काठमाडौं । नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रका संस्थापक स्वर्गीय खगेन्द्रबहादुर बस्नेतको ९५औं जन्मजयन्ती र संस्थाको ५३औं स्थापना दिवस बिहीबार केन्द्रीय कार्यालय जोरपाटी काठमाडौंमा विभिन्न कार्यक्रम आयोजना गरी मनाइयो ।
संस्थाका सभापति साम्देन लामाको अध्यक्षता एवं गोकर्णेश्वर नगरपालिकाका मेयर दीपककुमार रिसालको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा अपांगताको क्षेत्रमा योगदान गरेका विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो । अर्थाेपेडिक अस्पतालका संस्थापक डा. अनिलबहादुर श्रेष्ठ, संस्थाका पूर्वसभापति प्रा. शंकरराज पाठक, विद्यालयका पूर्वशिक्षक गोबिन्द खनाल र डोल्मा ढाक्वा फाउन्डेसनका निर्देशक लोप्साङ डोल्मालाई कदरपत्रले सम्मान गरिएको थियो ।
कार्यक्रममा विभिन्न विधाका खेलकुद प्रतियोगितामा सफल खेलाडीलाई पुरस्कार प्रदान गरिएको थियो । हरेक वर्षजस्तै टेबुल टेनिस, दौड, बास्केटबल, चित्रकला र घ्याम्पो फुटाउनेलगायतका प्रतियोगिता आयोजना गरिएको थियो ।
संस्थाका कोषाध्यक्ष रामप्रसाद कोइराला, उपाध्यक्ष शरद अधिकारीले धन्यबाद ज्ञापन गरेका थिए । सोही अवसरमा माडवारी सेवा समिति झापाले अपांगता भएकालाई भोजन गराउनुका साथै विभिन्न सामग्रीसमेत हस्तान्तरण गरेको थियो ।