बज्रबाराहीमा ३५ वर्षदेखि रोकिएको नित्यपूजा थाल्न महायज्ञ

चापागाउँ (ललितपुर) । मल्लकालीन इतिहास बोकेको ललितपुर गोदावरी–११ चापागाउँमा अवस्थित बज्रबाराही मन्दिरमा ३५ वर्षदेखि रोकिएको नित्यपूजा सुचारु गर्न महायज्ञ थालिएको छ ।

भाकल पूजा गरे चिताएको पुग्ने जनविश्वास रहेको मन्दिरमा करिब ३५ वर्ष अघिदेखि नित्यपूजा हुन सकेको छैन । बज्रबाराही आगंछेँ (देवघर) व्यवस्थापन समिति अध्यक्ष वासुदेव कर्माचार्यका अनुसार बुबाबाजेले मन्दिरमा नित्यपूजा गर्दै आएका थिए ।

‘मन्दिरको आफ्नै गुठीको ७ रोपनी जग्गा र करिब २ रोपनी बगैंचा पनि थियो,’ कर्माचार्य भन्छन्, ‘ती जग्गा क–कसले खाए, कहाँ हरायो ? केही थाहा छैन । जग्गै नभएपछि आर्थिक अभावकै कारण नित्यपूजा हुन सकेन । अब अक्षयकोष स्थापना गरेर अगाडि बढ्ने योजना बनाएका छौं ।’

समितिले अक्षयकोष निर्माणकै लागि सोमबारदेखि आगामी ७ माघसम्म बज्रबाराही धार्मिक वनमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु गरेको हो ।

सप्ताह ज्ञान महायज्ञ लगाएर उठेको रकमबाट कोष खडा गरी रोकिएको नित्यपूजालाई निरन्तरता दिने समिति सल्लाहकार विश्वनाथ न्यौपाने बताउ“छन् । ‘मन्दिरमा अक्षयकोष खडा गर्न सक्यौं भने पूजा एवं पुजारीका साथै आवश्यक सामग्री व्यवस्थापन गर्न सहज हुनेछ,’ उनी भन्छन् ।

आइतबार ललितपुर क्षेत्र नं. १ का सांसद उदयशमशेर राणा र ललितपुर क्षेत्र नं. २ का सांसद प्रेम महर्जनले सप्ताहको उद्घाटन गरेका हुुन् । उद्घाटनअघि बाजागाजासहित चापागाउँमा कलश यात्रा गरिएको थियो ।

उद्घाटनकै दिन बाग्मती प्रदेशसभा सदस्य रघुनाथ महर्जन र प्रेमभक्त महर्जनले महायज्ञ सफलताको कामना गरे । सांसद राणा, प्रदेशसभा सदस्य रघुनाथ र प्रेमभक्त तथा गोदावरी नगरप्रमुख गजेन्द्र महर्जनले झन्डै ७५ हजार सहयोग गर्ने प्रतिबद्धता जनाए ।

महायज्ञ आयोजना समिति सल्लाहकार डा. नारायणहरी गजुरेलले मन्दिरको स्रोत अभावमा पूजा रोकिनु सबैको चासोको विषय बन्नुपर्नेमा जोड दिए ।

तत्कालीन चापागाउँ गाविस अध्यक्ष एवं कालेश्वर संरक्षण सेवा समिति अध्यक्ष चरसुन्दर महर्जन परापूर्वकालदेखि चलिआएको कर्म रोकिनु ‘राम्रो संकेत नभएकाले सुचारु’ गर्नुपर्ने जरुरी औंल्याउ“छन् ।

काठमाडौं उपत्यकाका चारमध्ये श्वेतबाराही, नीलबाराही, धुम्बाराहीका साथै बज्रबाराही पनि एक हो । यहाँ आएर देवी दर्शन गरे चिताएको पुग्ने र सुख शान्ति मिल्ने धार्मिक विश्वास छ । बज्रबाराही गजुरविहीन मन्दिरका रूपमा समेत प्रसिद्ध छ ।

