सचेतनाका लागि पत्रकारिता

यतिबेला प्रमुख प्रतिपक्ष घटक नेपाली कांग्रेसले समेत सरकारको समर्थनमा विश्वासको मत दिएपछि प्रतिनिधिसभा प्रतिपक्षविहीन भएको चर्चा हुन थालेको छ । लोकतन्त्रमा सरकारलाई सही बाटोमा हिंड्न लगाउने र उसले गल्ती गरेको खण्डमा विरोधमा उत्रने काम संसारका अन्य मुलुकमा पनि प्रमुख प्रतिपक्षीको हुन्छ । कथंकदाचित सरकार असफल भएको खण्डका वैकल्पिक सरकारका रूपमा प्रमुख प्रतिपक्षी दललाई अघि सार्ने चलन संसदीय व्यवस्थाभित्र चलिआएको रीति नै हो ।

कतिपय समालोचक अब प्रतिपक्षीको भूमिका सामाजिक अभियन्ताको काँधमा आएको पनि भन्छन् । कतिपयले चोथौ अंग मानिने सञ्चार जगत्ले सरकारका राम्रा कामको प्रशंसा र खराब कामको डटेर आलोचना गर्नुपर्छ भन्ने आवाज पनि उठाउने गरेका छन् । तर, जुन मुलुकका न्यायाधीशहरू पार्टीप्रति बफादार हुन्छन्, संवैधानिक अंगका प्रमुखको नियुक्ति दलीय भागबन्डाका आधारमा हुन्छ र विश्वविद्यालयका उपकुलपति पार्टीलाई लेबी तिरेको आधारमा चयन हुन्छन्, त्यो देशमा पत्रकारिताभित्रको स्वतन्त्रता र निष्पक्षता खोज्नु कति सम्भव होला ? प्रश्न आफंैमा गम्भीर छ ।

पत्रकारिताः एउटा संयोग
नेपोलियन बोनापार्टको ‘चार विरोधी अखबारको भय १ हजार बेयोनटको भयभन्दा बढ्ता हुन्छ’ भन्ने भनाइबाट प्रभावित भएर मैले २०३६ सालदेखि नै पत्रकारितामा रहर गरेको हुँ । यसै पनि बेलायती राजनीतिज्ञ बर्केले ‘जसरी ग्यालरीमा समाचार पत्र, संवाददाता बस्छ, ऊ राज्यको चौथो समकक्षी हुन्छ’ भनेर प्रेस जगत्लाई सम्मान गरेको कुराबाट म प्रभावित थिएँ । बाग्लुङबाट विदुर खड्काको सम्पादकत्वमा प्रकाशित हुने ‘धौलाश्री साप्ताहिक’मा सम्पादकलाई चिठी लेखेर २०३६ मा छापामा आए पनि २०३८ देखि पोखरा बसाइमा ‘हिमाली आवाज’ र राजधानीबाट प्रकाशित हुने ‘साप्ताहिक विमर्श’को पोखरास्थित संवाददाता भएपछि पत्रकारिताले तान्न थाल्यो । यसो त राजधानीबाटै प्रकाशित ‘बाँकेको युुगधारासँग पनि मेरो’ सम्बन्ध रह्यो । लेख, रचनाका लागि भने चर्चा, नयाँ झिल्को, मातृभूमि, समीक्षा, राष्ट्र पुुकार, देशान्तर र नयाँसन्देशसम्म म पहुुँचमा थिएँ । गोरखापत्रमा भने धेरै पछि जोडिएँ ।

