नेपालमा औद्योगिक विकास हुन नसकिरहेको गुनासो सर्वसाधरणसम्मबाट आउन थालेका बेलामा चालू आर्थिक वर्षको ६ महिनामा स्वदेशी उद्योग स्थापनाको स्वीकृति अत्यन्त न्यून देखिएपछि यसले नेपाली सबैलाई नै चिन्तित बनाउन थालेको छ ।
६ महिनाको अवधिमा विदेशी लगानीका १ सय ३१ वटा उद्योगले स्वीकृति लिइसक्दा पनि स्वदेशी लगानीका जम्मा १४ वटा उद्योगले मात्र स्वीकृति पाएका छन् । संख्यात्मकरूपमा थोरै भए पनि लगानीका हिसाबले स्वदेशी पुँजी लगानी भने धेरै देखिएको छ । यसले नेपाली लगानीकर्ता स्वदेशमा पुँजी लगानी गर्न र व्यवसाय गरी बस्न इच्छुक छन् भन्ने देखाएको छ । तुलनात्मकरूपमा धेरै रहेका विदेशी उद्योगमा लगानी पुँजी १७ अर्ब ३० करोड रहँदा थोरै संख्यामा रहेका स्वदेशी लगानीकर्ताको पुँजी भने १ खर्ब २२ अर्ब रहेको देखिएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा उल्टोपाल्टोजस्तो देखिएको पनि छ । गतवर्ष विदेशी लगानीकर्ताले ६ महिनामा ३० अर्ब ५६ करोड रुपैयाँ प्रस्ताव गर्दा स्वदेशी लगानीका लागि १ खर्ब ४४ अर्बको प्रस्ताव आएको थियो । गतवर्षको तुलनामा चालू आर्थिक वर्षमा लगानी प्रस्ताव घटेको तर स्वीकृत उद्योगको संख्या भने बढेको छ ।
तर, गतवर्ष र अहिलेको समानता भनेको विदेशी उद्योगलाई बढी स्वीकृति दिनु र स्वदेशी उद्योगलाई कम स्वीकृति दिनु नै रहेको छ । गतवर्ष कुल १ सय ५५ वटा उद्योगलाई विभागले स्वीकृति दिँदा विदेशी लगानीका लागि १ सय २९ वटालाई स्वीकृति दिएको थियो । अघिल्लो आर्थिक वर्ष झैं अहिले पनि ठूला उद्योगमा अत्यन्तै न्युन, मझौला उद्योगमा केही र साना उद्योगमा सबैभन्दा बढी विदेशी लगानीको प्रस्ताव आएको छ । नेपालमा ठूला उद्योग स्थापना जरुरी भए पनि ठूला उद्योगमा विदेशी लगानीको आकर्षण त्यति छैन जति साना तथा झिनामसिना उद्योगमा रहेको देखिन्छ । ठूला उद्योग स्थापना भएपछि देशमा हुने आर्थिक समुन्नतिको गुणात्मकता, रोजगारीको प्रबन्ध तथा आत्मनिर्भरताको ढोका खुल्ने थियो । तर, त्यसो हुन सकिरहेको छैन । यसका पछाडि नेपालमा सरकारी स्थिरता कायम हुन नसक्नु, सरकार अदलबदल भइरहनु, विदेशीका स्वार्थ र उद्देश्यबीच टकरावपूर्ण खेल चलिरहनु आदिले काम गरिरहेका छन् । आफ्नो कूटनीतिक तथा भूराजनीतिक स्वार्थ कायम गर्न संख्यात्मक रूपमा धेरै उद्योगधन्दामा चासो राखेको जस्तो देखाउनु तर गुणात्मक रूपमा भने त्यसको आयतन, आयाम र घनत्वमा निकै कमी रहँदै आएको देखिएको छ ।
स्वदेशी लगानी पर्याप्त नहुनु, सरकारले पनि स्वदेशी लगानीको संरक्षणका लागि पहल कदमीनलिनु तथा नेपाली विशिष्टता र विशेषतामा उद्योग स्थापनाको सम्भाव्यता खोजी तथा कार्यान्वयनमा जोड दिन नसक्नु नेपाल सरकारका कमजोरीहरू हुन् । विदेशी लगानीमा स्थापना भएका उद्योगबाट आर्जित मुनाफा विदेशमा नै पुग्ने हो । तर, स्वदेशी लगानीमा प्राप्त हुने मुनाफा भनेको देशमा रहने हो । यो कुरा सबैले बुझ्नु र कार्यान्वयन गर्न जरूरी छ । तर, पनि उद्योगदर्तादेखि, प्रोत्साहन र संरक्षणसम्मका कुरामा सरकारी चासो आवश्यकताको हदसम्म पनि कायम भएको देखिँदैन । त्यसैले कतै स्वदेशी उद्योगहरू मासिने अवस्थासम्म नपुगून् ! सरकारको गम्भीर ध्यान जाओस् !