बज्रबाराही देवी मन्दिर लगभग २० हेक्टर वनबीच रहेको छ । नेपाल संवत् ७१९ मा श्रीराजदेव मल्लले चापागाउँ आगंछेँमा देवी स्थापना गरेको इतिहास छ । पछि नेपाल संवत् ७८६ मा श्रीनिवास मल्लले देवीको मन्दिर निर्माण गरेको इतिहास देखिन्छ । समिति अध्यक्ष कर्माचार्यका अनुसार देवीको मन्दिर नेपाल संवत् ८५२ मा राजा विष्णु मल्लले मर्मतसम्भार गर्न लगाएका थिए ।

यस्तो छ किंवदन्ती
भक्तपुरका राजा नरेन्द्रदेव युद्धपछि चापागाउँ हुँदै घर फर्कंदा निकै रात परेछ । उनले बाटोमा पर्ने देवीको घरमा बास माग्न सिपाहीलाई पठाए छन् । तर, सिपाही डराएर राजा भएका ठाउँमा फर्किंदै ‘शिरमाथि देखि पाउ“सम्म सेतो कपडाले छोपिएको डरलाग्दो आकृतिमा सुतिरहेको छ, सरकार’ भनी सिपाहीले राजालाई सुनाएपछि राजा आफैं हेर्न भनी गएछन् ।

राजाले पनि पूरै शरीर सेतो कपडाले छोपेर सुतिरहेको देखेपछि उघारेर हेर्दा बज्रबाराही माताको प्रत्यक्ष दर्शन पाएछन् । देवीले दर्शन दिएपछि ‘मेरो यस्तै मूर्ति बनाएर चैत्र पूर्णिमाको दिन जात्रा चलाउनू’ भनी अलप भएपछि त्यसैनुसार मूर्ति र खट बनाएर जात्रा चलाइँदै आएको किंवदन्ती पाइन्छ ।

त्यस्तै, अर्को प्रचलित किंवदन्तीनुसार राजा श्रीनिवास मल्लले एकरात सपनामा आफ्नो दरबार (पाटन मंगलबजारस्थित पुरानो राजदरबार)को मूलचोकमा अष्टमातृका देवी गणसहित नाचिरहेको देखे । यस्तो सपना’bout उनले बज्राचार्य कुलपाद र राजोपाध्याय मधुसूदनसित सरसल्लाह गरे ।

उनीहरूको सुझावनुसार राजाले अष्टमातृका नृत्य वर्षैपिच्छे नवरात्रीभर नचाउने व्यवस्था गरे । त्यही सपनापछि राजा श्रीनिवासले अष्टमातृका मन्दिर अर्थात् बज्रबाराही देवीको मूर्ति स्थापना, मन्दिर निर्माण गरेको र जात्रा चलाएको कथन छ ।

अन्य मन्दिरअघि साँढे राखिए पनि बज्रबाराहीमा भने राँगो राखिएको छ । गाउँघरमा गाईबस्तु ब्याएपछि पहिलो दूध (बिगौती) यही मन्दिरमा चढाउनुपर्ने मान्यता छ ।

मन्दिरवरिपरि जातैपिच्छेका नौवटा शव जलाउने घाट छन् । बज्रबाराही मन्दिरमा हरेक वर्ष दशमीका दिन ठूलो मेलासमेत लाग्ने गर्छ ।

बज्रबाराही देवीको शक्तिका कारण दिनभर मन्दिर परिसरबाट बाहिर उडेर गएका पात साँझ परेपछि मन्दिरतर्फ हावाले उडाएर ल्याउने र मन्दिरको काठदाउरा काटेर घरायसी प्रयोजनमा प्रयोग गर्न नहुने स्थानीय बताउँछन् । बज्रबाराही जंगलमा विभिन्न जडिबुटी तथा वनस्पतिसमेत पाइन्छन् । यहाँ नेपालमै मात्र पाइने विश्वमै दुर्लभ मानिएको काँडेभ्याकुर चरा पनि पाइन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 66 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

अपराध काण्डमा तानिँदै सांसदः कोही पक्राउ, कोही फरार

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
धनगढीका मेयरका प्रत्याशी हमालले मन्दिरमा पसेर भ्रष्टाचार नगर्ने कसम खाए (भिडियाेसहित)