राजनीतिक भागबन्डा र भद्रगोल मुलुक

यो मुलुकमा आवश्यकभन्दा धेरै राजनीतिक दल छन् । राजनीतिक शास्त्रको परिभाषाअन्तर्गत विश्व जगत्मा विशेष गरेर राजनीतिका चारवटा धार प्रचलनमा रहेका पाइन्छ । क्रमशः दक्षिणपन्थी, उग्र दक्षिणपन्थी, वामपन्थी, उग्र वामपन्थी सिद्धान्तका अनुयायीहरूलाई राजनीतिक शास्त्रको सिद्धान्तले चिन्छ । हाम्रो देशको सन्दर्भमा कुन राजनीतिक दलको सिद्धान्त के हो ? भन्ने कुरा ठम्याउन सकिँदैन । राजनीतिक सिद्धान्त, निष्ठा वा आदर्शले कुनैपनि राजनीतिक दलमा काम गरेको देखिँदैन । दलहरू सत्ता र भत्तामुखी भएका छन् । विशेष गरेर सत्तालाई भागबन्डा गर्ने र बाँडीचुँडी पद वितरण गर्ने संस्कृति जनआन्दोलन २०६२÷०६३ पछाडि उत्कर्षमा पुगेको देखिन्छ ।

देशको सबैभन्दा पुरानो राजनीतिक दल नेपाली काँग्रेसमा तीनवटा विभाजन छ । जसलाई देउवा खेमा, शेखर कोइराला खेमा र बीपी काँग्रेस भन्ने गरिन्छ । यिनीहरू नेपाली काँग्रेसको सिद्धान्तमा चलेका छैनन् । तीतो शब्दमा भन्दा यिनीहरू अवसरवादी भएका छन् । नेपाली काँग्रेसजस्तो लोकतान्त्रिक दल कहिले माओवादीसँग गाँसिएको देखिन्छ, त कहिले अन्य दलसँग । काँग्रेस नेतृत्वको पछिल्लो राजनीतिक अभ्यासले यो दल सिङ् न पुच्छरको जस्तो भएको जानकारहरू बताउँछन् । नेपाली काँग्रेसको सिद्धान्त बीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको अन्त्यसँगै समाप्त भएको भन्नेहरू पनि छन् ।

पछिल्लो समयमा उदय भएको दल माओवादीले कहिले रूखमा त कहिले सूर्यचिह्नमा मत माग्ने गरिरहेको छ

काँग्रेसभन्दा पछाडि जन्मिएको राजनीतिक दल कम्युनिस्ट पार्टी हो । कम्युनिस्टहरू वामपन्थी, उग्र वामपन्थी एवं नरम वामपन्थीका रूपमा टुट्ने, फुट्ने र जुट्ने गरेका देखिन्छ । विशेष गरेर कम्युनिस्टहरूले आपूmलाई माक्र्सवादी र लेलिनवादी भन्न मनपराउँछन् । अहिलेको एमाले पनि माक्र्सवादी र लेलिनवादीको एकीकृत रूप हो, क्यारे † पछिल्लो समयमा अर्को उग्र वामपन्थीका रूपमा माओवादी पार्टीको जन्म भयो । २०५२ सालपछाडि कम्युनिस्ट दलभित्रको उग्र वामपन्थी भनिएको माओवादी पार्टीले १० वर्ष मुलुकमा विध्वंश ग¥यो ।

२०६२ सालपछाडि शान्तिपूर्ण राजनीतिमा आएपछि यो दल वामपन्थी वा दक्षिणपन्थी के हो ? भन्नेमा नेपाली समाज द्विविधामा छ । राजनीतिक सिद्धान्तबिना नै टुट्ने, फुट्ने, चोइटिने र राजनीतिक फाइदा हुँदा फेरि जोडिने संस्कृति कम्युनिस्टहरूको नयाँ होइन । पुरानो राजनीतिक अभ्यास हो । पछिल्लो समयमा उदय भएको दल माओवादी पनि कहिले नेपाली काँग्रेसको चुनावी चिह्नमा मत माग्छ भने कहिले एमालेको सूर्यचिह्नमा । यसरी हेर्दा देशमा सिद्धान्तबिनाका राजनीतिक दलहरू हुनु र सत्तालाई मिलीजुली भागबन्डा गरी पदमा पुग्ने अभ्यासले देश भद्रगोल भएको छ । दिशाविहीन भएको छ ।