हिमाली आवाजका सम्पादक माधव शर्मा्, (राष्ट्रपतिका प्रेस सल्लाहकार) बाँकेको युुगधारामा प्रेम कैदी (राजनीतिक विश्लेषक) र विमर्शको टिम पदम ठकुराठी, हरिहर बिरही, जनार्दन आचार्यसमेतको संगत गर्न पाउँदाको आनन्द अलगै हुन्थ्यो । पत्रकारितामा वजन थियो उनीहरूको । विज्ञापन उठाएको पैसामध्ये ५० प्रतिशत उनीहरूलाई ड्राफ्ट बनाएर पठाइदिनु पर्ने, बाँकी ५० प्रतिशत आफ्नो पारिश्रमिक त्यो बेलाको नियम नै थियो । यसैकारण मोफसलका पत्रकारहरू उतिबेला भन्ने गर्थे ‘गाईलाई घाँस हाल्ने एउटा, दूध दुहुने अर्कै छ ।’ शायद न्यूूनतम पारिश्रमिकको कुरा आए पनि अधिकांश सञ्चारगृहमा आज पनि पत्रकारको अवस्था लगभग उस्तै छ जस्तो लाग्छ । आज पनि कैयौ पत्रिकाले लेखकको पारिश्रमिक या त नदिने, दिनै परे अत्यन्त न्यून दिने गरेकै छन् । अहिले हामीसँग न त बेलायतमा झैं स्वीकृत रचनालाई शब्द संख्याको हिसाबले पैसा दिने चलन छ न त ‘बिनापारिश्रमिक छाप्नैका लागि लेख्नेहरू मूर्ख हुन्’ भन्ने जर्ज बर्नाड साहजस्ता स्वाभिमानी लेखकहरू नै छन् । यसैले जसोतसो गुजारामा लेखक र पत्रकार दुुवैको दैनिकी चलेकोे छ ।

पार्टीप्रति बफादार न्यायाधीश, दलीय भागबन्डामा संवैधानिक अंगका प्रमुख र पार्टीलाई लेबी तिरेका आधारमा विश्वविद्यालयका उपकुलपतिको नियुक्ति गरिन्छ

यो कठिनाइका कारण पनि आज निष्पक्ष, स्वतन्त्र र दल निरपेक्ष पत्रकारिताको अपेक्षा मृगमरिचिका बनेको हुनसक्छ । यस्तो अवस्थामा सरकारका राम्रा कामको प्रशंसा र खराब कामको आलोचना गर्दै प्रतिपक्षीको भूमिका निर्वाह गर्ने काम त धेरै परको विषय भयो ।

उतिबेला आधा पेट खाएर पनि हाम्रो पत्रकारिता यात्रा निकै सारपूर्ण थियो । पुस १, १४, २७ फागुन ७, कात्तिक २२ गते तथा दसैं र नववर्षजस्ता दिनहरू हाम्रा लागि ठूला पर्व मानिन्थे । सरकारी अफिसले गइसकेपछि गच्छेअनुसारको साइजमा विज्ञापन दिन्थे । यही विज्ञापन एयर कुरियर गर्दै माथि पठाउने र छापिइसकेपछि बिलसहित पत्रिका लिएर पैसा उठाउन जाने चलन त्यतिबेला सबैको दैनिकीजस्तै थियो । जसले धेरै विज्ञापन उठाउन सक्यो त्यो संवाददातालाई पत्रिकाले मन पाथ्र्यो ।

एउटा घटना
पोखरामा नवप्रभात हाइस्कुल निकै नामी थियो । त्यहाँ बिहानीसत्रदेखि दिवासत्रसम्म पढाइ हुन्थ्यो । हेडसर हरि खनाल थिए । २०४४ सालको कुरा हो, क्षेत्रीय शिक्षा निर्देशक आनन्दलाल प्रधान र ती हेडसरबीच विद्यालयको विषयलाई लिएर झगडा परेछ । भनाभन भएछ । तँ, तँ, मँ, मँ गरेछन् । यो थाहा पाएर त्यति बेलाका पत्रिकामा समाचार आयो । ‘समाचार घटनाको विवरण हो, घटना स्वयं समाचार होइन’ भन्ने कुरा पत्रकारिताभित्र पर्दछ । ‘समाचारमा गाम्भीर्यता हुनुपर्छ रूखोपना होइन’ भन्ने मान्यता लन्डन टाइम्सले पनि राखेको छ । यसै मान्यताका आधारमा सबैभन्दा धेरै समाचार मैले लेखेछु । उत्साही भन्नेलाई बोलाऊ भनेर निर्देशकले भनेछन् । मेरो उपनाम त्यतिबेला उत्साही थियो । मलाई खबर आयो । क्षेत्रीय शिक्षा निर्देशनालय गएँ । नमस्कार सर भन्दै उनको कोठामा पसें । ‘तपाईं हो, पत्रकार उत्साही’ उनले सोधे । ‘हो, मै हुँ’ मैले ढुक्कले जवाफ दिएँ ।

