काठमाडौं । नेपाली तथा बलिउड गायक उदितनारायण झा र उनकी पत्नी गायिका दीपा नारायण झाले नेपाली चलचित्रकर्मी कल्याण कोषमा ५ लाख १११ रुपैयाँ प्रदान गरेका छन् । आफ्नो एउटा गीतको भिडियो रिलिजका लागि नेपाल आएकी गायिका दीपानारयाण झाले आफु र श्रीमानको तर्फबाट मँगलबार चलचित्र विकाश बोर्डमा एक समारोहबीच सो सहयोग प्रदान गरेको बताईन् ।
आफुले नेपाली चलचित्रमा गायिकाको रुपमा बिगतमा धेरै काम गरेको स्मरण गायिका झाले कार्यक्रममा गरिन् । यो सहयोगले नेपाली चलचित्रकर्मीलाई मद्धत पुग्ने भन्दै आर्थिक सहयोग प्रदान गरेको पनि उनको कथन थियो ।
सोही कार्यक्रममा अभिनेता तथा निर्माता दीपकराज गिरी, अभिनेत्री तथा निर्देशक दीपा श्री निरौलाले जनही १ लाख १११ रुपैयाँ आर्थिक सहयोग प्रदान गरे । कार्यक्रममा अभिनेत्री स्वस्तिमा खड्का र कलाकार तथा निर्माता निर्मल शर्माले जनही ५१ हजार १११ र चलचित्रकर्मी महिला सशक्तिकरण समितिकी संयोजक गीता नेपालले ११ हजार १११ रुपैयाँ कोषमा प्रदान गरे । समारोहमा बोर्डका तर्फबाट झा दम्पति सहित कोषमा सहयोग गर्ने सबै सिनेकर्मीलाई कदर पत्र प्रदान गरियो ।
यो कोषमा हालसम्म पाँच करोड रकम जम्मा भएको र आउँदो दिनमा यो कोष १० करोड पु¥याउने लक्ष्य रहेको कोषकी संयोजक बशुन्धरा भुषालले कार्यक्रममा बताईन् । भुषालले झा दम्पती सहित नेपाली चलचित्रकर्मीहरुले प्रदान गरेको रकम लाखमा भएपनि यसले करोडौँको मुल्य राख्ने बताईन् । उनले सामुहिक हितको लागि कोषको प्रयोग हुँदै आईरहेको जनाउँदै यस प्रकारका सहयोगले नै कोषको लक्ष्य पुरा हुने छ भनिन् ।
भुषालका अनुसार नेपाली चलचित्र क्षेत्रमा निरन्तर रुपमा कार्यरत चलचित्रकर्मी गम्भिर बिरामी भएको अवस्था, दुर्घटनामा परी उपचाररत अवस्था, आर्थिक रुपले विपन्न एवं असहाय भएको अवस्थामा सहयोग गर्ने उद्देश्यले २२ बर्ष अघि कोष स्थापना भएको थियो ।
सो सहयोगको चलचित्र विकास बोर्डका पूर्व अध्यक्षहरु शम्भुजीत बास्कोटा, कृष्ण मल्ल, राजकुमार राई, कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का लगायतले खुलेर प्रसँसा गरे । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले यो कोषका कारण आर्थिक समस्यामा परेको धेरै सिनेकर्मीहरुले आर्थिक सहयोग पाएको जनाए । उनले आगामी दिनमा पनि यस प्रकारको सहयोगको अपेक्षा गरिएको बताए ।