फर्केर हेर्ने कि प्रधानमन्त्रीज्यू

एमाले–माओवादीको चामत्कारिक संयोगले सत्ता राजनीति उथलपुथल भयो । सत्ता लिप्तबाहेक भिन्न पहिचानबाट जनताको मानसपटलमा ताजा हुन चुकेको नेपाली कांग्रेसको आत्माघाती प्रयास विफल बनाउँदै सत्ताको बागडोर सम्हालेका प्रचण्डको राजनीतिक पहिचान चतुर नेताका रूपमा स्थापित छ । लामो भूमिगत र विद्रोही जीवनबाट शान्ति प्रक्रियामा आएपछिको १६ वर्षे संघर्षपूर्ण राजनीतिक यात्रामा सत्ता र शक्ति फिल्मी शैलीमा आफ्नो वरिपरि घुमाइ राख्न सकसपूर्ण संयोग र जोखिमपूर्ण घुम्तीहरू छिचोलेका प्रचण्ड बढ्दो उमेरको शारीरिक प्रक्रियाले मात्र नभई गुमिरहेको वैचारिक विरासतको चमक, सांगठनिक शक्तिको क्षय र जनअविश्वासका कारण थकित छन् ।

यो अवधिमा उनले दुईपटक सत्ताको बागडोर सम्हालिसके । सत्ता उपयोगमा साहसिक र रहस्यमयी निर्णय गर्ने उनको विशेषतालाई अपरिपक्कता र चतुरपनलाई अस्थिर प्रवृत्तिको संज्ञा दिने राजनीतिक सहयात्रीको ठूलो जमातले तेस्रोपटक मुलुकको कार्यकारी जिम्मेवार सुम्पेको छ । यो भागबन्डाको घट्टमा पिसिएको संसदीय अंकगणितको हरेक हिस्साले अवसरमाथि निर्मम राजनीति गरिरहेको चतुर प्रमले बुझेकै होलान् । र यो पनि अवगत होस्, संसदीय अंकगणितको ठूलो हिस्सेदार एमालेले राजनीतिक संक्रमणविरुद्धको बलमा सरकारको कार्यसम्पादन नतिजा होइन प्रधानमन्त्रीको दिनगन्ती सुरु गरिसकेको छ ।

सात दलको प्रतिनिधित्व गर्दै प्रतिनिधिसभाको तेस्रो ठूलो दलको नेतृत्वमा सरकार गठन भएका कारण पनि प्रधानमन्त्रीसामु धेरै चुनौती छन् । तर, चुनौतीको गर्भमा अनगिन्ती अवसरहरू छिपेका हुन्छन् । ती अवसरबाट परिणाम निकाल्न पहिलो चरणमा प्रधानमन्त्रीले स्वतन्त्र शक्तिको उदय र युवा पुस्ताको ठूलो पंक्तिको राजनीतिक हस्तक्षेपले निम्त्याउने अवसर र परिस्थितीजन्य बदलाब झेल्न असामान्य तयारीको सिर्जना गर्नुपर्नेछ । क्याबिनेटका युवापुस्ताको मनोविज्ञान र संवेदनशीलता बुझेर तिनको सक्षमतालाई नतिजामा रूपान्तरण गर्न मानसिक रूपमा पहिला आफैं बदलिनुपर्नेछ । त्यसपछिका अवरोधहरू आफैं कमजोर बन्दै जानेछन् । नयाँ अनुहारलाई चिड्याएर होइन खुसी पारेर नतिजा निकाल्न प्रेरित गरिरहनु प्रधानमन्त्रीलाई सफल बनाउने सजिलो विधि हुनेछ ।

