सिन्धुलीमा अत्यावश्यक सेवा बाहेक सबै बन्द



सिन्धुली । विश्वभर माहामारीको रुप लिईरहेको कोरोना भाईरस (कोभिड–१९) प्रतिकार्यका लागि सिन्धुली ‘सेमी लक डाउन’ गरिएको छ । चैत ११ गतेदेखि अत्यावश्यक सेवा बाहेकका सबै सेवा तथा व्यवसायहरु बन्द गर्ने निर्णय गरिएको हो ।

कमलामाई नगरपालिकाको संयोजनमा सोमबार सिन्धुलीमाढीमा बसेको सर्वपक्षिय बैठकले सिन्धुलीका अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द गरेको हो । पहिलो चरणमा चैत २१ गतेसम्मका लागि उक्त सेवा बन्द गरिएको हो ।

बैठकले अत्यावश्यक बाहेकका सबै ब्यापार ब्यवसायहरु बन्द गरेको र अवज्ञा गरेमा कारवाहि गरिने निर्णय गरेको कमलामाई नगरपालिकाले जनाएको छ । लक डाउनका अवस्थामा साना र नीजि सवारी साधान जिल्ला भित्रमात्र चल्न पाउने छन । ठूला सवारी साधनले जिल्ला भित्र समेत चल्न पाउने छैनन । खाद्यान्न, ग्याँस, औषधिहरु ढुवानीका सवारी साधनहरु, एम्बुलेन्स, वारुणयन्त्र, सुरक्षाकर्मी, दुधजन्य पदार्थ बोक्ने सवारी लगायतका अत्यावश्यक सवारी सुचारु हुने छन ।

यस अवस्थामा जिल्ला भित्र पनि बसहरु बन्द हुने छन । व्यवसायमा औषधि पसल, खाद्यान्न तथा ग्याँस पसल, पेट्रोलपम्म, डेरी उद्योगहरु बाहेक सबै बन्द हुने छन । होटल व्यवसाय अत्यावश्यक सेवा भए पनि बैठकले उक्त सेवा भने बन्द गरेको छ । यस्तै सिन्धुलीमा मासु व्यवसाय गर्न समेत रोक लगाइएको छ । सिन्धुली भित्रकै तरकारी विक्रीका लागि अनुमति दिईने छ । बाहिर जिल्लाबाट तरकारी आयात गर्न समेत पाईने छैन ।

यातायातका साधानहरु, सरकारी कार्यालयहरु, व्यापार व्यवसाय सबै बन्द हुँदा होटल सञ्चालन नहुने र बन्दको घोषणा नगर्दा बाहिरबाट आउने नागरिक राख्न दवाव हुने भएकाले होटल व्यवसायी संघकै अनुरोधमा होटल बन्द गरिएको हो ।
बैठकले कमलामाई नगर क्षेत्र भित्र आउने पाहुनालाई आतिथ्यता दिने घर भित्र नै अनिवार्य रुपमा बस्नु पर्ने बाहिर हिडडुल गर्न नपाउने गरि निशेध गरेको छ । बाहिर हिडडुल गरेमा पाहुना र पाहुना राख्ने घरलाई क्वारेन्टाईनमा राखिने छ ।
क्वारेन्टाईनका लागि उपयुक्त होटलहरुलाई क्वारेन्टाइन सेन्टर वनाउन अनुरोधका साथै पहल गरिने भएको छ । यस्तै नगरपालिका क्षेत्रका स्वास्थ्य चौकीहरुमा हेल्थ हेल्प डेस्क स्थापना गर्ने निर्णय गरेको छ । स्वास्थकर्मीहरुका लागी अत्यावश्यक पोशाक पिपिई शिघ्र र छिटो प्रक्रियाबाट प्राप्त गर्न पहल गर्ने निर्णय गरिएको छ ।

नगर स्तरीय कार्यदल

बैठकले कोरोना संक्रमणको व्यवस्थापनका लागि नगरस्तरीय कार्यदल गठन गरेको छ । कमलामाई नगरपालिकाका मेयर खड्ग खत्रीको संयोजकत्वमा कार्यदल निर्माण गरेको हो ।

कार्यदलमा जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि, सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रलाद पोखरेल, वर्द बहादुर गण सिन्धुली, जिल्ला प्रहरी कार्यालय सिन्धुली, शसस्त्र प्रहरी वल सिन्धुली, नेपाल पत्रकार महासंघ, नेपाल रेडक्रस सोसाईटी, सिन्धुली उद्योग बाणिज्य संघ, होटल व्यवसायी संघ, नेकपाका प्रतिनिधि, नेपाली कांग्रेसका प्रतिनिधि सदस्य रहने गरि कार्यदल निर्माण गरिएको छ । कार्यदलको सदस्य सचिवको काम कमलामाई नगरपालिका स्वास्थ्य शाखाका संयोजकले गर्नेछन ।

घरभित्रै बस्न अनुरोध
कमलामाई नगरपालिका, स्थानीय प्रशासन, प्रहरी, स्वास्थ्यकर्मीले सिन्धुलीका नागरिकलाई घरभित्रै बस्न र अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन अनुरोध गरेको छ । कोरोनाको संक्रमण हुन नदिनु पहिलो उपाय भएको भन्दै घरभित्रै रहन आग्रह गरेको हो । साबुनपानी तथा स्यानिटाईजरले हात धुने तथा सरसफाई रहन अनुरोध गर्दै सूचना जारी गरेको छ । साथै माईकिङ मार्फत समेत सचेत गराएको छ ।

व्यवसाय बन्द गर्न उवासंघको अनुरोध

यस्तै सिन्धुली उद्योग वाणिज्य संघ सिन्धुलीले चैत ११ देखि २१ गतेसम्म अत्यावश्यक बाहेक सबै व्यापार व्यवसाय बन्द गरेर सरकारलाई सहयोग गर्न अपिल गरेको छ । नगरपालिकाले लक डाउनको निर्णय गरेपछि संघले सूचना जारी गरेको हो ।
संघले अत्यावश्यक सामग्रीको कृतिम अभाव नगराउन समेत व्यवसायीहरुलाई आग्रह गरेको छ । यस्तै नेपाल सरकार र स्थानीय सरकारले निशेध गरेका क्रियाकलाप सञ्चालन नगर्न पनि संघले अनुरोध गरेको छ ।

संघले खाद्यान्न, ग्याँस, सरसफाई सामग्रीहरु, मास्क, सेनिटाईजर लगाएतका सामग्री अभाव नगर्न समेत संघले आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 485 times, 1 visits today)

epaper

ताजा समाचार

सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु