अब सत्ताले नसताओस्

प्रजातन्त्रको पुनस्र्थापना २०४६ पछाडि सत्ता प्राप्तिका लागि दलमा टुटफुट, झैंझगडा र गठबन्धन हुँदै आएका छन् । सत्ता प्राप्तिका लागि कोही जंगल पसेर विध्वंस मच्चाए भने कसैले सत्तालाई सरापेर सस्तो लोकप्रियताको आधारमा राजनीतिमा आए । दलहरमा स्वार्थका अगाडि राजनीतिक सिद्धान्त, निष्ठा इमानदारिता केही पनि देखिँदैन । विगतमा सत्ताका लागि साम दाम, दण्ड भेदको रणनिति अपनाए । अहिले पनि अपनाइरहेका छन् । आप्mनो स्वार्थ पूरा नभए मितको टाउको बेलैसरह भन्ने लोकोक्ति नेपाली राजनीतिमा चरितार्थ भएको छ । अझै अचम्म त के छ भने राजनीतिको अर्थ नै नबुझिकन लाटाको खुट्टो बाटामा भएकाले सोसियल मेडियामा स्टन्टबाजी गरेका छन् । सत्ता र भत्ताका लागि मरिमेट्नेका कारण आज मुलुकमा राजनीतिक अस्थिरता बढ्दै गएको छ । राजनीति कमाइखाने भाँडो र अपराध कर्मको सुरक्षा कबच भएको छ । सत्तामा नपुगुन्जेल जताततै भ्रष्टाचार र विसंगतिको गीत गाउनेहरू सत्तामा पुगेपछि आफैं भ्रष्ट भएका छन् । लोकलज्जाका पात्र भएका छन् ।

नेपाली जनताका लागि लोकतन्त्र हात्ती आयो हात्ती आयो फुस्स भएको छ । सत्तामा जानेहरू जुन जोगी आए पनि कानै चिरेकाजस्ता भएका छन् । सत्ताकै लागि राजनीतिलाइ फोहोरी खेल बनाइएको छ । मित्रलाई शत्रु बनाएका छन् । आप्mनो पोल्टामा सत्ता आउने भएमा हिजो शत्रु भनिएका सँग मित्रता गासिएको छ । अवसर पाउँनासाथ कालेकाले मिलेर खाऔं भालेको रणनीतिमा सत्ताको उपभोग भइरहेका छ । यस वर्षको आमनिर्वाचन पछाडि पनि लामो समयसम्म राज्य सञ्चालन गर्न असफल भएका नै सत्तामा पुगेका छन् । नो नट् अगेनका पात्रको हातमा सत्ताको बागडोर आइपरेको छ । नागरिकलाई सताएर सत्तामा रमाएकाहरूले फेरि पनि पहिलेजस्तै सताउने हुन् कि भन्ने त्रासमा समाज रहेको छ । आशा गरांै यस्तो नहोस् ।

सत्तामा नपुगुन्जेल जताततै भ्रष्टाचार र विसंगतिको गीत गाउनेहरू सत्तामा पुगेपछि आफंै भ्रष्ट भएर लोकलज्जाका पात्र भएका छन्

विगतको सत्ताले आमजनतालाई सताउनु सतायो । जनतालाई कर बढाएर सतायो । रोजगारका अवसर सिर्जना नगरेर सतायो । शिक्षा र श्वास्थ्य क्षेत्रमा व्यापारीकरण गरेर सतायो । प्रशासनतन्त्रलाई छिटोछरितो, चुस्त दुरुस्त नबनाएर सतायो । युवा विदेश निर्यात गरेर सतायो । भ्रष्टचार, कालोबजारी, तस्करी गरेर सतायो । मार्गहरूको अवस्था लथालिंग गराएर सतायो । ठेकेदारलाई पोसेर सतायो । एमसीसी, एसपीएजस्ता सम्झौता गरेर सतायो । किसानलाई मल, बीउविजन नदिएर सतायो । शिक्षा क्षेत्रमा राजनीतीकरण गरेर सतायो । नातावाद, कृपावाद, फरियावादमा रमाएर सतायो । देश बनाउने भिजन, मिसन र एक्सनमा अल्मलिएर सतायो । सुशासन नदिएर सतायो । उल्लेखित क्षेत्रलगायत राज्यले नागरिकप्रति निर्वाह गर्नुपर्ने कुनै पनि जिम्मेवारी वहन नगरेर सतायो ।

