प्यूठान । प्यूठान ‘लक डाउन’ जस्तै भएको छ । कोरोना भाइरसको संक्रमणबाट बच्न अत्यावश्यकबाहेक सबै सेवा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पन्थले जानकारी दिए ।
अत्यावश्यकबाहेकका सबै व्यापारिक केन्द्र बन्द भएका छन् । प्यूठान उद्योग वाणिज्य संघले चैत्र १७ गतेसम्म बजार क्षेत्र बन्द गर्ने विज्ञप्ति निकालेपछि सबै बजार बन्द छन् ।
जिल्ला भित्रका छोटा दुरीका सवारी फाट्ट फुट्ट मात्र संचालन छन् । स्थानीय प्रशासन तथा स्थानीय सरकारहरुले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आव्हान गरेसँगै मानिसको आवतजावत पनि न्यून छ । जिल्ला बाहिरबाट र अन्य मुलुकबाट आएकाहरुलाई घरमै सुरक्षितसँग बस्न अपिल गरिएको छ ।
कोरोना संक्रमणबाट सचेत रहन स्थानीय सरकार, सरकारी कार्यालयका कर्मचारी, वडा स्तरसम्मका जनप्रतिनिधि, कर्मचारी, गैससमा कार्यरत कर्मचारीलगायत सचेतना मुलक कार्यक्रम गर्न परिचालन गरिएको छ ।
रोल्पा र प्यूठान भित्रने सरुमारनी गाउँपालिकाको दरभानमा जिल्ला स्तरीय डेल्प डेक्स स्थापना गरिएको छ । त्यहाँ यात्रुहरुको सामान्य स्वास्थ्य परिक्षण गर्ने व्यवस्था मिलाइएको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले जानकारी दिए ।
विपद् प्रतिकार्यका लागि स्थानीय तहहरुले कोष स्थापना गरेका छन् । प्यूठान नगरपालिकाले १० लाखको राख्ने निर्णय गरेको छ ।






