देउवाविरुद्ध एजेन्डामा घेराबन्दीको तयारी

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्ष र इतरपक्ष एकअर्काबिरुद्ध आक्रमक बनेका छन् । त्यसैकारण प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि पहिलोपटक डाकिएको कांग्रेस केन्द्रीय समिति बैठकसमेत ६ दिन पर सारिएको छ ।

निर्वाचनको परिणाम तथा समीक्षा र राजनीतिक अवस्थासहितका विषयमा छलफल गर्न भन्दै सभापति शेरबहादुर देउवाले डाकेको केन्द्रीय समिति बैठक इतर समूहका नेताको आक्रमक रणनीतिपछि ६ दिन पर सारिएको छ ।

संस्थापन इतर समूहले बैठकमा सभापति देउवाको राजनीनामा माग्नेसम्मको एजेन्डा उठाउने तयारी गरेका छन् । यस्तै, देउवाविरुद्ध एजेन्डामा घेरबन्दी गर्ने रणनीति इतर समूहको छ ।

संस्थापन पक्ष रक्षात्मक, इतर आक्रमक

‘केन्द्रीय समितिमा सभापतिको राजीनामाको माग त उठ्छ नै, अहिलेसम्मका गल्ती कमजोरीका विषय पनि उठ्छन्, नीति महाधिवेशन, विभाग गठनलगायतका विषयसहित धेरै विषयमा छिनोफानो बैठकबाट खोज्छौं,’ कांग्रेसभित्र डा. शेखर कोइरालाले नेतृत्व गरेको समूहका एकजना केन्द्रीय सदस्यले राजधानीसँग भने ।

केन्द्रीय समिति बैठकमार्फत विशेष महाधिवेशनको एजेन्डासमेत उठाउने इतरपक्षको रणनीति छ । यस्तै, पार्टीको नीति महाधिवेशनको विषय र विभाग गठनको विषयलाई पनि इतरपक्षले केन्द्रीय समितिमा उठाउने नीति लिएको छ ।

तर, संस्थापन समूह भने देउवामाथिको घेराबन्दीलाई रोक्ने रणनीतिसहित अघि बढिरहेको छ । सोही रणनीतिनुसार नै २२ पुसमा बस्नेगरी डाकिएको बैठक सारेर २८ पुसको मिति तय गरिएको छ ।

संस्थापन इतर समूहले निर्वाचनपछि पाँचदलीय गठबन्धन टुट्नु र राजनीतिक समीकरणमा असर पर्नुमा देउवालाई नै दोषी देखाउँदै आइरहेको छ । इतर समूह देउवाले एक्लै पार्टीलाई असर पर्नेगरी निर्णय लिएको तथा पार्टीभित्र कुनै पनि विषयमा ठोस छलफल नगरेको भन्दै आक्रमक बन्दै आइरहेको छ । संस्थापन समूह भने इतर समूहले पार्टीको विषयमा बाहिर हल्ला र कुप्रचार गरेको भन्दै सभापतिको बचाउ गर्दै आइरहेको छ ।

बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै सभापति देउवानिकट नेता तथा कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले इतरपक्षले जुनसुकै अवस्थामा पनि पार्टीभित्र आलोचना गर्ने काममात्रै गरेको बताए ।

‘इतर समूहबाट जुनसुकै अवस्थामा पनि आलोचना मात्रै गर्ने काम भएको छ, कार्यसम्पादन समितिबाट प्रचण्डलाई प्रधानमन्त्री बनाउने भनेर निर्णय नै गरेको भए पनि ८९ सिट भएको कांग्रेसले ३२ सिट भएको प्रचण्डलाई प्रधानमन्त्री बनाउने निर्णय ग¥यो भनेर आलोचना हुन्थ्यो,’ कांग्रेस प्रवक्ता महतले पत्रकार सम्मेलनमा भने ।

उनले सभापतिको विषयमा विरोध गर्नेहरूले नै राष्ट्रपति र प्रधानमन्त्री दुवै पद छोड्नुहुँदैन भनेको र त्यसले समेत सभापतिलाई निर्णय गर्न असहज भएको दाबी गरे ।

‘सभापतिलाई राष्ट्रपति र प्रधानमन्त्री दुवै छाड्न हुँदैन भन्ने उहाँहरू नै हो, अहिले उहाँहरू नै विरोध गर्दै हुनुहुन्छ,’ महतले अघिभने, ‘त्यसले समेत सभापतिलाई निर्णय गर्न असहजभएको हो ।’

कांग्रेस महामन्त्री गगन थापा र विश्वप्रकास शर्माले केही दिनअघि संयुक्त विज्ञप्ति निकाल्दै पार्टीको नीति महाधिवेशनका विषयमा निर्णय लिनसमेत दबाब दिएका थिए । सो विषयमा समेत प्रवक्ता महतले सभापतिको बचाउ गर्दै महामन्त्रीद्वयले आफ्नो भूमिका बिर्सदै विज्ञप्ति निकाल्ने र माग गर्ने नभएर कार्यान्वयनको पाटोमा काम गर्नुपर्ने बताए ।

‘नीति महाधिवेशनका विषयमा महामन्त्रीद्वयले विज्ञप्ति निकाल्न जरुरी छैन, उहाँहरू माग गर्ने होइन कार्यान्वयन गर्ने ठाउँमा हुनुहुन्छ,’ महतले पत्रकार सम्मेलनमा भने ।

सो विषयमा कांग्रेस पूर्वउपसभापति विमलेन्द्र निधिले पनि सभापतिको बचाउ गर्दै आइरहेका छन् । तर, इतर पक्षले भने महत, निधि तथा नेता ज्ञानेन्द्रबहादुर कार्कीको सल्लाहमा देउवाले गलत निर्णय गर्दै आएको आरोप लगाउँदै आएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 142 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री दाहाल असमझदारी हटाउन ओली निवासमा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
सत्ता गठबन्धनमा बागी उम्मेदवारको लर्को