त्यस्तै, राष्ट्रपति र सभामुख एमालेले, उपराष्ट्रपति र रास्वपाले उपसभामुख पाउने सहमति भइसकेको छ । करिब १८ मन्त्रालयमा मन्त्री नियुक्ति गर्न बाँकी छ । राष्ट्रियसभा उपाध्यक्ष र एक सदस्य, सातै प्रदेशमा मुख्यमन्त्री र प्रदेश प्रमुख, सातै प्रदेशका सभामुख तथा उपसभामुखसहित धेरै पदमा नियुक्त गरेर प्रधानमन्त्रीले अर्को चुनौती छिचोल्नुपर्ने छ । सत्ताको मुख्य साझेदार एमालेले पदीय साझेदारमा प्रधानमन्त्रीलाई कज्याउन धम्की र बार्गेनिङका अस्त्रहरू अवश्य प्रयोग गर्नेछ । केन्द्रदेखि प्रदेशसम्म सत्ताको प्रयोजनमार्फत शक्ति आर्जन गरेर छाया शासक बन्ने एमालेको अघोषित रणनीति छ । राष्ट्रिय स्वतन्त्र पार्टीले पनि संसदीय अंकगणितको संरचनामा आपूmलाई छानो होइन जग ठानेको छ ।

उसले पनि नयाँ जोगीले बढी खरानी घस्छ भने झैं बार्गेनिङमा कठोर बन्ने संकेत दिएको छ । र अरू साना साझेदार दलले पनि गठबन्धनबाट बाहिरिने वा कब्जाउने संस्कारको परीक्षण अवश्य गर्छन् । त्यसैले यति धेरै पदीय नियुक्तिमा गठबन्धनको सन्तुलित व्यवस्थापन गर्न सक्नु ठूलो अवरोध हटाउनु हो । गठबन्धनमा आवद्ध सबै दलमा केन्द्रदेखि प्रदेशसम्म नयाँ अनुहार पदीय आकांक्षामा उग्र बन्दै छन् । गृहमन्त्रालयजस्तै अरू संवेदनशील मन्त्रालय अपरिपक्क र नयाँ मन्त्रीको नेतृत्वमा जाने सम्भावना छ । उच्चस्तरको प्रशासनिक अनविज्ञताका कारण तिनले संवेदनशील र प्राज्ञिक सक्षमताको उचित प्रयोगभन्दा सस्तो लोकप्रियताका निम्ति जोसमा होस गुमाउन सक्छन् । यस्ता अमूक सम्भावना ललिता निवास प्रकरणजस्तै अनन्तसम्म प्रधानमन्त्रीको घाँटीमा झुन्डिरहने तरबार हुन सक्छन् ।

लोक हसाउने कि लोक रिझाउने भन्ने सवालमा प्रचण्ड प्रशासनको परीक्षा सुरु भइसकेको छ

जाडो मौसममा बालकोटको बार्दलीमा सल्केको सजातीय एकताको झिल्कोले प्रचण्डका निम्ति बालुवाटार न्यानो बन्यो । न्यानोमा निन्द्राप्रिय प्रक्रियामा सक्रिय हुनु बुढ्यौलीको विशेषता हो । तर, यो अवसर प्रधानमन्त्रीका निम्ति हुने छैन । अंकगणितको कमजोर संरचनाको कारखानाबाट परिणाममुखी सत्ताको परिकल्पना गर्नु आफैंमा शंका र प्रार्थनाको मानसिक यात्रा हो । यद्यपि, बालुवाटारदेखि बालकोटको रहस्यमयी फड्कोको उपलव्धि सत्तापति र शासकीय रजगजको मालिक हुनु मात्र होइन । देश र जनताको स्थिति बदल्न निःसर्त परिणाम निकाल्नु पनि हो । निर्वाचन परिणामले माओवादी केन्द्रलाई तेस्रो हैसियतमा राखे पनि सत्ता राजनीति उथलपुथल पारेर कब्जा गरिएको प्रधानमन्त्री पदको साख जोगाउन पनि परिणाम शीघ्र निकाल्न आवश्यक छ । तर, सानो आकारमा बिस्तारित मन्त्रिपरिषद्मा अटेका बिनाविभागीय मन्त्रीको फुर्सद र मन्त्रिपरिषद् विस्तारको ढिलाइले नतिजा निस्कने छाटकाँट तत्काल देखिँदैन ।

