काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को टोलीबीच महोत्सव तयारीका सम्बन्धमा छलफल भएको छ ।
निफ–२०२३ आगामी २ देखि ६ चैत (मार्च १६–२०) सम्म आयोजना हुने घोषणा भइसकेको छ । निफ–२०२३ लाई सफल पार्न महानगरले सक्दो सहयोग गर्ने मेयर साहले प्रतिबद्धता जनाएको भेटघाटमा सहभागी निफका अध्यक्ष केपी पाठकले बताए ।
अध्यक्ष पाठकले निफ–२०२३ को हालसम्मको तयारी र महोत्सवको मोडेलका सम्बन्धमा मेयर साहलाई जानकारी गराएका थिए । अध्यक्ष पाठकका अनुसार मेयर साहले क्षमताले भ्याएसम्म निफ–२०२३ लाई महानगरपालिकाका तर्फबाट पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
त्यसैगरी, प्रमुख सल्लाहकार निर शाहले पनि मेयर साहलाई निफको महत्व बुझाएका थिए । कलाकार संघकी वरिष्ठ उपाध्यक्ष रेजिना उप्रेतीले निफ–२०२३ को आयोजनामा महानगरको हातेमालो आवश्यक रहेको बताइन् ।
भेटघाटमा निफ–२०२३ का संयोजक यादव भट्टरार्ई, निर्देशक तथा निफ–२०२३ का पीआर प्रमुख ऋषि लामिछाने, अभिनेत्री सरिता गिरीलगायतको सहभागिता रहेको थियो ।
निफ–२०२३ मा दर्जनबढी रचनात्मक कार्यक्रम (गोष्ठी, अन्तक्र्रिया) समेत आयोजना गरिने आयोजक समितिले जनाएको छ ।