स्व.गोतामे पुरस्कारको ‘स्वर्ण पदक’ धनुषाकी झालाई प्रदान

वीरगन्ज । वीरगन्जका अग्रज पत्रकार स्वर्गीय गोपालचन्द्र गोतामेको स्मृतिमा १२ बर्ष अगाडी स्थापना भएको पुरस्कारबाट यो बर्ष धनुषाकी पत्रकार मनिका झा सम्मानित भएकी छन् । गोतामे पत्रकारिता पुरस्कारबाट सम्मानित हुने झा पहिलो महिला पत्रकार पनि हुन् । अन्नपूर्ण पोष्टको मधेस प्रदेश ब्यूरो प्रमुख रहेकी झालाई एक तोलाको ‘स्वर्ण पदक’ सहित सम्मान गरिएको हो ।

‘गोपालचन्द्र गौतम प्रतिष्ठान वीरगन्ज’ले संचार क्षेत्रबाट पत्रकारिता पेशाको मर्यादा बचाई सामाजिक उत्तरदायित्व बहन गर्दै आएका पत्रकारहरु मध्येबाट हरेक बर्ष एक जनालाई छनौट गरी सम्मान गर्दै आएको छ । सुरुमा यो पुरस्कारको राशी ५ हजारबाट सुरु गरिएको थियो । अक्षयकोषको राशीमा जसरी–जसरी बढोत्तरी हुँदै गएको छ सोही अनुसार पुरस्कारको तक्मा राशी पनि बढाउँदै लगिएको प्रतिष्ठानले जनाएको छ ।

२०६८ सालबाट सुरु गरिएको यो पुरस्कार गएका पाँचबर्षबाट सुनको तक्मातर्फ परिणत भएको प्रतिष्ठानका अध्यक्ष पर्साका अग्रज पत्रकार जगदीश शर्माले बताए । यो बर्ष पनि गोपालचन्द्र गौतम प्रतिष्ठानलाई वीरगन्ज महानगरपालिकाले १० लाख सहयोग गर्ने मंगलबार महानगर प्रमुख राजेशमान सिंहले कार्यक्रम स्थलमा नै घोषणा गरे ।

२०४६ सालमा दिवंगत भएका वीरगन्जका पहिलो पुस्ताका पत्रकार समेत रहेका स्व.गोतामेले पञ्चायती शासन व्यवस्थामा पनि राज्यसत्ताको पर्वाह नगरी तेजिलो कलम चलाउने गरेको उनलाई नजिकबाट चिन्ने वीरगन्जका ज्येष्ठ नागरिकहरु बताउँछन् । उनको लेखनशैली प्रगतिशिल पत्रकारिता रहेको र समाजलाई उज्यालो किरणको झिल्को देखाउने रहेको उनीहरुको तर्क छ । वर्तमान अवस्थामा सत्यतथ्य र समाचारको पुष्ट्याईमा कमी देखिएको परिवेशमा सामाजिक उत्तरदायित्वमा उनले चालेको कदम अनुसारको पत्रकारिता झन अपरिहार्य रहेको वीरगन्ज महानगरपालिकाका महानगरप्रमुख राजेशमान सिंह श्रेष्ठले पनि बताए । पत्रकार गोतामेले सिमान्त शहर वीरगन्जमा बसेर पनि मातृभूमि पत्रिकामा नियमित लेख्ने गरेको उनकी धर्मपत्नी सुधा गौतमले खुलासा गरिन् ।

गतबर्ष सप्तरीका अग्रज पत्रकार बैजनाथ झालाई प्रदान गरिएको पुरस्कार त्यसअघि पनि सप्तरीकै भोलाकुमार पासवान, पाल्पाका मेघराज शर्मा, झापाका केशव आचार्य, कन्चनपुरका चित्राङ्ग थापा लगायतले पाइसकेका छन् । उनीहरुसहित अहिलेसम्म ११ जना पत्रकारहरु सम्मानित भइसकेको प्रतिष्ठानले जनाएको छ । मंगलबार भएको कार्यक्रम प्रतिष्ठानका अध्यक्ष जगदीश शर्माको अध्यक्षतामा भएको थियो । सम्मान कार्याक्रममा वीरगन्जका मेयर राजेशमान सिंह, पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, प्रतिष्ठानका उपाध्यक्ष वरिष्ठ पत्रकार चन्द्र किशोर, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुबोध गुप्ता, प्रतिष्ठानका कोषाध्यक्ष शत्रधुन नेपाल, स्वर्गीय पत्रकार गौतमका श्रीमती सुधा गौतम, सुपुत्र हिमालचन्द्र गौतम, पत्रकार महेश दास, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी लगायतको सहभागिता थियो ।

तपाइको प्रतिक्रिया
(Visited 256 times, 1 visits today)

epaper

ताजा समाचार

‘सेकुवा बाई किलो’ को ब्रान्ड एम्बेसडरमा क्रिकेटर लोकेश बम