काठमाडौं । नेपालमै पहिलो पटक भक्तपुर नगरपालिकाले शुक्रबारदेखि अन्तरनगर पुरुष खो खो प्रतियोगिता गर्ने भएको छ । प्रतियोगिता फागुन ५ गतेदेखि ९ गतेसम्म हुने भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बताए ।
प्रतियोगिताका लागि प्रमुख सुनिल प्रजापतिको संयोजकत्वमा १३५ सदस्यीय मूल समिति र ११ वटा उपसमितिहरू गठन गरिएको छ ।
स्थानीय शहीद स्मृति खेल मैदानमा हुने प्रतियोगितामा कम्तिमा १४ ओटा नगरले सहभागिता जनाउने नगरपालिकाले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको थियो । नेपाल खो खो संघ, भक्तपुर जिल्ला खो खो संघबाट मान्यता प्राप्त खो खो प्रतियोगिताका लागि दर्ता गर्ने समय बाँकी नै रहेको बताइएको छ ।
खो खो खेलको प्रतियोगितामा यस अगाडि नगद पुरस्कारको व्यवस्था कहिल्यै नभएको र भक्तपुर नगरपालिकाले प्रतियोगितामा प्रथम हुने टीमलाई १ लाख ५० हजार, दोस्रो हुनेलाई १ लाख र तेस्रो हुनेलाई ५० हजार नगद पुरस्कारको व्यवस्था गरेकोे छ । साथै प्रत्येक खेलमा सहभागी नगरपालिकाहरूलाई ५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था पनि गरिएको छ ।
नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले प्रत्येक वर्ष अन्तर नगर खेलकुद प्रतियोगिता गर्दै आइरहेकोमा पहिलो वर्ष भलिबल, दोस्रो वर्ष कराँते, तेस्रो वर्ष एथ्लेटिक्स र चौथो वर्ष बुद्धिचाल प्रतियोगिता सफलताका साथ सम्पन्न भइसकेको बताए । यो वर्ष अन्तरनगर खो खो प्रतियोगिता हुन लागेको हो ।