उनी छिनछिनमा चुरोट र चिया खाइरहन्थे । उनको टेबुलमा चियाको गिलास थियो, तैपनि चिया मगाए, सँगै चिया खायौं । ‘कति पढ्नुुभा छ ?’ ‘बीएड, अब एमएड भर्ना हुने हो’ मैले भनें । उनी कुरा गर्दा बेला बेलामा लामो डकार निकाल्थे । अहिले पनि डकार निकाल्दै भने ‘हैन, एमए पढ्दै गरे हुन्छ । हामीकहाँ माविनि (माध्यमिक विद्यालय निरीक्षक) खुल्छ, जाँच दिएर माविनिमा आउँदा राम्रो हुन्छ । अफिसर पद हो, अस्थायी भए पनि ग्रेड पाइन्छ,’ पत्रकारिता बेकार किन गर्नुहुन्छ ? अधिकृत हुन छोडेर ?’

त्यतिबेला म टुँडिखेलस्थित प्रेम गुरुङको घर डेरा गरी बस्थें । अर्को कोठामा कृष्णप्रसाद लम्साल (अवकाश प्राप्त सहसचिव, नेपाल सरकार) बस्थे । उनी सिँचाइमा नासु थिए त्यति बेला । मैले आज निर्देशकले यसो भन्यो भन्दा उनले ‘तिम्रो मन चोरेको होला, माविनि त्यति सजिलो ठानेका छौं ?’ भने । नभन्दै अर्को साता क्षेशिनिले विज्ञापन गरेछ । २ पदमा ७ जना उम्मेदवार । परीक्षामा मसहित ईश्वरबन्धु गौतम (सम्प्रति अवकाश प्राप्त अधिकृत) पास भएको सूचना पाटीमा नाम निस्क्यो ।

गौतमलाई कास्की र मलाई म्याग्दी पठाउने भनियो, म मानिनँ । ‘म कास्की बस्न नपाउने कारण के डाइरेक्टर साब ?’, मैले सोधें । ‘मलाई बाध्यता छ,’ उनले भने । ‘भैगो मलाई तपाईको जागिर खानु छैन । म पत्रकारिता नै गर्छु, एमएड पढछु’ भनेर हिंडे । केही समयपछि मलाई उनले बोलाए । ‘कास्कीमा वीरेन्द्रकुमार सिंह जिशिअ छन्, तपार्इं खरो मान्छे, अस्थायी पनि । उनी तपाईंभन्दा पनि खरा छन् । तपाईंलाई काम गर्न असजिलो पर्छ’ भने । ‘ मैले जिशिअलाई पहिल्यै चिनेकोे थिएँ । उनको भनाइमा सत्यता थियो ।

निष्पक्ष, स्वतन्त्र र दल निरपेक्ष पत्रकारिताको अपेक्षा मृगमरिचिका बनेको बेला सरकारका राम्रा कामको प्रशंसा र खराब कामको आलोचना गर्दै प्रतिपक्षीको भूमिका निर्वाह गर्ने काम धेरै परको विषय हुन्छ होला

फेरि मैले भनें, ‘हैन सर, म उहाँसँग मिलेर काम गर्न सक्छु ।’ ‘त्यसो भए जानुस् उनलाई भेटेर मलाई फोन गर्न भन्नुस् र तपाईं नै चाहिन्छ भन्न लगाउनुस्’ भने । म गएँ र यही कुरा गरे । उनी रिसाए । ‘सारा काम त्यो डाइरेक्टरले मलाई सोधेर ग¥या छ ? अहिले किन सोध्नुुपर्ने ? तपार्इं आउनुस्, स्वागत छ । म तपार्इंलाई चिन्छु । मेरा लागि पनि तपार्इं आउँदा राम्रै हुन्छ, तर त्यो निर्देशकसँग म फोन गरेर यसलाई पठा, उसलाई नपठा भन्दिनँ,’ उनले भने ।