नेपालका कम्युनिस्टहरू वामपन्थी हुन् कि नरम वामपन्थी ? उग्रपन्थी हुन् कि दक्षिणपन्थी ? राजनीतिक विश्लेषकको शब्द सापटी लिँदा यिनीहरू अघोषित पुँजीवादी हुन् । राजनीतिक शास्त्रको ज्ञान भएकाहरूको तीखो टिप्पणीमा नेपालका राजनीतिक दलहरू अवसरवादी हुन् । सिद्धान्तविहीन भेला हुने दलहरू सत्तामा पालैपालो आरोहण गर्ने भएकाले हरेक क्षेत्रमा राजनीतिक भागबन्डा हुने गरेको छ । प्रधानमन्त्री र मन्त्रीहरूमा भागबन्डा, राजदूतमा भागबन्डा, संवैधानिक निकायमा भागबन्डा, न्यायालयहरूमा दलकै मान्छेहरूको बर्चस्व, विश्वविद्यालय, निर्वाचन आयोग, अख्तियार दुरूपयोग आयोगलगायतका ठाउँहरूमा योग्यता र क्षमतामा होइन, दलीय भागबन्डाकै आधारमा पदाधिकारीहरू नियुक्त हुने भएकाले हरेक क्षेत्रहरू तहसनहसको स्थितिमा छन् ।

राजनीतिक दाउपेच र भागबन्डा प्राप्त गर्ने अभिलाषाका कारण निर्वाचन प्रणाली पनि मिश्रित बनाइएको छ । यो निर्वाचन प्रणालीबाट हाम्रोजस्तो हरेक दलहरूमा बाँडिएको समाजमा एउटै दलको बहुमत आउन सक्दैन । यो कुरा जानीबुझीकन दलहरूले नीतिगत रूपमा नै मिलीजुली भागबन्डामा सहभागी हुने र सत्ताको चास्नीमा रमाइरहने प्रपञ्च गरे । राजनीतिलाई वागबन्डा गरी फाइदा उठाउने नियतका साथ नै यति सानो देशमा आर्थिक रूपमा थेग्न नै नसक्ने संघीयता लादेर आर्थिक भार थोपर्ने काम यिनै दलका आधा दर्जन शीर्ष भनिनेहरूले गरेका हुन् । संघीयताका ’boutमा सांसदहरू ताली बजाउने र पद पड्काउने काम गरे । तर, जनताले जनआन्दोलन पछाडि थाहा पाए ।

अहिले संघीय शासन पद्धतिले देशमा सकारात्मकभन्दा बढी विकृतिहरू जन्माएको छ । विकासको कुरा गर्दा संघीयता नभएका देशहरूमा पनि यथेष्ट विकास भएको छ । विसंगतिको कुरा गर्दा संघीय प्रणाली थप आर्थिक भार, भ्रष्टाचार, भागबन्डा, गाडी, घोडा, नातावाद, कृपावाद, फरियावाद आदिको अखडा बनेको छ । साच्चै देशमा सुशासन र विकास चाहने हो भने स्थानीय तहहरूलाई सक्षम र अधिकारसम्पन्न बनाएर संघीयताको भद्रगोल खेलबाट देशलाई मुक्त बनाउनु आवश्यक देखिन्छ । तर, अहिलेका ठूला राजनीतिक दलहरूले यसो गर्दैनन् । संघीयतालाई ठूलो राजनीतिक उपलब्धि ठानेका छन् ।

नेपाली समाजको चाहना र आवश्यकता सुशासन र विकास हो । यसका लागि विधिको शासन, कृषि क्षेत्रको आधुनिकीकरण, उद्योगीकरण, रोजगारीको सिर्जना, गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा, चुस्त, दुरुस्त एवं विकासमैत्री सार्वजनिक सेवा आवश्यक हुन्छ । उल्लिखित क्षेत्रहरू तहसनहस छन् । राजनीतिमा सिद्धान्तविहीन दलहरू दर्ता गर्ने र अनेक हतकण्डा अपनाएर केही सिट सुरक्षित गरी सरकारमा अंशबन्डा खोज्ने गरिएकाले देशले विकासको गति लिन सकेको छैन । राजनीतिक अस्थिरता बढेको छ । हालसम्म कुनैपनि सरकारले पूर्ण अवधि काम गर्न पाएको छैन ।

भागबन्डामा सहभागी राजनीतिक दलहरूमा आपसी द्वन्द्व, असझदारी एवं कटाक्ष व्यवहार भएता पनि सुविधा लिनेमा एकजुट हुनेगरेका छन्

