जहाँ सेवाग्राही कुरेर बसेका छन् कर्मचारी

वीरगन्ज । सेवा प्रदायक कार्यालयबाट सेवाग्राहीले समयमै सेवा नपाएको चौतर्फी गुनासो आउने गरेको सुनिन्छ, यो खासै नौलो पनि होइन । तर, वीरगन्जको एउटा सेवा प्रदायक कार्यालयको हकमा भने यसो भनिँदा न्याय नहुन सक्छ ।

यहाँ सेवाग्राहीले नै सेवा लिन विलम्ब गर्दा कार्यालयले नै उल्टै सेवाग्राही कुर्दै बसेको हो । वीरगन्जको भन्सार कार्यालयमा सीमापारीबाट आयात भएका नयाँ सवारी साधनको भन्सार पास गराउन सेवाग्राही नपुग्दा अन्य भीडभाड हुने कार्यालयमा जस्तो यो कार्यालयमा सेवाग्राहीले नभई सेवा प्रदायक कार्यालयले नै एकवर्ष यता कुर्नुपरेको छ ।

भन्सार कार्यालय वीरगन्जले सेवाग्राही आएर मालवस्तु जाँचपास गराई लिएर गए हुन्थ्यो भनी प्रतीक्षारत छ । सेवाग्राहीले एक वर्षभन्दा लामो समयदेखि आयातित नयाँ सवारी नछुटाइदिँदा भन्सार कार्यालय वीरगन्ज मातहतको संयुक्त भञ्सार जाँच चौकी (आईसीपी)को यार्ड नै खचाखच भरिएको छ ।

यसका अतिरिक्त मुलुकको राजस्व संकलनको लक्ष्यमा समेत प्रभाव परेको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ । छिमेक तथा तेस्रो मुलुकबाट नाका वारी नेपाली भूमिमा आइसकेका नयाँ सवारी साधनहरू महिनौंदेखि भन्सार यार्डमा थन्किएका छन् । यसले नेपाल भारत संयुक्त भन्सार जाँचचौकी (आईसीपी)को व्यवस्थापनमा समेत सकस थपिएको छ । यही माघ पहिलो साताबाट डस्टी कार्गो र यात्री शाखा पनि आईसीपीबाटै सञ्चालनमा ल्याउनुपर्ने भारतीय पक्षको दबाब छ ।

यसमा नयाँ सवारीको चापले व्यवस्थापनमा थप तनाव बढेको आईसीपीको व्यवस्थापन हेरिरहेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ । वीरगन्ज भन्साार कार्यालयको मुख्य काम हुने आईसीपी र मुलुकको पहिलो सुख्खा बन्दरगाहको समेत व्यवस्थापन यही इन्टरमोडल यातायात विकास समितिले नै हेर्दै आएको छ । भन्सार यार्डमा २००२ नयाँ सवारी वीरगन्ज भन्सार कार्यालयको आईसीपीस्थित भन्सार यार्डमा अहिले चारचक्के नयाँ सवारी (कार, जिप, भ्यान) ५ सय ६९ वटा रहेका छन् । त्यसैगरी, ठूला सवारीका चेचिसहरू पनि १ हजार ४ सय २९ वटा रहेको इन्टरमोडल यातायात विकास समिति वीरगन्जका प्रमुख कमल ज्ञवालीले बताए । त्यसैगरी नयाँ टेम्पो पनि ४ वटासमेत गरी अहिले कुल २ हजार २ वटा नयाँ सवारी भन्सारको यार्डमा नै अलपत्र परेको उनको भनाइ छ । भन्सारसम्म आइपुगेका मालवस्तु वा नयाँ सवारीहरू समयमा नै चेकजाँच भई तुरुन्त गन्तव्यमा जाने हो भने नेपाल सरकारले वीरगन्ज भन्सार कार्यालयलाई दिएको लक्ष्यसमेत भेट्न खासै सकस नहुने वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बडुवालले बताए ।

सिप्रदीलगायत सवारी आयातकर्ता फर्म र व्यक्तिलाई आयात गरिएका नयाँ सवारी चाँडो छुटाउन पहल गर्दा बैंकहरूले लगानी नगरेको र एलसी नखुलेको तथा पहिले आएका सवारीको कारण समयमा नै छुटाउन नसकिएको बताउने गरेको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ । सेवाग्राहीले पनि बैंकले लगानी नगर्दा र एलसीको कारण मालवस्तु छुटाउन नसकिएको दाबी गरेका छन् । वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी तथा भन्सार अधिकृत डिल्लीराम सुवेदीले पनि बैंकको लगानी नगरेको र बजारमा क्रयशक्ति नहुँदा नयाँ सवारी समयमा नै छुट्न नसकेको स्विकार्छन् ।

एलसी खुकुलो नभएको कुराहरू पनि छ । तथापि, त्यसले मात्र नभए पनि खासमा विभिन्न कारणले बजारमा माग नबढ्दा नयाँ सवारी छुट्न नसकेको उनको तर्क छ । राजस्व लक्ष्य भेट्ने मुख्य वस्तु नै गाडी र पेट्रोलियम पदार्थ वीरगन्ज भन्सार कार्यालयको सेवा प्रवाहको देखिने काम भनेको नै राजस्व संकलनको लक्ष्य पूरा हुने परिणाम नै हो । राजस्व लक्ष्य भेट्ने मुख्य आयातित वस्तु नयाँ सवारी साधन र पेट्रलियम पदार्थ आयातको परिणाम रोकिँदा वा विलम्ब हुनासाथ राजस्व लक्ष्यमा प्रत्यक्ष असर परेको वीरगन्ज भन्सारको तथ्यांकले पनि देखाएको छ । झन्डै एक वर्षदेखि नयाँ सवारी साधनको क्लियरेन्समा विलम्ब हुँदा चालू आर्थिक वर्षको नै राजस्व लक्ष्यमा वीरगन्ज भन्सार चुकेको छ । नयाँ सवारी नछुट्ने र पेट्रोलियम पदार्थको पनि आयात घटेका कारण भन्सारको राजस्व लक्ष्यमा नै प्रभाव परेको वीरगन्ज भन्सार कार्यालयको दाबी छ ।

अन्य खुद्रा सामानबाट राजस्व लक्ष्यको ठूलो इकाइ पुर्ताल गर्न नसकिने भन्सार कार्यालय वीरगन्जका सूचना अधिकारी तथा भन्सार अधिकृत सुवेदीले पनि बताए । स्वदेशमा भित्रिएका मालवस्तु भन्सार बिन्दुमा नै चेकजाँचपश्चात तुरुन्त गन्तव्यमा पठाउन विभिन्न संरचना बनेको भए पनि ती कार्यालयको सेवाप्रवाहको प्रमुख कुरामा सेवाग्राहीको दुरुस्त उपस्थिति नहुँदा सेवा प्रदायक कार्यालयको सेवामा खोट लगाउन मिल्दैन । यसमा वीरगन्ज भन्सार कार्यालयले सेवा दिन तत्पर रहँदा पनि सेवाग्राहीको विलम्बले भन्सार कार्यालय सेवाप्रवाहको परिणाममा नपुगेको भेटिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 128 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

अपराध काण्डमा तानिँदै सांसदः कोही पक्राउ, कोही फरार

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध भक्तपुरमा प्रदर्शन