लैंगिक हिंसाको स्वरुप : सबै भन्दा बढी घरेलु हिंसा

महिला पत्रकार पनि हिंसाको शिकार


काठमाडौं । नेपालमा सबै भन्दा बढी लैगिंक हिंसाका घटना घरेलु हिंसा अन्तर्गत भएको पाइएको छ । राष्ट्रिय महिला आयोगको तथ्यांकले लैगिक हिंसाको सबै भन्दा बढी घटना घरेलु हिंसा अन्तर्गत भएको देखाएको छ ।

आयोगको २०७८ साउनदेखि २०७९ असारसम्मको उजुरीको विवरण अनुसार ९० प्रतिशत उजुरी घरेलु हिंसासँग सम्वन्धित छन् । सो अवधिमा १४ सय ६४ लैंगिक हिंसा सम्वन्धि उजुरी दर्ता हुँदा १३ सय १८ वटा उजुरी घरेलु हिंसासँग सम्वन्धित छन् । यस्तै १ सय ४६ उजुरी महिला हिंसासँग सम्वन्धित छन् । यो प्रतिवेदन गत असोजमा प्रकाशित भएको हो ।

प्रदेशगत रुपमा हेर्दा बागमती प्रदेशमा लैंगिक हिंसाका घटना बढी देखिएको छ भने सबै भन्दा कम सुदुरपश्चिम प्रदेशमा छ । बागमती प्रदेशमा ११ सय ७३ उजुरी घरेलु हिंसासँग जोडिएका छन् । यस्तै १ सय ३ महिला हिंसाका उजुरी दर्ता भएको तथ्यांक छ । दुबै गरी बागमती प्रदेशमा १२ सय ७६ लैंगिक हिंसाका उजुरी दर्ता भएको महिला आयोगको प्रतिवेदनमा उल्लेख छ ।

मधेश प्रदेशमा लैंगिक हिंसाका ६४ उजुरी दर्ता हुँदा ४५ उजुरी घरेलु हिंसासँग सम्वन्धित तथा १९ उजुरी महिला हिंसासँग सम्वन्धित रहेको देखिन्छ । त्यसपछि प्रदेश १ मा ३६ उजुरी दर्ता हुँदा ३४ घटा घरेलु हिंसासँग सम्वन्धित तथा दुई वटा उजुरी महिला हिंसासँग सम्वन्धित छन् ।
प्रदेश १ पछि गण्डकी प्रदेशमा ३५ उजुरी दर्ता भएका छन् । त्यसमध्ये ३१ घरेलु हिंसा र ४ घटना महिला हिंसासँग सम्वन्धित छन् । यसैगरी लुम्बिनी प्रदेशमा २३ वटा उजुरी दर्ता हुँदा २४ वटा घटना घरेलु हिंसासँग सम्वन्धित तथा ९ महिला हिंसासँग सम्वन्धित रहेको पाइन्छ । कर्णालीमा १० उजुरीमध्ये ९ घरेलु हिंसा र १ महिला हिंसासँग सम्वन्धित छन् । यस्तै प्रदेश उल्लेख नभएका ११ वटा उजुरीमध्ये ७ वटा घरेलु हिंसाका तथा दुई वटा उजुरी महिला हिंसासँग सम्वन्धित रहेको महिला आयोगको प्रतिवेदमा उल्लेख छ ।

प्रतिवेदन अनुसार सबै भन्दा बढी ५८ प्रतिशत घटना २६ देखि ४० वर्ष उमेर समूहका बिचमा भएको देखिन्छ । त्यसपछि १६ देखि २५ वर्षका बिचमा २१ प्रतिशत घटना भएको देखिन्छ भने ४१ देखि ६० वर्ष समूहका बिचमा १७ प्रतिशत घटना भएको तथ्यांक छ । ६० वर्षमाथि २ प्रतिशत तथा १६ वर्ष मुनी १ प्रतिशत घटना भएको तथ्यांक छ । यो उमेर समूहमध्ये सबै भन्दा बढी पीडीत विवाह भएका महिलाहरु छन् । महिला आयोगमा दर्ता भएका उजुरी मध्ये ८७ प्रतिशत उजुरी विवाहित महिलासँग सम्वन्ति रहेको प्रतिवेदनले देखाएको हो ।