खण्डनको परम्परा
यही कुरा लिएर म जिल्ला शिक्षा अधिकारी निवास बगरबाट निर्देशक निवास नयाँबजार गएँ । धेरैबेर कुरा भए । उनले ‘पहिला लेखेको समाचार पनि खण्डन गर्नुस् न है, मलाई माथिबाट के भएको भनेर सोधिरहेको छ’ भने । नभन्दै त्यतिबेला आजको झैं जसलाई जे लेखे पनि हुने चलन थिएन । पत्रिकामा आएका समाचार हेरेर उपल्लो निकायले मातहतका निकायलाई सोध्ने चलन थियो । स्पष्टीकरण पनि दिनुपथ्र्यो । कटिङ संकलन गरेर राख्ने, नथ्यी गरी पठाएर सोध्ने गर्दथे त्यतिबेला ।

मलाई त्यतिबेला समाचार तयार गर्दा ५ डब्लु र १ एच अर्थात् ‘के, को, किन, कहाँ, कहिले र कसरी’ भन्ने कुरालाई ख्याल गर्नुपर्छ’ भन्ने थाहा थियो । साथै समाचार लेख्नु छप्काइ हो, समाचारप्रति असहमति जनाइ आधारसहित खण्डन गर्न पाउनु छप्काएको घाउमा मलहम लगाउनुु हो, औषधि गर्नु हो । यसबाट वञ्चित गर्न हुँदैन भन्ने मान्यता थियो त्यतिबेला । अहिले झैं जंगे बोलेपछि बोल्यो, बोल्योको स्थिति त्यो बेला थिएन । मैले हुन्छको संकेत गरें ।

दिउँसो अफिस बोलाए । मलाई कास्की र गौतमलाई म्याग्दीका लागि माविनिमा नियुक्ति दिए । भाोलिपल्ट नियुक्ति लिएर म कास्की गएँ । उनै वीरेन्द्रकुमार सिंह सानो खालको घुम्ने कुर्चीमा थिए । अहिलेका कम्प्युटर अपरेटरको जस्तो गुणस्तरीय कुर्ची त्यो बेला उपसचिबको पनि हुँदैन्थ्यो । अफिसरभन्दा तल्लो पदका कर्मचारीलाई घुम्ने कुर्ची दिइँदैनथ्यो ।

एउटा पोर्टफोलियो कायम थियो त्यो बेला । उनले सानै भए पनि कुर्ची घुमाएर पत्र हेरे, बधाई भने । सँगसँगै चेतावनी पनि दिए । ‘माविनि चानेचुने पद होइन । मास्टरको निरीक्षण, अनुुगमन गर्नुपर्छ । कक्षा पनि हेर्नुुपर्छ । पत्रकारिता गरेजस्तो थर्काएर खान पाइँदैन थाहा छ होला नि ।’

पहिलो बसाइमै मेरो सातो लिए । मलाई सम्झना भो, ‘सक्छौ जागिर नखाऊ, सक्दैनौ खाऊ, झन्डाभित्र बस, दरबारभित्र नपस ।’ पत्रकारबाट नोकरशाही हुनुको पीडाबोध गर्न मलाई धेरैबेर लागेन । निर्देशकले भनेको पनि सम्झें । आखिर जागिर न प¥यो, हुन्छ सर भनें । यसप्रकार २०३६ देखि पत्रकारिता गरेको एउटा जल्दोबल्दो युवाको पत्रकारिताको अवसान ८ वर्षपछि २०४४ को मंसिरमा निजामतीमा गएर भएको थियो ।

आज पनि लाग्छ, सरकारलाई खबरदारी र प्रशंसा गर्ने तटस्थ पत्रकारिता कति सम्भव होला ?

तपाइको प्रतिक्रिया
(Visited 59 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सहमतीमा राष्ट्रपति छान्ने माओवादी निष्कर्ष

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
पोखरा महानगर मतगणना : समाजवादीका उम्मेदवारको मत ३ हजार बढी