पहिलो प्रधानमन्त्री कार्यकालमा भ्रष्टाचार र अनियमितताका कुनै समाचार बन्न नसक्ने गरी काम गरेको प्रचण्डले घमण्डका साथ दाबी गर्थे । उनको त्यो रोमाञ्चकारी समयावधि कटवाल प्रकरणले नौ महिनामै पूर्णविराम लगायो । प्रधानमन्त्रीको दोस्रो कार्यकालमा उनले केही सम्झनलायक नतिजा निकाले । चुनौतीका बाबजुत परराष्ट्र सम्बन्ध सन्तुलनमा राखे । ऊर्जामन्त्री जनार्दन शर्माको बलियो साथका कारण कुलमान जन्माए । लोडसेडिङको अन्त्य र उज्यालो नेपालको सुरुवात गरे । तत्काल स्वास्थ्यमन्त्री गगन थापाले स्वास्थ्य क्षेत्रमा विभिन्न नीतिगत सुधार गरेर आफूलाई अब्बल साबित गरे । उद्योगमन्त्री नवीन्द्रराज जोशीले पनि बेवास्तामा परेको उद्योग मन्त्रालयलाई पहिचान गरेर प्राथमिकतामा राखे । नीतिगत सुधार गरे । बन्द भइसकेको औषधि उद्योग खोले, विदेशी लगानी भिœयाउने वातावरण बनाउन लगानी सम्मेलन गरे । ‘यी छिटफुट सम्झन लायक कामको जस प्रचण्डलाई नै जान्छ ।

तेस्रोपटक प्रधानमन्त्री बनेका प्रचण्डका सामु चुनौतीसँगै अवसरहरू धेरै छन् । गठबन्धनको नाममा मुद्दा र एजेन्डाको छातीमा टेकेर सत्ता र शक्तिको वरिपरि रहिरहने विशाक्त प्रवृत्ति सुधारेर देश र जनताको स्थिति बदल्ने कर्म गर्ने यो स्वर्णिम अवसर हो । बहुदलीय लोकतान्त्रिक प्रणालीमा एकल प्रतिस्पर्धी हुन नसक्ने सामथ्र्यबाट गुज्रिरहेको माओवादीको खस्किँदो साख ब्युँत्याउन प्रचण्डले अब राष्ट्रिय मुद्दा र एजेन्डामा केन्द्रित भई नतिजा दिन सक्नुपर्छ । संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी समानुपातिक प्रतिनिधित्व, धर्मनिरपेक्षता, उत्पीडित वर्ग, क्षेत्र र समुदायको संवैधानिक अधिकार सुनिश्चित, समाजवादउन्मुख नेपालको प्रस्तावनाजस्ता ऐतिहासिक कार्य माओवादी नेतृत्वमा सम्भव भएको सत्यलाई इतिहासले बदल्न सक्दैन ।

तर, आफ्नै गौरवमय इतिहास बदल्न माओवादी स्वयं सिद्धान्त र प्रवृत्तिबाट विचलित हुँदै गएको छ । केन्द्रदेखि स्थानीय तहसम्म पुँजीवादी लयले पक्रेको छ । यस्ता ऐतिहासिक उपलब्धिहरू माओवादीमा २०६९ असारबाट फुटको शृंखला भयावह हुँदै गएपछि संस्थागत हुन थर्मराउँदो अवस्थामा छन् । तिनको संरक्षण गर्र्न माओवादी शक्ति सामूहिक र मानसिक रूपमा आज सबैभन्दा धेरै कित्तामा विभाजित छन् । जनयुद्धको बलमा प्राप्त उपलब्धिको जस र एकल स्वामित्व लिने आधारहरू चौतर्फी अतिक्रमित हुँदासमेत प्रतिरोध गर्ने नैतिक बल माओवादीमा निरीह भएको छ । अवसरवादबाट ग्रसित माओवादी पुँजीवादसमक्ष आत्मासमर्पण गर्ने जोखिमपूर्ण यात्रामा छ । यो दर्दनाक स्थितिबाट माओवादीको छविलाई सुधार्न प्रचण्डका निम्ति सत्ताको बागडोर ठूलो अवसरको प्रयोगशाला हो ।

