मेरो पहिलो महत्व भएकाले पनि डाक्टर सावहरुको यो फिल्मका मैले काम गरेको हुँ ।’
यो फिल्म चार भाषामा निर्माण हुन लागेकोले पनि यसमा काम गर्दा अझ खुसी लागेको पनि रेखाले बताईन् । बिहिबार सार्वजनिक भएको गीतमा शिखर सन्तोषकोे संगीत, डा. भोला रिजालको शब्द, सपन कुमार राई र मिना निरौलाको स्वर रहेको छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा अभिनेत्री थापासँगै अभिनेताद्धय जितु नेपाल र विजय बरालले पनि नृत्य गरेका छन् । यो फिल्मबाट जितु नायकको रुपमा उदाउँदै छन् ।
आफुले सहयोगी कलाकार भएर यस अघि रेखाको फिल्ममा काम गर्दै आएकोमा अहिले यो फिल्ममा नायक भएर रेखासँग काम गर्न पाउँदा अझ धेरै कुरा सिक्न पाएको कार्यक्रममा जितुले बताए । चलचित्रमा रेखा र जितुसँगै साम्राज्ञी राज्यलक्ष्मी शाह, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको पनि अभिनय रहेको छ ।
डाक्टर कपिल रिजालको प्रस्तुति निर्माण भएको सिनेमामा रिजाल स्वयंमको कथा तथा निर्देशन, सुदीप बराल, गिरीराज घिमिरे, डाक्टर रिजाल, अभिमन्यू निरवीले मिलेर पटकथा र संवाद लेखेका हुन् । दन्त चिकित्सक डाक्टर कपिल रिजालले यही सिनेमाबाट निर्देशनमा डेब्यू गर्दैछन् ।