काठमाडौं । सेयर लगानीकर्ताका संघसंघठनले सेयर धितो कर्जाको सीमालाई फिर्ता लिन सुझाव दिएका छन् । नेपाल इन्भेस्टर फोरम, सेयर लगानीकर्ता संघ नेपाल र नेपाल पुँजी बजार लगानीकर्ता संघले संयुक्त रूपमा नेपाल राष्ट्र बैंकलाई चारबुँदे सुझाव दिएका हुन् ।
उनीहरूले अर्धवार्षिक मौद्रिक समीक्षामा १२ करोडसम्मको सेयर कर्जाको सीमाले सेयरबजारलाई निरुत्साहित गरेकाले सो व्यवस्था फिर्ता लिन अनुरोध गरेका हुन् । उनीहरूले आर्थिक वर्ष २०७९÷८० को असार एक गतेदेखि सेयर कर्जामा लगाइएको १ सय ५० प्रतिशतको जोखिम भारित औसतलाई १०० प्रतिशत नै कायम गरिदिन अनुरोध गरेका छन् ।
त्यस्तै, विद्यमान ब्याजदर उच्च हुन गई लगानी निरुत्साहित हुन गएकाले सो ब्याजदरमा पुनरावलोकन गरी एकल अंकमा कायम गरिदिनसमेत अनुरोध गरेका छन् ।
तरलता समस्याले देशको अर्थतन्त्रमा नकारात्मक अवस्था सिर्जना हुन गएकाले सो समस्याको तत्काल समाधान गर्ने व्यवस्था गरिदिनसमेत अनुरोधसहित सुझाव दिएका हुन् । सेयर बजार अधिकतम ३२ सय अंकमाथि पुगेर हाल २ हजार ९० मा झरेको भन्दै उनीहरूले बजार सुधारका लागि यस्तो सुझाव दिएका हुन् ।
सेयर बजारको बजार पुँजीकरण करिब ४५ खर्बभन्दा माथि पुगिसकेको अवस्थामा हाल ३० खर्बमा झरेको भन्दै उनीहरूले दुःख व्यक्त गरेका छन् । उनीहरूले वर्तमान समयमा पुँजी बजारलाई तत्काल पुनरुत्थानका लागि नेपाल राष्ट्र बैंकलाई यस्तो सुझाव दिएका हुन् ।