अवसर र चुनौतीको सन्तुलनबाट उत्पादन हुने नतिजाको गुणस्तर दीर्घकालीन जस दिने प्रकृतिका हुन्छन् । आजको सत्ता सञ्चालन गर्ने दल र तिनका दलपतिलाई यो नजिरको हेक्का होस् । जसको नीति उसैको नेतृत्वको नारा चर्काएर माओवादी चुनावमा होमिएको हो । निर्वाचन परिणामले तेस्रो हैसियतमा सूचीकृत गरेको छ । तर, फिल्मी शैलीमा सत्ताको बागडोर सम्हालेको माओवादीको यो अन्तिम अवसर भएको टिप्पणी विश्लेषकको डायरीमा ताजा छ ।

यद्यपि, चुनावी एजेन्डाको सतहदेखि पिँधसम्म विभेदरहित कार्यान्वयनको सुरु गरेर विश्लेषकको टिप्पणी गलत सावित गर्न माओवादीले सामाजिक यात्रा तय गर्नुपर्छ । २१औं शताब्दीको समाजवादी नेपालको लक्ष्यमा आधारित चुनाव लच्छित धेरै गुलाबी एजेन्डा माओवादीले खडा गरेको छ । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, राष्ट्रिय सुरक्षा र स्वाधीनताको रक्षाकेन्द्रित परराष्ट्र नीति, आत्मनिर्भर कृषि, गरिबीको अन्त्य, पहिचान, सामथ्र्य र क्षेत्रीय स्वायत्तताको संयोजनः सबैको अपनत्व हुने संघीयता, समतामूलक आर्थिक विकास, वित्तीय क्षेत्रको सुधारः समाजवादउन्मूख राष्ट्रिय आर्थिक क्रान्तिजस्ता एजेन्डामा ऊ प्रतिबद्ध छ । तर, माओवादी नेतृत्वमा सम्भव भएको दाबी गर्ने कतिपय राष्ट्रिय एजेन्डाको धर्मराउँदो स्थिति’bout प्रचण्डले फर्केर हेर्न आवश्यक छ ।

उनले भनेका श्रम स्वीकृति अनलाइनबाट र बिमावापत २७ लाखसम्म पाउने व्यवस्था, दोधारा चाँदनी सुख्खा बन्दरगाह, त्रिदेशीय व्यापार मार्र्गको पहल, सातवटै प्रदेशमा एक विश्वविद्यालय, कृषि क्याम्पस र मेडिकल कलेज, १२ प्राणघातक रोगको उपचारका लागि १ लाखसम्म अनुदान र निःशुल्क औषधी तथा सबै स्वास्थ्य संस्थाको स्तरोन्नतिका कुरा थाती छन् । साथै, पाठेघरको क्यान्सर, बाथ, मुटुरोगको निःशुल्क उपचार गर्ने व्यवस्था, किसान पेन्सन, किसानको ऋण मिनाहा र सुकुम्बासीलाई जग्गा, भूमिहीन, सुकुम्बासी, किसान, मजदुर र श्रमिकलाई पानी र बत्तीको निःशुल्क मिटर जोड्ने व्यवस्था र युवा स्वरोजगार कार्यक्रम पनि यथावत् छन् ।

क्याबिनेटका युवापुस्ताको मनोविज्ञान र संवेदनशीलता बुझेर तिनको सक्षमतालाई नतिजामा रूपान्तरण गर्न मानसिकरूपमा पहिला आफैं बदलिनु पर्नेछ

जसले जीवनमरणको दोसाँधमा राष्ट्रिय लज्जाको विषय बनेर माओवादीको दाबी र सफलताको अस्थित्वलाई गिज्याइरहेका छन् । प्रचण्डले आज सत्ताको शिरबाट फर्केर हेर्दा यिनको आकृति कस्तो देखिएला ? हिँड्दै पाइला मेट्दै गर्ने चरित्रबाट नांगिएर लाजको अस्थित्व नै नस्विकारे त भन्न केही सकिन्न । अन्यथा राजनीतिक जीवनले तय गरेको सामाजिक र सांस्कृतिक यात्राको जग हाल्न प्रयोग भएका राष्ट्रियता एवं जनजीविकाका मुद्दा र एजेन्डाको प्राविधिक सफलतालाई फर्केर अवश्य हेर्नुपर्छ । तर, माओवादी हिंड्दै पाइला मेट्दै गर्ने जोखिमपूर्ण राजनीतिक यात्राको बटुवावादी भइरहेको छ ।

यसको विकसित नमुना स्वयं प्रचण्डको मानसिक धन्दाले धरमर पारेको उनको राजनीतिक विरासत हो । नत्र संविधानको हरेक शब्द–शब्दमा आपूm देख्ने प्रचण्डले संविधानको प्राविधिक सफलतामा आफूलाई देख्छन् कि देख्दैनन् ? अस्वीकृृत संविधानको परिकल्पना गर्ने र लोकतन्त्रलाई कज्याएर संविधानले तय गरेको प्रणालीविरूद्ध सक्रिय शक्तिहरू नै उनको सत्ता सहयात्रामा अभिन्न भएका छन् । संघीयताको खारेजी, संवैधानिक राजसंस्था, हिन्दुराष्ट्र पुनस्र्थापना र विस्थापनाको कित्तामा विभाजित गठबन्धनको निर्णायक भूमिकामा प्रचण्ड छन् । तर, सत्ताका निम्ति हरेक आयामबाट उनी निरीह छन् । हार पनि जितलाई सबल बनाउने मानसिक विधि हो । त्यसैले उनको भूमिका माओवादी अस्थित्वको फैसला गर्ने दुर्लभ संयोग हो ।

२१औं शताब्दीको समाजवादी नेपालको सांस्कृतिक यात्रा निर्माणको चारित्रिक आधार तय गर्ने अवसर हो । स्थिर राजनीतिको प्रस्थानबिन्दु खडा गर्न सात दलीय गठबन्धनलाई समन्वय गर्न सक्ने अग्रगामी सक्षमताको परीक्षण गर्ने बेला हो । प्रधानमन्त्री प्रचण्ड यो स्वर्णिम अवसरमा आफ्नो गर्भिलो पदचाप खडा गर्न प्राविधिक, राजनीतिक, सांस्कृतिक आयामबाट सफल हुनुपर्छ । भावनामा बहकिएर होइन आत्मासमीक्षाको प्रयोगशालामा विगतका कमजोरीबाट सिक्न जति सकिन्छ तिनलाई नतिजामा रूपान्तरण गर्न सक्नुपर्छ । तब मात्र प्रचण्डले हिंड्दै पाइला मेट्दै गर्ने आफ्नो अपरिपक्क राजनैतिक चरित्रबाट मुक्ति पाउनेछन् ।

त्यसका निम्ति माओवादी जनयुद्धले हासिल गरेका उपलब्धिको सबलीकरण र संस्थागत स्थायित्व गर्न प्रचण्डले सत्ताको शिरबाट आफूलाई पछाडि फर्केर हेर्नुपर्छ । नत्र २१औं शताब्दीको समाजवादी नेपालको लक्ष्यमा आधारित चुनाव लच्छित माओवादीका दर्जनौं गुलाबी एजेन्डाले दुनियाँ हसाउनेछ । लोक हसाउने कि लोक रिझाउने भन्ने सवालमा प्रचण्ड प्रशासनको परीक्षा सुरु भइसकेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 86 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सहमतीमा राष्ट्रपति छान्ने माओवादी निष्कर्ष

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
बारामा १७ वडाको मतगणना सकियो, कसले कहाँ जिते ?