राज्य सम्पूर्ण नागरिकको अभिभाभक हो । हुनुपर्छ । अझै लोकतान्त्रिक मुलुकको राज्य त देश र जनताप्रति इमानदार, बफादार एवं जवाफदेही हुनुपर्छ । नभएर सतायो । दक्षिण अफ्रिकाका जननायक नेल्सन मन्डेलाका अनुसार गरिबीलाई इतिहास बनाउने हो भने नागरिक समाज, निजी क्षेत्र र देशका विज्ञबीच सहकार्य हुनपर्छ, भन्ने छ । हाम्रा देशको सत्ताले आपूmलाई नै विज्ञ ठानेर सतायो । ढंग न ढाल, खानको काल भएर सतायो । कृषि विज्ञले मात्र कृषि क्षेत्रको आधुनिकीकरण गर्न सक्छन् । कृषि विज्ञसँग राज्यले सहकार्य गर्दैन । कासी जाने कुतिको बाटो भनेझैं प्रधानमन्त्री कृषि आधुनिकीकरण अभियान राखेर जात्रा गरिन्छ । शिक्षाजस्तो प्राज्ञिक क्षेत्रलाई विज्ञले मात्र सुधार गर्न सक्छन् । विश्वविद्यालयमा विज्ञ र विशेषज्ञको कमी छैन तर पनि सत्ताले थिंकट्यांकलाई चिन्दैन । नीतिगत रूपमा नै विश्वविद्यालयको कुलपति, सहकुलपति क्रमश ः प्रधानमन्त्री र शिक्षामन्त्री हुने व्यबस्था छ । उपकुलपति पनि राजनीतिक आस्था र भागबन्डामा नियुक्ति गरिन्छ । यसरी बौद्धिक चिन्तनको चश्माले हेर्दा सत्ताले आपूmलाई नै सर्वेसर्वा ठानेर सतायो ।

हामीले धैरै भाषण गर्ने र राजनीतिक सिद्घान्त बोकेका वाकचातुर्य नेतागण पायांै । तर, राष्ट्रहित र जनताका लागि काम गर्ने राष्ट्र नायक पाउन सकेनौं । चुनावी दस्तावेजमा देश विकासका योजना कोर्ने र आप्mनो मतदातालाई आकर्षक गर्ने नेतृत्व पायौं । विकास गर्ने ढंग भएको राजनेता पाएनौं । आजसम्म भूपि शेरचनको घुम्ने मेचमाथि अन्धो मान्छे शीर्षकको कविताको आशय सत्तामा चरितार्थ हुँदै आयो । जनताले पनि यस्तै असक्षम नेतालाई मतदान गर्दै आए । त्यसैले हामी दुःख पाइस मंगले आप्mनै ढंगलेको अवस्था रहन बाध्य भयौं । अहिलेको आमनिर्वाचनमा पनि विगत तीन दशकमा सत्ताले सताएका नेतालाई मतदान गरेकाले आगामी दिन पनि सत्ताले सताउने सम्भावना छ । आशा गरौं अब नसताओस् ।

यो मुलुकमा सत्ता पनि अस्वाभाविक रूपले चल्ने गर्छ । अहिले सबैभन्दा धेरै सिट पाएको नेपाली कांग्रेस सत्ताबाहिर छ । तेस्रो दलको माओवादीका नेता पुष्पकमल दहाल प्रधानमन्त्री भएका छन् । पाँच दलीय गठबन्धनको सम्बन्धविच्छेद पनि देउवा र प्रचण्डको पदकै लालसाले भएको हो भन्ने छ । एकातिर देउवाको पदको लालसा र प्रचण्डको प्रधानमन्त्रीको कुर्सीको मोहले राजनीतिमा युटर्न भई फेरि एमाले र माओवादीकै सरकार बन्यो । अरू सत्ताको सत्तो सराप गरेर राजनीतिमा अस्वाभाविक उदय भएकाहरूले पनि सत्ताको चास्नीमा डब्ने मौका पाए । राजनीतिमा कथनी र करणीमा आकाश जमिनको फरक छ । अबका दिनमा पनि सर्बसाधारण सताइनेछन् भन्ने धेरै छन् । बाँकी कुरा भविष्यले नै देखाउला ।