यो मुलुकमा राष्ट्रपति, प्रधामन्त्री, सभामुखलगायतका ठाउँमा योग्यता र क्षमताका आधारमा होइन, कसलाई के पर्छ भन्ने भाडबन्डामा पदहरू वितरण हुनेगरेका छन् । यो राजनीतिक दललाई अमूक पदहरू र मन्त्रालयहरू परे भन्ने समाचारका हेडलाइनहरू बन्ने गर्छन् । जनताको म्यान्डेटनुसार सरकारहरू बन्दैनन् । प्रजातान्त्रिक मूल्य मान्यताले काम गर्दैनन् । बरू राजनीतिक दलहरूमा एकले अर्कालाई निस्तेज गर्ने, बदला लिने, दुस्मनी साँध्ने आदि अत्यन्तै निम्नस्तरका काम हुँदैआएका छन् । यसपटकको सरकार पनि कुनै राजनीतिक सिद्धान्त नमिल्ने दलको खिचडी सरकार बनेको छ । यो देश विकास गर्ने सही मार्ग होइन । बिहानीले दिउँसोको संकेत गर्छ भनेझैं अहिलेको सरकार निर्माणको प्रक्रियाले शुभ संकेत गरेको देखिँदैन ।

देशमा तीब्र राजनीतिक परिवर्तन भयो । सात दशकमा सातवटा संविधान बने । संविधान निर्माणमा मात्र दलले अर्बौं खर्च गरे । संविधानसभाबाट बनेको नेपालको संविधान २०७२ ले राज्यको पुनर्संरचना गरी तीन तहको सरकारको मोडेल बनायो । ७ सय ६१ वटा सरकार बनाइयो । स्थानीय तहलाई जनताको घरदैलोमा सेवा गर्ने सिंहदरबार भनियो । ७५ वटा जिल्लालाई बढाएर ७७ वटा पु¥याइयो । स्थानीय, प्रदेश र संघीय सरकारको निर्वाचन दुईदुई पटकसम्म भयो । तर, विडम्बना † यी सबै राजनीतिक परिवर्तन देश विकास र जनताको समृद्घिका लागि उपयोग हुन सकेनन् । प्रजातन्त्रले व्यवस्थाले बहुदलको जन्म दियो । यी दलले जनतालाई आ–आप्mनो कित्तामा विभाजन गरे । र केही जनमत लिएपछि सत्तामा जान तँछाड मछाड गरे । अथवा भागबन्डा खोजे ।

राजनीति समाजसेवासँग जोडिन्छ । जोडिनुपर्छ । विशेष गरेर नयाँ दलमा समाजमा कुनैपनि हैसियत नभएकाहरू पनि दलका नाममा निर्वाचित भएका छन् । चुनाव चिह्नहरूलाई माध्यम बनाएर सांसद भएका छन् । नागरिक शिक्षाको स्तर अत्यन्त कमजोर भएको नेपाली समाज चेतनामा होइन, उत्तेजनामा बहकिन्छ । यस्तो सामाजिक चरित्रले धेरै दलको जन्म भएको हो । फलतः आज राजनीतिलाई भागबन्डा गरेर पदहरू वितरण गर्ने काममा जनताको पनि हात छ । रित्तो भाँडो बढी बज्छ भनेझंै चटके राजनीतिकर्मीका क्रियाकलापले वौद्धिकहरूलाई दिक्दार बनाएको छ । सर्वसाधारणलाई अलमलमा पारेको छ ।

भागबन्डामा सहभागी राजनीतिक दलहरूमा आपसी द्वन्द्व, असझदारी एवं कटाक्ष व्यवहार भएता पनि सुविधा लिनेमा एकजुट हुनेगरेका छन् । स्वतन्त्र बुद्घिजीवी तथा राजनीतिक विश्लेषकहरूले सरकारको प्रशंसा गर्ने ठाउँ पाएका छैनन् । सत्तामा पुग्ने व्यक्तिहरूमा शासकीय क्षमता र देश विकासको मार्गचित्र स्पष्ट देखिँदैन । देशका संयन्त्रहरूलाई सञ्चालन गर्ने प्रशासनिक नेतृत्व क्षमता देखिँदैन । सत्ताको ग्यालेरीमा ठीक र बेठीकको आधारमा निर्णयहरू लिनसक्ने विवेकको खडेरी छ ।

अन्त्यमा भत्किएको घरको बिग्रिएको चाला भनेझैं जताततै लथालिंग, भताभुंगको भएको देशलाई अहिलेको सरकारले सही दिशामा अगाडि बढाओस् । मियोबिनाको दाइँजस्तो भएको अवस्थालाई अभिभावकत्व दिन सकोस् । राजनीतिलाई भागबन्डा होइन, देश विकासको संयन्त्रका रूपमा उपयोग गरोस् । नागरिकहरूले अमूक दल र नामका नेताभन्दा पनि देश र जनताका लागि काम गर्न सक्ने सफल प्रधानमन्त्री चाहेका छन् । सरकार चाहेका छन् । यो जनचाहाना पूरा गरोस् ।

तपाइको प्रतिक्रिया
(Visited 107 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री दाहाल असमझदारी हटाउन ओली निवासमा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
कैलालीमा एमाले–विप्लव गठबन्धन गृहकार्य