महिला पत्रकार पनि हिंसाको शिकार

महिला हिंसाका घटना उजागर गर्ने र यसविरुद्ध कलम चलाउने महिला पत्रकार पनि हिंसाको शिकार भइरहेका छन् । हुन त लैंगिक समानताको बाटोमा भर्खरै बामे सर्दै गरेको नेपालजस्तो मुलुकका लागि यस्ता घटना नौला भने होइनन् । पछिल्लो समय बढ्दो अनलाइन मिडियाको प्रयोगले महिला हिंसाका घटना झनै बढाएको विभिन्न अध्ययनहरुले देखाएका छन् ।

सामान्यत : इन्टरनेटको प्रयोग गरी विभिन्न माध्यमबाट गरिने हिंसा अनलाइन हिंसा हो । हिंसाभित्र कुनै भौतिक क्रियाकलाप र प्रत्यक्ष कुराकानी मात्र नभइ कुनैपनि गतिविधिमार्फत् व्यक्तिलाई हतोत्साहित बनाउने कार्य हो । यस्ता हिंसाको कारण असमान शक्ति, स्रोत तथा आर्थिक सम्बन्ध, लैंगिकता, यौनिकता तथा पदीय हैसियत जेसुकै पनि हुनसक्छन् । यीनै अवस्थालाई आधार मानेर नेपालमा महिला पत्रकारमाथि अनलाइन हिंसा बढी हुने गरेको मिडिया एड्भोकेसी ग्रुप (म्याग) ले भर्खरै सार्वजनिक गरेको सर्वेक्षणले देखिएको छ ।
मे २०२२ देखि चार महिना लगाएर गरेको सर्वेक्षणमा ८८ दशमलब ६ प्रतिशत महिला पत्रकारले अनलाइन हिंसा भोगेको पाइएको छ । अनलाइन हिंसा गर्नेमा ४१ दशमलब ३ प्रतिशत आफ्नै कार्यालयभित्रका सहकर्मी रहेको सवेक्षणले देखाएको छ ।

त्यस्तै आफ्नै पेशासँग जोडिएका तर कार्यालय बाहिरका सहकर्मी, समाचारको स्रोतको रुपमा प्रयोग भएका वा समाचार सामाग्रीमा नाम उल्लेख भएका व्यक्तिहरु तथा सरकारी निकायका व्यक्तिहरुबाट समेत अनलाइन हिंसा हुने गरेको सर्वेक्षणले देखाएको छ ।
महिला पत्रकारमाथि म्यासेज, भिडियो आदी माध्यमबाट हिंसा गर्नेमा राजनितिक दलका सदस्यहरु पनि १९ दशमलब ९ प्रतिशत रहेको पाइएको छ भने ५३ प्रतिशत हिंसाको कारण पेशासँग सम्वन्धित भएको पनि सो सर्वेक्षणको रिपोर्ट छ ।


६२ प्रतिशत अनलाइन हिंसा फेसबुक र म्यासेन्जरमार्फत्

अनलाइन हिंसा हुने डिजिटल माध्यमहरुमध्ये सबैभन्दा बढी फेसबुक र म्यासेन्जरको प्रयोग हुने गरेको पाइएको छ । सर्वेक्षणअनुसार ६२ प्रतिशत अनलाइन हिंसा फेसबुक र म्यासेन्जरको माध्यमबाट हुने गरेको पाइएको थियो । त्यस्तै ट्वीटर ह्वाट्सएप, भाइबर, इन्स्टाग्राम र इमेलको माध्यमबाट पनि हिंसाका गतिविधी हुने गरेको पाइएको हो । सर्वेक्षणले डिजिटल सुरक्षा’bout कुनैपनि तालिम नलिएका वा ज्ञान कम भएका महिला पत्रकार अनलाइन हिंसाको बढी शिकार हुने गरेको देखाएको छ ।

उजुरी गरे पनि न्याय पाउँदैन् पीडितले

महिला पत्रकारमाथि हुने अनलाइन हिंसाको तथ्यांक आफैँमा डरलाग्दो त छँदैछ पीडितले न्याय नपाउने अवस्था अर्को चुनौतिको रुपमा देखिएको छ । सर्वेक्षण रिपोर्ट अनुसार अनलाइन हिंसामा परेका महिलाले प्रहरीमा उजुरी दर्ता गराई कानुनी प्रक्रियामा गएपनि ३७ प्रतिशतले न्याय नपाएको तथ्यांक छ । कतिपय अवस्थामा उजुरी दर्ता भएपनि केस अगाडी नबढ्ने र धेरैजसो अवस्थामा पीडकले माफी मागेपछि मेलमिलाप हुने गरेको पनि रिपोर्टले देखाएको छ ।

