ओलम्पिक सार्न माग

ओस्लो । आउदो जुलाई र अगस्टमा एसियाली मुलुक जापानमा विश्व खेलकुदको कुम्भमेला टोकियो ओलम्पिक–२०२० हुने तय छ । ओलम्पिक हुन चार महिना बाँकी छ । तर, विश्वभर नै महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)का कारण टोकियो ओलम्पिक हुने नहुने अन्योलमा छ ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) र जापान ओलम्पिक कमिटीले निर्धारित मितिमै ओलम्पिक गर्ने योजना बनाइरहेको छ । यसका लागि जापान ओलम्पिक कमिटीले ग्रीसको एथेन्सबाट बिहीबारै ओलम्पिक टर्च जापानमा ल्याइसकेको छ । तर, नर्वे ओलम्पिक कमिटी र अमेरिका ओलम्पिक कमिटीले कोरोना भाइरसको त्रास नहटेसम्म आगामी टोकियो ओलम्पिकको प्रक्रिया अघि नबढाउन आईओसीलाई आग्रह गरेको छ ।

नर्वे ओलम्पिक कमिटी र पारालम्पिक कमिटीले आईओसीका अध्यक्ष थोमस बाचलाई पत्र लेख्दै तत्कालको स्थितिमा आगामी समर ओलम्पिक प्रक्रिया अघि नबढाउन आग्रह गरेको हो । नर्वे ओलम्पिक कमिटीले यस अवस्थामा मानिसको स्वास्थ्य सुरक्षामा ध्यान दिनुपर्ने आईओसीलाई सुझाएको छ । ‘हाम्रा सुझाव भनेको यस्तो त्रासको स्थितिमा टोकियो ओलम्पिक अगाडि बढाइनु गलत हो ।

यो समय सबै मिलेर कोभिड–१९ लाई नियन्त्रण गर्ने माध्यम सिर्जना गर्न हो ।’ नर्वे ओलम्पिकको पत्रमा उल्लेख छ । नर्वेले आफ्ना खेल गतिविधि सबै ठप्प रहेको उल्लेख गर्दै यस्तो स्थितिमा ओलम्पिक तयारी गर्न नसकिने जनाएको छ । आईओसीका अध्यक्ष बाचले विभिन्न खेलका अन्तर्राष्ट्रिय संस्था र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)सँग वर्तमान अवस्था’bout छलफल भइरहेको बताउँदै टोकियो ओलम्पिक सार्नु परिपक्व निर्णय नहुने धारणा व्यक्त गरेका छन् ।

‘यदि ओलम्पिकको सिद्धान्त मान्ने हो भने आगामी टोकियो ओलम्पिक निर्धारित जुलाईमै आयोजना गर्नु हुँदैन । यस ओलम्पिकलाई सन् २०२१ मा सार्नु कुनै गल्ती हुने छैन । तब मात्र सबै खेलाडीले समान रूपमा तयारी गर्न पाउँछन् ।’ पछिल्ला दिन खेल पदाधिकारी र खेलाडीले विभिन्न अभिव्यक्ति दिँदै टोकियो ओलम्पिक सार्न आईओसी, टोकियो ओलम्पिक आयोजक र जापान सरकारलाई दबाब दिइरहेका छन् । स्लोभानिया ओलम्पिक कमिटीका अध्यक्ष बोजडान गाभरोभेचले पनि आगामी ओलम्पिक पछि सार्नुपर्ने बताएका छन् । स्लोभानिया ओलम्पिक कमिटीका अध्यक्ष गाभरोभेचले अहिले स्थितिबाट ओलम्पिक आयोजना हुँदा सबै खेलाडीले समान रूपमा तयारी गर्न नपाउने दाबी गरेका छन् ।

कोरोनाबाट हालसम्म ११ हजार बढीले ज्यान गुमाइसकेका छन् । चीनबाट सुरु भएको संक्रमण विश्वभर पैmलिँदा रोकिने अवस्था नै देखिएको छैन । यस्तो स्थितिमा सबै राष्ट्रका खेलाडीले समान रूपमा टोकियो ओलम्पिकको तयारी गर्न नपाउने नर्वे ओलम्पिककी सोफिया ओल्सनको भनाइ छ । यूएस स्विमिङ फेडेरेसनले पनि टोकियो ओलम्पिक सार्न अनुरोध गरेको छ । उसले यूएस ओलम्पिक कमिटी र पारालम्पिक कमिटीलाई आगामी ओलम्पिक सार्नुपर्ने माग राख्दै पत्र पठाएको छ ।

फ्रान्स स्विमिङ फेडेरेसनले पनि यूएसको स्विमिङको भनाइ समर्थन गर्दै त्रासको स्थितिमा टोकियो ओलम्पिक सारिनुपर्ने भन्दै आईओसीमाथि दबाब दिएको छ । कोरोना संक्रमण र त्रासका कारण विश्वका अधिकांश खेल स्थगित हुँदा टोकियो ओलम्पिकका विभिन्न छनोट चरणमा रोकिएका छन् । आईओसीले यसै हप्ता सार्वजनिक गरेको रिपोर्टअनुसार ५७ प्रतिशत खेलाडी मात्र ओलम्पिकका लागि छनोट भएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 52 times, 1 visits today)

आजको समाचार

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी

आजको १० समाचार