सुदूरपश्चिम सरकार अप्ठेरोमा

टीकापुर । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिन आह्वान गरिएको प्रदेशसभाको बैठक अन्तिम समयमा स्थगित गरिएको छ । प्रदेशसभा बैठक सारिएकामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विरोध जनाएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफूहरूसँग सल्लाह नै नगरी बुधबार आह्वान गरिएको बैठक मुख्यमन्त्रीको इसारामा सभामुख भीमबहादुर भण्डारीले सारेको भन्दै विरोध जनाएको हो ।

अन्तिम समयमा प्रदेशसभा बैठक स्थगित, आज विश्वासको मत लिनैपर्ने

कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले सत्तारूढ दलले सर्वदलीय बैठकको निर्णयलाई लत्याउँदै सभामुखले संसदीय मर्यादाविपरीत काम गरेको बताए । सर्वदलीय बैठकबाट २ घण्टाका लागि बैठक पछि सार्ने निर्णय भएको थियो । सत्तारूढ दलले आफ्नो कुर्सी बचाउन मनलाग्दी गरेको आरोप कांग्रेसले लगाएको छ ।

नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने भएपछि बैठक स्थगित गरेर बिहीबार १ बजेका लागि बोलाइएको छ । बैठक एक दिन पछि सार्ने सुनिएपछि आफूले सभामुखलाई फोन गरेर नसार्न सचेतसमेत गराएको बताउँदै नेता शाहले मुख्यमन्त्री रावलले विश्वासको मत पाउने निश्चित नभएपछि उनकै आग्रहमा बैठक स्थगित गरेको आरोप लगाए ।

प्रदेशसभामा नेकपा एमाले संसदीय दलका नेता रावल गत २७ पुसमा नेपालको संविधान २०७२ को धारा १६८(२) बमोजिम सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । अब उनले बिहीबार बस्ने बैठकमा विश्वासको मत लिनेछन् । एमालेसहित नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा उनी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्थानुसार रावलले आज (बिहीबार) विश्वासको मत लिनैपर्नेहुन्छ ।

५३ सदस्यीय प्रदेशसभामा कुनै पनि दलको एकल बहुमत छैन । मुख्यमन्त्रीलाई बहुमतसिद्ध गर्न २७ मत आवश्यक पर्छ ।

सत्ता गठबन्धनमा निर्णायक शक्तिका रूपमा देखिएको नागरिक उन्मुक्ति पार्टी विश्वासको मत नदिने अडानमा छ । सो पार्टीले टीकापुर घटनाका बन्दी रिहाइको माग गर्दै आएको छ ।

प्रदेशसभामा सत्ता पक्षीय नेकपा एमालेका १०, माओवादी केन्द्रका सभामुखबाहेक १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाका एकजना प्रदेशसभा सदस्य छन् । प्रतिपक्षी दल नेपाली कांग्रेसका १९, नेकपा (एकीकृत समाजवादी) का चार र एक स्वतन्त्र प्रदेशसभा सदस्य छन् ।

तपाइको प्रतिक्रिया
(Visited 226 times, 1 visits today)

epaper

ताजा समाचार

१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य नबनाउन काँग्रेसको अपिल