‘जनयुद्ध दिवस’मा दिएको बिदाप्रति सत्तारूढ दल नै असन्तुष्ट

काठमाडौं । सरकारले १ फागुनमा ‘जनयुद्ध दिवस’को बिदा दिएकोमा सत्तारूढ घटक राष्ट्रिय प्रजातन्त्र पार्टीले असन्तुष्टि जनाएको छ ।

सरकारले दिएको सो बिदाको विरोधस्वरूप आइतबारको मन्त्रिपरिषद् बैठकमा राप्रपाका मन्त्रीहरू सहभागी भएनन् । राप्रपाबाट उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देन, सहरी विकासमन्त्री विक्रम पाण्डे, कानुन न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र ऊर्जा राज्यमन्त्री दीपकबहादुर सिंह मन्त्रिपरिषद्मा छन् । आइतबार ‘जनयुद्ध दिवस’सम्बन्धी बिदा दिने निर्णय गर्दा राप्रपाका ती सबै मन्त्रीहरूले मन्त्रिपरिषद् बैठक नै बहिष्कार गरेका हुन् ।

आइतबारको मन्त्रिपरिषद् बैठकले ‘जनयुद्ध’को अवसरमा बिदा दिने निर्णय गरेको थियो । १ फागुन २०५२ मा तत्कालीन नेकपा माओवादीले पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा हिंसात्मक आन्दोलन सुरु गरेको थियो । सोही दिनको सम्झनामा प्रचण्ड नेतृत्वको सरकारले बिदा दिएको हो । तर, माओवादीले भने सोही दिनलाई ‘जनयुद्ध’को सुरुवात भएको दिनका रूपमा लिँदै आएको छ ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले कुनै राजनीतिक दलको अगुवाइमा भएको हिंसात्मक द्वन्द्वलाई उत्सवका रूपमा मनाउनु दुर्भाग्य र विडम्बनापूर्ण भएको बताए ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले सरकारले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेकोमा आपत्ति जनाएका छन् ।

२०४७ सालको संविधान र राज्यविरुद्ध माओवादीले हिंसात्मक विद्रोह सुरु गरेको दिनको सम्झनामा १ फागुनलाई सार्वजनिक बिदा दिने सरकारको निर्णय आपत्तिजनक रहेको उनको टिप्पणी छ ।

‘हजारौं निर्दोषको ज्यान लिने माओवादी आतंक र हिंसा राष्ट्रिय पर्व हुन सक्दैन । राजावादी र हिन्दूराष्ट्रको वकालत गर्ने पार्टीसमेतको सहभागितामा यस्तो निर्णय हुनु निर्लज्जताको पाराकाष्टा हो । राजा र हिन्दूराष्ट्र पक्षधर पार्टी कुन मुखले सरकारमा बसिरहेको छ ?,’ उनले प्रश्न गरे ।

प्रधानमन्त्रीको बोलीको टुंगो भएन
सार्वजनिक बिदा कम गर्ने भनेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाँच दिनअघि गरेको आफ्नै कुराको व्यवहारतः खण्डन गरेका छन् ।

२४ गते मंगलबार सिंहदरबारमा बसेको प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डले सेवाप्रवाहमा समस्या भएको र सरकारी काम प्रभावित भएको भन्दै सार्वजनिक बिदा कटौती गर्ने धारणा राखेका थिए । प्रधानमन्त्री प्रचण्डले सरकारी बिदा धेरै भएका कारण नागरिकका काम गर्ने समय कम भएको र सेवाप्रवाहमा समस्या देखिएकाले पुनर्विचार गर्न आवश्यक रहेको बताएका थिए ।

तर, आइतबार मात्रै १ फागुनमा जनयुद्ध दिवसको दिन बिदा दिने निर्णय गरेर आफ्नै बोलीलाई प्रधानमन्त्री प्रचण्डले झुट साबित गरेका हुन् । यो वर्षका लागि सरकारले शनिबारबाहेक ४३ वटा सार्वजनिक बिदा दिएको छ । तर, बीचबीचमा मन्त्रिपरिषद्को बैठकले अरू थुप्रै पर्व, दिवस र शोकमा सार्वजनिक बिदा दिने निर्णय गरिरहेको छ । पोखरामा यति एअरलाइन्सको प्लेन दुर्घटना हुँदा पनि सरकारले शोक बिदा दिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 160 times, 1 visits today)

epaper

ताजा समाचार

बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना