मजाक होइन आत्मदाह !

संघीय संसद् भवनकै अगाडि आत्मदाहको प्रयास गरेका इलामका प्रेमप्रसाद आचार्यको मृत्युले संसारभर बहादुरी प्रदर्शन गरेका वीर नेपालीको स्वाभिमानलाई लज्जित बनाएको छ । बाहिर हेर्दा उनको मृत्युको कारण उनी आफैंजस्तो देखिए पनि वर्तमान शासनसत्तामा रहेर लगातार असफलता व्यहोर्दै आएको राजनीतिक नेतृत्व यसको मुख्य कारण हो । आत्मदाह कायरपन हो, तर उनलाई आत्मदाह गर्न दुरुत्साहन गरिएको छ । जसले दुरुत्साहन गरेको छ, त्यो आपराधिक पक्ष हो र त्यो पक्ष कारबाहीको भागीदार बन्नुपर्छ ।

सिंगो राज्यसत्ताले नै उनको मृत्युलाई दुरूत्साहन गरिरहेको तथ्य उनले सामाजिक सञ्जालमा व्यक्त गरेका मार्मिक कथनबाट स्वयं स्पष्ट हुन्छ । आत्मदाहको प्रयासपश्चात् कीर्तिपुर अस्पतालमा उपचाररत आचार्यको निधन भएलगत्तै सारा नेपालीजनले यसको कारकका रूपमा सरकार र सिंगो राज्यसत्तातिर औंलो देखाइरहेका छन् । निकै आदर्शीकरण गरेर देशभर ‘गाउँगाउँमा सिंहदरबार’को नारा फलाक्दै हिँडेको संघीय संसद्को भवनअगाडि एउटा शिक्षित र सचेत नागरिकले आफू आर्थिक रूपमा निरीह बनेका कारण आफूले आत्मदाह गर्नुपरेको लिखित बयान र सुझावसहित दिउँसै शरीरमा आगो सल्काउनु कम गम्भीर कुरा होइन । देशका नीति निर्माता तथा सञ्चालकहरूको रजगज हुने गरेको अति संवेदनशील क्षेत्रभित्र आचार्यले आफूलाई आगो लगाई आफ्नो शरीर ८० प्रतिशत जलाइसकेका थिए । अति क्रिटिकल अवस्थामा रहेका उनको निधन आत्मदाह प्रयास गरेको २४ घण्टा नबित्दै हुनगयो । स्वाभिमान नेपालीहरूको यही दशा र दुर्गति हुँदैजाने त होइन भन्ने गम्भीर संकेत आचार्यको आत्मदाहले संकेत गरेको छ ।

देशको अवस्था ‘रोम जलिरहेको छ, निरो बाँसुरी बजाइरहेको छ’ जस्तो छ । देशमा नागरिक आत्मदाह गर्ने विकल्परहित अवस्थामा जबर्जस्त धकेलिइरहेका छन्, तर संसद् र सिंहदरबारमा बाँडीचुँडी भागबन्डाको ‘द्युतसभा’चलिरहेको छ । बिचौलिया र कमिसनखोरको ‘हाई–टी’, ‘डिनर’ र ‘सपर’ सम्पन्न हुन उछिनपाछिन भइरहेको छ । देशको आर्थिक अवस्था जरजर भइसकेको छ ।

डनवाद, धनवाद बिचौलियावाद हावी हुँदा मुलुकको शासनप्रणाली नै बदनाम हुँदैजान थालेको छ । यसले वर्तमान राजनीतिक प्रणालीको संस्थागत विकासमा गम्भीर धक्का लाग्ने निश्चित छ । घुम्ने मेचमाथि बसेर दृष्टिविहीन हुन पुगेका हाम्रा शासक प्रशाकहरूलाई यस्ता घट्नाले खासै मन छुँदैन । किनकि, सदाचारिता र नैतिकता बिर्र्सिएर उनीहरू पाखण्डी, भ्रष्ट बन्न थालेका छन् । बाहिर ठूलाठूला नैतिकताका कुरा गर्ने तर भित्र मज्जाले कुम्लाउने धन्दामा उनीहरू लिप्त छन् ।

आचार्यले जसरी आफ्नै शरीरमा आगो लगाए, त्यसलाई शासक प्रशासकहरूले सामान्य रूपमा लिने धृष्टता गर्नुहुँदैन । यो मुलुकका व्याप्त भ्रष्टाचार, कमिसनतन्त्र र विकृतिको उपज हो । नेपालमा दण्डहीनता यति धेरै मौलाएको छ कि, जसलाई जे गरेपनि छुट छ । नेता कर्मचारीहरूलाई जनताको काम गर्नुपर्दैन । कहाँ घुस र कमिसन खान पाइन्छ ? भनेर सेटिङ गरेर हिँड्दैमा उनीहरूलाई फुर्सद छैन । सेवा प्रवाहमा समेत घुस र कमिसन माग्ने कर्मचारीतन्त्र रहँदासम्म देशमा विकास र समृद्धि पूर्णरूपमा अवरुद्ध भइरहनेछ । कुशासनले देशका सबै अवयव थला परेका छन्, मक्किएका छन् ।

ऋण चुलिएको चुलियै छ । सहकारी र बैंकहरूको चक्रवृद्धि ब्याज थामिनसक्नुको छ । मिटरब्याजीहरू सिंहदरबारका आसेपासे र हितैसी बनिरहेका छन् । महँगीको पहाड ‘दिन दुईगुणा र रात चौगुणा’ अकासिइरहेको छ । दैनिक उपभोग्य सामान छोइसक्नु छैनन् । महँगीको समानुपातिकतामा कर्मचारीहरूको तलब बढेकोबढ्यै छ । तर, सर्वसाधारण भने दैनन्दिन ‘धोती न टोपी’हुँदैगइरहेका छन् । आयआर्जनका लागि कुनै स्रोत छैन । स्वरोजगारका उपाय र स्रोतहरू पनि छैनन् । वैदेशिक रोजगारीमा दलालहरूको साम्राज्य छ । सरकारका मन्त्री त्यही साम्राज्यका चक्रवर्ती सम्राट बनिरहेका छन् । उनीहरूका लागि अश्वमेध यज्ञ गर्न श्यामकर्ण घोडा आवश्यक परिरहेको छ । जनता उनीहरूद्वारा नै शासित र शोसित हुन बाध्य भइरहेका छन् ।

अब सरकारमा बसेकाहरूले खोक्रा आश्वासन दिएर, स्टाटस लेखेर वा संसद्मा बहकिएर गोहीका आँसु चुहाउनुको अर्थ छैन । ‘मरता क्या नही करता !’ आचार्यले त आत्मदाह मात्र गरे, यस्तै गाह्रो, साँगुरो र सास फेर्नसमेत अप्ठ्यारो हुँदैगइरहेको अवस्थामा सहजता आउन सकेन भने देशका नागरिक ‘आत्मदाह’ होइन, ‘आत्मघाती’ बनेर पड्कन बेर छैन । नेपालीका सहज मुस्कानमा करोडौं पीडादायी घाउ लुकेर चह¥याइरहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 263 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

भएको तुइन भत्काइएपछि स्थानीयलाई सास्ती

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
बालेन साह केशव स्थापित भन्दा २९४२ मतले अगाडी