विश्वलाई विज्ञान तथा प्रविधिले निकै सजिलो र छिटो बाटो हिडाउन थालेका धेरै समय भइसके पनि नेपाल भने आफ्नै गतिबाट अघि बढ्न सकेको छैन । विद्युतीय राहदानीको सर्भरमा स्टोरेजको समस्या देखिएपछि सेवाग्राहीलाई हप्तौं लाइन लाग्नुपर्ने समस्याले पनि नेपालको प्रविधिमा औंला उठाएको छ । यसको समाधानका लागि फ्रान्सबाट प्राविधिक टोली सोमबार आउने र त्यसपछि मात्र समस्या समाधान हुने सूचना राहदानी विभागले जारी गरेपछि सेवाग्राहीमा अझै पनि कुर्नुपर्ने समस्याले थप बोझ बढाएको छ ।
राहदानी विभागले सेवाग्राहीको फोटो, हस्ताक्षर र हातको बायोमेट्रिक लिएर सर्वरमा लोड गर्ने गर्दछ । तर, यसरी लोड गर्दा काम नहुने भएपछि यो समस्या सरकार र प्रधानमन्त्रीसम्म पुगिसकेको छ । प्रधानमन्त्रीले राहदानी विभागमा समस्या ‘एक महिनाभित्र हटाउन’ निर्देशन दिएलगत्तै प्राविधिक टोली बोलाइएको हो । सर्वरले काम नगर्ने भन्दै काम रोकिँदा दैनिक सेवाग्राहीको हजारौं मिटरसम्मको लाइन देख्दा देख्ने जो कोही पनि आश्चर्यचकित परिरहेका थिए । यसअघिका गैरविद्युतीय वा कागजी राहदानी बनाउँदा नदेखिएको भीड अहिले विद्युतीय राहदानी बनाउँदा देखिएकाले विद्युतीय राहदानी झन् अप्ठ्यारो र खर्चिलो पो रहेछ कि भन्ने सेवाग्राहीमा परिसकेको थियो ।
अहिले सर्वरमा आएको समस्या हल हुने बित्तिकै सेवाग्राहीको मोबाइलमा म्यासेज पठाइने र म्यासेज पाएपछि मात्र विभागमा उपस्थित हुन राहदानी विभागले सूचनासमेत गरिसकेको छ । तर, पनि नेपालको समस्या भनेको राजधानी सहर काठमाडौं आउनु र जानु नै हो । महँगो यात्रा, होटेलको बसाइ र खर्चिलो जीवनशैलीका कारण सेवाग्राही काठमाडौंमा सेवा लिनका लागि थप केही दिन बस्नसमेत समस्या हुने गर्छ । वैदेशिक रोजगारीका लागि भनेर ऋण काढेर राहदानी बनाउन काठमाडौं पुग्नुपर्ने बाध्यता रहेका नेपाली जनता काठमाडौंको सामान्य काम गर्दागर्दै आधाभन्दा बढी ऋण र कम त्यत्तिकै खर्च गरिसक्छन् । उता काढेको ऋणको सयकडा व्याजप्रतिशत र महिनैपिन्छे रकम बढिरहेको हुन्छ । आर्थिक तरलताको अभाव देखाउँदै आएको बैंकले ऋण पनि दिन सकिरहेको छैन । रेमिटेन्समा बाँचिरहेको सरकारले समेत वैदेशिक रोजगारीमा जानेका लागि सस्तो ब्याजदरमा ऋण दिलाउन कुनै पनि पहल गरिरहेको छैन । उता दैनिक हर व्यक्तिसँग सेवा दस्तुर लिएर गरिरहेको विद्युतीय राहदानीको काम पनि गुणस्तरीय छैन । सेवा त झन् ठप्प हुन गएको छ ।
उता सेवाग्राही र राहदानी विभागबीच ‘कम्युनिकेसन ग्याप’ रहेको छ । प्राविधिक भाषा आमनेपालीका लागि ‘एलियन’भाषा जस्तै हो । यो भाषा बुझ्न आफंैमा कठिन छ । दोस्रो कुरा, सर्वर अब कति दिनमा बन्न सक्ला त्यो पनि अनुमान हुँदैन । त्यसैले सामान्य सेवाग्राहीमा अत्यास र छटपटाहट पैदा गरिदिएको छ । यथार्थ सूचना पाउनु सेवाग्राहीको अधिकार हो । तर, सेवाग्राही सर्वर निर्माणमा कति समय लाग्छ र सेवा सुचारु हुन्छ भन्ने कुरामा ढुक्क हुन सकिरहेका छैनन् । यसैले छिटो अन्त्य गर राहदानी वितरणमा देखिएको आहत !