अबको सत्ताले देश तथा जनहितमा काम गर्न जनआवाजलाई मार्गदर्शन बनाओस्, लोकतान्त्रिक आचरण गरोस् र जनतालाई नसताओस्

नेपालको राजनीतिमा कतिपय कालखण्डमा राजा र नेताका पत्नी सर्वेसर्वा हँुदा अप्रत्यासित घटना हुने गरेको इतिहास छ । शाह वंशको राजा सुरेन्द्र विव्रmमकी कान्छी श्रीमतीको जिद्दीले कोत, भण्डार खाल र अलौ पर्व घटेको थियो । फलतः जंगबहादुरले राज्यसत्ता आप्mनो हातमा पार्न सफल भएका थिए । यो इतिहासलाई किन्तु परन्तुजस्ता तर्कले कसैले बंग्याउन सक्दैन । अहिले कांग्रेसका सभापति शेरबहादर देउवाले दलका शीर्ष, अनुभवी एवं बुद्धिजीवीसँग छलफल नगरी श्रीमती वा भजनमण्डलीको कुरा सुन्दा सत्ताबाट बाहिरिनुपरेको विश्लेषण हुने गरेको छ । सबैभन्दा ठूलो दल भएर पनि कम्युनिस्टहरूको हातमा सत्ता पुग्दा कांग्रेसजनलाई आकाश खसेजस्तो भएको छ । यति मात्र होइन, यो घटनाले नेपालको राजनीतिमा अस्थिरतामा कालो बादल मडारिएको छ ।

नेतृत्वमा दूरदर्शिता र अन्तरदलीय लोकतान्त्रिक अभ्यासको अभावका कारण नेपाली कांग्रेसको साख घट्दै गएको छ । कम्युनिस्टमा चरम स्वार्थ र विभाजन तीव्र छ । यिनीहरू जनहितमा काम गर्न असफल भएका छन् । २०७४ पछाडि एमाले र माओवादी मिलेर सरकार चलाए । तर जनहितमा काम हुन सकेन । जनतालाई झन् सताउने काम भयो । भ्रष्टाचार बढेको तथ्यांकले पुष्टि गरे । शीर्ष नेतामा वैमनस्य पराकाष्ठामा पुग्यो ।

अहिले फेरि सत्ताका लागि ¥याल चुहाउँदै उनै पात्रहरूको साँठगाठ भएको छ । भन्ने गरिएको छ, राजनीतिमा कोही पनि सदाकालका लागि शत्रु र मित्र हुँदैनन् रे । कस्तो मजाक ! उही पात्र र प्रवृत्ति आप्mनो स्वार्थ नमिल्दा शत्रु हुने र स्वार्थ मिल्नेबित्तिकै मित्र हुने ? निष्ठा र सिद्धान्तको राजनीति नहुने हाम्रोजस्तो देशमा यस्तो गाई जात्रे राजनीतिक अभ्यास गर्नु पनि सिंगो मुलकलाई सताउनु हो । यसरी मुलुकलाई सताएका छन् ।

अन्त्यमा देश विकासको पहिलो प्राथमिकता सुशासन हो । आजसम्म बन्ने र भत्कने गरेका कनै पनि सरकारले सुशासन दिन सकेका छैनन् । हरेक दिनजस्तो भ्रष्टाचार र आर्थिक अनियमिता बढिरहेका खबर आउने गरेका छन् । बन्द होउन् । राज्यले नागरिकका कुरा सुनोस् । विज्ञ, विशेषज्ञसँग क्षमतालाई देश निर्माणमा लगाओस् । सहकार्य गरोस् । बजार नियन्त्रण गरोस् । राष्ट्रिय आयोजना समयमा नै निर्माण गरोस् । सुशासन स्थापित गरोस् । अबको सत्ताले देश र जनहितमा काम गरोस् । जनआवाजलाई मार्गदर्शन बनाओस् । लोकतान्त्रिक आचरण र अभ्यासमा अगाडि बढोस् । जनतालाई नसताओस् ।

तपाइको प्रतिक्रिया
(Visited 101 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सहमतीमा राष्ट्रपति छान्ने माओवादी निष्कर्ष

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
कालीकोटका नौवटै पालिकामा विप्लव नेतृत्व नेकपाले दियाे उम्मेदवारी