दुई दिन बित्दासमेत पोस्टमार्टम हुन सकेन

पोखरा । दुबईबाट छुट्टीमा घर फर्किंदै थिए, पोखरा–३०, खुँदीका ४५ वर्षीय नवराज तिमिल्सिना । सोही विमानमा उनी दुर्घटनामा परे । उनका आफन्त दुई दिनदेखि अस्पतालमा शव कुरेर बसेका छन् । उनका ज्वाइँ प्रशान्त आचार्य अस्पताल प्रशासनको ढिलाइले शव बुझ्न नपाएको गुनासो गर्छन् ।

– शव बुझ्न बसेका झनै शोकमा

– ७२ मध्ये ७० जनाको शव भेटियो

मृतक नवराजका बाबुआमा पनि निराश छन् । चार वर्षीय छोरा काखमा लिएर आएकी श्रीमती बोल्न सक्ने अवस्थामै छैनन् । त्यस्तै, पोखरा खुँदीकै धनबहादुर गुरुङ पनि चिन्तित छन् । उनका ४३ वर्षीय श्रीमती जीवनकला र ४० वर्षीय भाइ पूर्णबहादुरले विमान दुर्घटनामा ज्यान गुमाएका छन् । भाउजूको उपचार गर्न भाइ पूर्णबहादुर गत २६ पुसमा काठमाडौं गएर यतीकै विमानमा फर्किंदै थिए । तर, दुर्घटनाको दुई दिन बित्दासमेत शव बुझ्न नपाएपछि धनबहादुर निराश हुँदै घर फर्के ।

पोखरामा आइतबार भएको यती एअर दुर्घटनाका मृतक परिवार तथा आफन्तले दुई दिन बित्दासमेत शव बुझ्न पाएका छैनन् । मलिन मुद्रामा आफन्त पोखरा रामघाटस्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा शव कुरेर बसेका छन् । पहिचान भएका शवको समेत पोस्टमार्टम ढिलाइ भएको छ । ढिलाइकै कारण परिवारका सदस्य तथा आफन्त थप बज्रपात सहन बाध्य छन् । अस्पतालका अनुसार एउटा शव पोस्टमार्टम गर्न ढेडदेखि दुई घण्टासम्म लाग्छ ।

सयौं आफन्त शव बुझ्न सोमबार दिनभर कुरेरै बसेका थिए । तर, शव पहिचान भइसकेपछि पनि पोस्टमार्टम ढिलाइका कारण शव प्राप्त गर्न सकेका थिएनन् । अस्पताल प्रशासनले बिहान ९ बजेदेखि नै आफन्तलाई शव बुझाउने सूचना जारी गरे पनि ढिलाइले केहीबेर नाराबाजीसमेत भएको थियो ।

प्रहरीका अनुसार हालसम्म ७० जनाको शव संकलन गरी अस्पताल लगिएको छ । दुई जनाको अझै पनि शव भेटिएको छैन । विमानमा चालक दलका चारसहित ७२ यात्रु सवार थिए ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काका अनुसार संकलित ७० मध्ये ४२ जनाको पहिचान भएको छ । साथै, पहिचान भएका शवमध्ये २४ जनाको पोस्टमार्टम यही“ हुनेछ ।

‘तर, यही“ पोस्टमार्टम गर्न मिल्नेको पनि कतिपयका आफन्त काठमाडौं भएकाले उतै लैजान पाए हुन्थ्यो भन्नुभएको छ,’ प्रहरी प्रवक्ता खड्काले भने, ‘त्यसैले २० जनाको यहाँ गर्ने अरूलाई काठमाडौं पठाउने तयारी छ ।’

पहिचान भएका अन्य शव, विदेशी तथा पहिचान नखुलेका गरी ५० जनाको शव मंगलबार बिहान काठमाडौं पठाइने भएको छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसी पनि आफन्तले शव पहिचान गरेको दाबी गरे पनि केही द्विविधा भएकाले त्यस्तै २०÷२२ जनाको पोखरामै पोस्टमार्टम गरेर आफन्तलाई हस्तान्तरण गरिने बताउँछन् ।

पोस्टमार्टमका लागि काठमाडौंबाट फरेन्सिक विशेषज्ञको दुई सदस्यीय टोली आएको छ । अस्पताल निर्देशक प्रा.डा. भरतबहादुर खत्रीका अनुसार उनीहरूसहित सात सदस्यीय पोस्टमार्टम टोली बनाइएको छ । जसमा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका २, मणिपाल शिक्षण अस्पतालका २, गण्डकी मेडिकल कलेजका १ जना छन् ।

त्रिवि शिक्षण अस्पतालका डा. गोपाल चौधरी र डा. समारिका दाहाल सोमबार दिउँसो मात्र पोखरा आएका हुन् ।