अनलाइन हिंसाका पीडितमध्ये ११ प्रतिशत घटनामा मात्रै पीडक पक्राउ हुने र ९ दशमलब ३ प्रतिशतमा अनुसन्धान अघि बढेको सर्वेक्षणमा पाइएको छ । त्यतिमात्र नभई अनलाइन हिंसाको रुप बढदै गइ अफलाइनमा भौतिक आक्रमणको धम्कीसमेत भोग्नुपरेका घटना पनि पाइएका छन् । म्यागको सर्वेक्षणले अनलाइन हिंसा भोगेका महिला पत्रकारमध्ये २१ प्रतिशतले यस्तो धम्की भोगेकोे देखाएको छ ।

अनलाइन हिंसाको गम्भीर असर मानसिक स्वास्थ्यमा पनि

अनलाइन हिंसाका पीडित महिलाहरुमा नयाँ मानिससँगको सम्पर्कमा जान डर लाग्नेजस्ता समस्याका कारण मानसिक स्वास्थ्यमा असर पुगेको र पेशाको गुणस्तरमा समेत असर परेको सर्वेक्षणमा पाइएको छ । अनलाइन हिंसाका कारण ६ दशमलब ३ प्रतिशत महिला पत्रकारको मानसिक स्वास्थ्यमा असर परेको र त्यसको असरस्वरुप कामको गुणस्तर नै खस्किने गरेको पाइएको छ ।

पीडितहरुमध्ये कतिपयको पारिवारिक जीवनमा नै असर परेको र धेरैले मनोसामाजिक परामर्श समेत लिनुपरेको बताएका छन् । त्यस्तै कतिपय अवस्थामा जिम्मेवारी हेरफेर, सहकर्मीबाट हेर्ने दृष्टीकोणमा परिवर्तन जस्ता असरहरु परेको पाइएको छ । त्यतिमात्र नभई एकपटक हिंसाको घटना बाहिरिएका पीडितलाई सोही कारणले सहकर्मीहरुबाट समेत थप हिंसा हुने गरेको पनि सर्वेक्षणले देखाएको छ ।
अनलाइन हिंसाकै कारण आत्महत्यासम्मको सोचमा पुगेकी एक महिला पत्रकारको अनुभव यहाँ प्रस्तुत गरिएको छ, जो म्यागले गरेको सर्वेक्षणमा सहभागी थिइन् ।

“म राजधानीबाहिर पत्रकारिता गर्छु, कुरा २०७९ को सुरुवाती दिनको हो । मैले महिला पत्रकारको क्षमत अभिवृद्धिका लागि एउटा मन्त्रालयबाट अलिकति सहयोग महिला पत्रकारसम्बद्ध संस्थाका लागि जुटाएकी थिएँ । मेरो पहलबाट उक्त सहयोग आयो भनेर केह िपत्रकासम्बद्ध संघसंस्थाकै व्यक्तिहरुले मेरो नाम र सहयोग लिएको मन्त्रालयका मन्त्रीसँग जोडेर सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती बनाइयो । तिमीहरुको फोटो छ, भिडियो छ भन्दै फेसबुक र मयासेन्जरमा म्यासेजहरु पठाइयो । कहिले हामी पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्छौँ भन्ने कहिले तिम्रा ’boutमा धेरै कुरा बाहिर ल्याइन्छ भन्ने । आफ्नो गल्ती नहुँदानहुँदै पनि म अनलाइन हिंसाको शिकार भएँ । आफूले भोगेपछि थाहा हुँदो रहेछ, डिजिटल हिंसा अफलाइन हिंसाभन्दा डरुलाग्दो हुँदो रहेछ । एकैछिनमा शेयर गरेर कहाँबाट कहाँसम्म पुग्ने, पढ्दै नसकिने जथाभावी प्रतिक्रिया एक रात प्रतिक्रिया पढ्दै जाँदा यस्तोसम्म भेटेँ की मलाई आत्महत्या नै गरौँजस्तो लाग्यो ।”

तपाइको प्रतिक्रिया
(Visited 70 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सहमतीमा राष्ट्रपति छान्ने माओवादी निष्कर्ष

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
गठबन्धनबीच ११ उपमहानगरमा किन मिलेन कुरा ?