काठमाडौं । चलचित्र ‘के घर के डेरा’ को छायांकन अनिश्चित कालका लागि रोकिएको यसका निर्देशक सुब्रतराज आचार्यले बताएका छन् । यो चलचित्रको चैतको दोस्रो साताबाट छायांकनको तयारी हुँदै थियो ।
विश्वभरि फैलिएको कोरोना भाइरसको उच्च जोखिममा नेपाल रहेको बेला सरकारले फिल्मका सम्पूर्ण गतिविधि रोक्न आह्वान गरेपछि आफूहरूले छायांकनको तयारी नै स्थागित गरेको निर्देशक आचार्यले बताएका छन् । अब कोरोनाको अवस्था सामान्य भएपछि मात्र आफूहरूले चलचित्रको छायांकन सुरु गर्ने पनि निर्देशक आचार्यले बताए, ‘आफू पनि बचौं र अरूलाई पनि बचाऔ’ं भन्दै हामीले फिल्म छायांकन सारेका हौं । यतिबेला हामी सम्पूर्ण दर्शक तथा आम नेपालीलाई सुरक्षित रहन अपिल गर्दछौं ।’
यो चलचित्रमा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, लुनिभा तुलाधर, रवीन्द्र झा, आर्सिना भट्टराईलगायत कलाकारको अभिनय रहेको छ । चलचित्र ‘के घर के डेरा’मा राजिव श्रेष्ठ, किरण महर्जन, ताक्पा तामाङ (सिंगे लामा) निर्माताका रूपमा छन् । यो चलचित्रलाई दीर्घवीर गुरुङले खिच्दै छन् । मित्र डी गुरुङको सम्पादन, शंकर थापा ‘स्माइल’को संगीत, गम्भीर विष्टको कोरियोग्राफी यसमा रहनेछ ।