थप १६ को सनाखत
दुर्घटनामा ज्यान गुमाएकामध्ये मंगलबार थप १६ जनाको सनाखत भएको छ । यसअघि सोमबार २६ जनाको सनाखत भएको थियो ।

विमान चालक कमल केसीको पनि सोमबार मात्र सनाखत भएको हो । कास्की रूपा गाउँपालिका–३, पोल्याङका क्याप्टेन केसीका दाजु कृष्णबहादुर केसीले शव सनाखत गरेका हुन् । थप सनाखत हुनेमा पर्वत बिहादीकी ६० वर्षीया जमुना शर्मा, पोखरा–९ नागढुंगाका ५३ वर्षीय शालिकराम आचार्य, पोखरा–४ का डा. सुशील श्रेष्ठ र सोना श्रेष्ठका छोरा, पोखरा–९ की २१ वर्षीया बन्दना सुनार, कास्की माछापुच्छे« गाउँपालिका–२, भुर्जुङखोलाकी ४३ वर्षीया सीता गुरुङ, बाग्लुङ बडीगार्ड गाउँपालिका–३ की २० वर्षीया गायिका नीरा छन्त्याल छन् ।

त्यस्तै, पोखरा–८ बगालेटोलका २३ वर्षीया अनुशा गुरुङ, सोही ठाउँका ३७ वर्षीया शिवकुमार गुरुङ, पोखरा–३ नदीपुरका ४४ वर्षीय राजुसिंह ठकुरी, पोखरा–१ बगरका ३६ वर्षीय अनिल शाही, फ्रान्सका ६० वर्षीय नागरिक पास्कल एलेक्स एन्डलको पनि शव पहिचान भएको छ ।

आइतबार सनाखत हुनेमा पोखरा–१३, काहुँडाँडाका २७ वर्षीय निशान्त आचार्य, पोखरा–१७ घर भइ हाल बालाजु बस्ने संगीता शाही, पोखरा–४का डा. सुशील श्रेष्ठ, पोखरा–४ कै डा. सोना दिवाकर, पर्वत कुश्मा–१ की १० वर्षीय रियान पौडेल, पोखरा–१३ मियाँ पाटनका सदाकत अलि मियाँ, पोखरा–१९, बाटुलेचौरकी लक्ष्मीपौडेल, पर्वत कुश्मा–९ कटुवाचौपारीका ४६ वर्षीय अरुण पौडेल, उनका ११ वर्षीया छोरी प्रसिद्धि, पर्वत मोदी–१ का ३९ वर्षीय विजयकुमार गुरुङ, सोही ठाउँकी रचना काफ्ले पौडेल, अन्दाजी ३४ वर्षका रक्की गुरुङ थिए ।

यसैगरी, रुपन्देही शंकरनगर–८ का डा. गणेश थापा, काठमाडौंकी नतु परियार, रीता परियार, हरि परियार, पोखरा–८ की एसमिन गुरुङ, पोखरा बुद्धचोकका पूजन राना, बुटवल मुर्गिया घर भएकी एअरहोस्टेज सिर्जना हुन्चिङ, पत्रकार त्रिभुवन पौडेल, कावासोती–६ का ३५ वर्षीय मोहनप्रकाश श्रेष्ठ, पोखरा खुँदीकी ४३ वर्षीया जीवनकला गुरुङ, कोरियन नागरिक यु क्युघुल, रसियन नागरिक जुरिज लेगिन र एलेनको पनि शव पहिचान भएको छ ।

नाम उल्लेखितबाहेक अन्यका आफन्तले पहिचान गरेको दाबी गरिए पनि प्रहरीले आधिकारिक बताउन चाहेको छैन । प्रहरी प्रवक्ता खड्काका अनुसार आफन्तले पहिचान गरेका भने पनि कतिपय कुरा मेडिकल टोलीले मान्दैन । ‘एक्सपर्टले भनिसकेपछि थपको नाम भन्न सकिएला,’ उनी भन्छन् ।

काठमाडौंदेखि पोखराका लागि उडेको यती एअरको एटिआर–७२ विमान आइतबार बिहान १०ः५२ बजे सेतीखोंचमा दुर्घटनाग्रस्त भएको हो । विमान दुर्घटनाको कारण पत्ता लाग्न सकेको छैन । यसका लागि मन्त्रिपरिषद् बैठकले दुर्घटना’bout अनुसन्धान गर्न पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 71 times, 2 visits today)

Ads Space Available

epaper

भर्खरै

सहमतीमा राष्ट्रपति छान्ने माओवादी निष्कर्ष

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
‘हेभिवेट’ नेताको भिडन्तले सिन्धुपाल्चोकमा राेचक प्रतिस्पर्धा