चापागाउँमा एकबिहानै माधवनारायणमा मग्न बालबालिका

चापागाउँ (ललितपुर) । अघिल्लाजस्तै यस वर्ष पनि गोदावरी नपा–११ चापागाउँका बालबालिका एकबिहानै भेला हुन्छन् । उनीहरू एकअर्कालाई सबेरै डाक्छन्, एकठाउँमा भेला हुन्छन् अनि पंक्ति बनाएर नगरपरिक्रमा गर्दै भजनकीर्तनतिर लाग्छन् ।

त्यसो त बालबालिका मात्र होइन, उनीहरूलाई माधवनारायणको महिमा र भजनकीर्तन सिकाउने स्थानीय अग्रज पनि सँगसँगै हिँड्छन् । न जाडोको पर्वाह न त निन्द्रा नपुगेको अनुभूति नै ।

माधवनारायण संरक्षण समितिको आयोजनामा बर्सेनि माधवनारायण भजन भन्दै हिँड्ने संस्कृति यस वर्ष पनि जारी छ । स्थानीय भाषामा यसलाई ‘माघ कराउने’ भनिन्छ । कोरोनाका कारण पहिलेभन्दा बिहान ‘माघ कराउन’ आउने बालबालिका संख्या घटेको समिति सचिव उमेशमेहेर कायस्थ बताउँछन् ।

चापागाँउकी उर्जाला कायस्थको बिहानी माधवनारायण भजनकीर्तन र नगरपरिक्रमामै बित्छ । बिहान नगरपरिक्रमाका क्रममा टोपी र जाडो थेग्ने ज्याकेट लगाएकी उनलाई बिहान ४ बजेदेखि नै निन्द्राले छोड्छ ।

‘बिहानैदेखि साथीहरूले शंख फुकेर बोलाउँछन्,’ उनी भन्छिन्, ‘हतारहतार भजनमा हिँड्छु, धेरै साथी हुन्छन्, रमाइलो हुन्छ ।’ सबैलाई शंख फुकेर डाक्ने महेश्वर गमालसँगै अन्य तीनजना सुदीप देशार, सागर गौतम र मुकेश गमालले करिब पाँच बजेपछि सबैलाई बोलाउन शंख फुक्ने गर्छन् ।

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म हुने श्रीस्वस्थानी व्रतका समय हुने माधवनारायण भजनकीर्तनमा स्थानीय बालबालिका सबेरै हिँड्ने गर्छन् । उनीहरू बिहान चन्द्रभैरव मन्दिरमा भेला भएर चापागाउँ नगरपरिक्रमा गर्दै डबलीनजिकको मूल गणेश मन्दिरअगाडि पुगेर समापन गर्छन् ।

बिहानी चिसो हावा अनि आकाशबाट बर्सिएको तुषारोमा पनि निकै रमाइलो मानेर बालबालिका भजनकीर्तनमा झुम्मिएका हुन्छन् ।

सबिना महर्जनलाई माधवनारायण भजनमा हिँड्न पाउँदा खुसी लागेको छ । ‘बिहान हिँड्दा रमाइलो हुन्छ, खुट्टा राम्रो हुन्छ,’ उनी भन्छिन्, ‘देउतालाई ढोग्न पाइन्छ, धर्म हुन्छ ।’

अर्की आस्था श्रेष्ठ बिहान हिँडेर भजनकीर्तन गर्न पाउनु निकै राम्रो ठान्छिन् । ‘पहिलोचोटी यसरी हिँड्दा नै रमाइलो भएको थियो,’ उनले भनिन्, ‘जाडो त हुन्छ तर भजन गाउँदै हिँड्दा शरीर तात्छ ।’

उनीजस्तै सुजल कायस्थलाई यो एक महिनाको अवधिमा घुम्न पाउँदा भजन सिक्ने, गाउने र तबला तथा हार्मोनियम सिक्ने अवसर मिलेको छ ।

माधवनारायण समितिको आयोजनामा परम्परादेखि नै बिहानी समय भजन गाउँदै हिँड्ने चलन रहेको समिति अध्यक्ष जोहनगोपाल कायस्थ बताउँछन् ।

‘म अहिले ५३ वर्षको भएँ, म सात वर्षको उमेरदेखि यसरी माधवनारायणको भजन गाउँदै प्रत्येक वर्ष हिँड्नेगरेको छु,’ उनले भने, ‘यो परम्परा हामीले जोगाउँदै लानुपर्छ ।’

यस परम्पराका जानकार एवं अग्रज गायक जगमोहन मेहेर कायस्थमा ८६ वर्ष पुगिसक्दा पनि बालबालिकालाई भजन गाउँदै नगरपरिक्रमा गराउने उत्साह अझै घटेको छैन । उनी अझै बालबालिकाकै तालमा फुर्तिलो भएर भजन गाउँदै हिँड्दै छन् ।

‘त्यो बेला एकछाक भोज खाने आशले हिँड्ने गरिएको यो चलन अहिले आएर बालबालिकाका अतिरिक्त क्रियाकलापजस्तै बनेको छ,’ उनी भन्छन्, ‘एकमहिने माधवनारायण तथा श्रीस्वस्थानी व्रतका बेला माघ कराउने एवं माधवनारायणको भजन गाउने र शंख फुक्नेमध्येबाट पहिलो, दोस्रो र तेस्रो स्थान निकाली पुरस्कृतसमेत गरिन्थ्यो ।’

नगरपरिक्रमाक्रममा बालबालिकालाई विभिन्न दाताले बिहानी नास्ता खुवाउने गरेका छन् । एकमहिने माधवनारायण भजनकीर्तनमा बालबालिकाको उत्साह नघटेको समाजसेवीसमेत रहेका जगमोहन मेहेर कायस्थ बताउँछन् ।

‘भगवानको नाम स्मरण गर्ने, तबला र हार्मोनियम बजाउने गर्दा बालबालिका खुसी हुन्छन्,’ उनले भने, ‘भगवानको पनि स्मरण हुन्छ, मनमा शान्ति मिल्छ ।’

समितिका अनुसार हालको वर्षमा करिब सय बालबालिकाले नियमित भजनकीर्तनसहित परिक्रमामा भाग लिएका छन् । चापागाउँ भैरवथानदेखि बज्रबाराही हुँदै बसपार्क तलको मूल गणेशमन्दिर प्रांगणसम्म परिक्रमा गर्ने चलन छ ।

बिहान बालबालिकाले शंख फुकेर आफ्ना साथी भेला पार्ने र भैरवथानबाट भजनकीर्तनसहितको टोली निस्कने गरेको माधवनारायण भजनमा हिँड्नेमध्येका उमेश कायस्थले जानकारी दिए ।

श्रीस्वस्थानी एकमहिने व्रतका बेला चापागाउँ आसपासका ठेचो, सुनाकोठी, लुभु, बुङ्मतीलगायतका स्थानमा बिहान माधवनारायणको भजनमा हिँड्नेगरेको मूलगणेशका पुजारी हरिमुकुन्दराज उपाध्याय सुनाउँछन् ।

गोदावरी नगरपालिकाले नगरभित्रका ठेचो, चापागाउँ, लेले र बाडेगाउँका लागि माधवनारायण भजनसहित बालबालिका भ्रमणका लागि डेढ लाख बजेट छुट्याएको छ ।

बालबालिकालाई विद्यालय जानुपर्ने भएकाले समितिले बिहान ८ बजेसम्म परिक्रमासहितको भजन कार्यक्रम सकाउने गरेको छ । शनिबार बिदाका दिन भने परिक्रमा लामो हुने गरेको छ ।

परिक्रमाक्रममा विभिन्न टोलका व्यक्ति तथा संस्थाले बालबालिकालाई चिया, बिस्कुट, हलुवा, पाउरोटी, स्वारी, मालपुवालगायत खुवाउने गरेका छन् ।

भजनमा सधैं आउने बालबालिकालाई पुरस्कार दिने प्रबन्धसमेत समितिले गरेको छ । माघ शुक्ल पूर्णिमाका दिनबाट परिक्रमा सकिए पनि माधवनारायण भजन समापन भने पूर्णिमापछिको शनिबार बृहत् भोज खुवाएर हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 52 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

अझै भेटिएनन् तीन महिला हत्याका अभियुक्त

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
गठबन्धनप्रति ओलीको नयाँ नयाँ आक्षेप