काठमाडौं । प्रतिनिधिसभा नियमावली मस्यौदा गर्न २१ सदस्यीय समिति गठन भएको छ । नियमावली मस्यौदा समिति गठनसम्बन्धी प्रस्ताव मंगलबारको प्रतिनिधिसभा बैठकले सर्वसम्मत पारित गरेको हो ।
समितिमा प्रतिनिधिसभा सदस्यहरू अनिता देवी, अमरेशकुमार सिंह, गंगाधर चौधरी, चित्रबहादुर केसी, जीवन परियार, दिलेन्द्रप्रसाद बडू, नागिना यादव, प्रकाश ज्वाला, प्रदीप यादव, प्रेम सुवाल, महेश बर्तौला छन् ।
यसैगरी, रमेश लेखक, लीलानाथ श्रेष्ठ, विद्या भट्टराई, शक्ति बस्नेत, सर्वेन्द्रनाथ शुक्ल, सीता गुरुङ, सुवासचन्द्र नेम्बाङ, सोबिता गौतम, हितराज पाण्डे र ज्ञानबहादुर शाही समिति सदस्य तोकिएका छन् । मस्यौदा तयार गर्न १५ दिनको समय तोकिएको समितिलाई सभापति चयन अधिकार पनि दिइएको छ ।
नेपालको संविधानको धारा १०४ को उपधारा १ बमोजिम प्रतिनिधिसभाले आफ्नो कार्य सञ्चालन गर्न, बैठक सुव्यवस्था कायम गर्न र समिति गठन, कारबाही र प्रतिनिधिसभा समिति कार्यविधि नियमित गर्न र अन्य कार्यमा सहजता ल्याउन आवश्यक भएकाले मस्यौदा समिति गठन गरिएको छ ।