‘चेन अफ कमान्ड’ र नेपाली बानी

गत १ माघमा पोखराको सेती नदी खोँचमा भएको यती एयर विमान दुर्घटना पाइलटको ‘कमान्ड’ परिवर्तनका कारण हुन गएको दुर्घटना जाँच आयोगले रिपोर्ट दिएपछि यसले नेपाली बानी र अनुशासनलाई गम्भीर रूपमा सतहमा ल्याइदिएको छ । हरेक कुरा ‘चेन अफ कमान्ड’मा चलिरहेका हुन्छन् । चेन अफ कमान्डमा चलिरहेका काम कुरालाई तलमाथि गर्नु गम्भीर गल्ती हुन जाने पाठ यस दुर्घटनाले सिकाएको छ ।

सरकारद्वारा गठित विमान दुर्घटना जाँच आयोगले बुधबार यस गम्भीर शिक्षालाई उसको आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरेपछि यसले जनमानसका मनमस्तिष्कमा भूकम्प ल्याइदिएको छ । वास्तवमा पोखराको यती विमान दुर्घटना एक ‘ब्रेन स्टोर्मिङ’ दुर्घटना हो । चेन अफ कमान्डको अदलीबदलीले सेकेन्डभरमै जीवनलाई मरण र मरणलाई जीवनको सीमासम्म पु¥याइदिन सक्छ । चेन अफ कमान्ड भनेको सम्बन्धित क्षेत्रको निकै संवेदनशील आन्तरिक कुरा हो । यो आन्तरिक जीवन र जीवनपद्धतिसँग अभिन्न रूपमा जोडिएको हुन्छ । जाँच आयोगको रिपोर्टअनुसार पोखरामा भएको सो विमान दुर्घटना कमान्ड अदलीबदलीका कारण मात्र १४ सेकेन्डभित्र घट्न गएको देखाउनुले पनि यसको अतिसंवेदनशील भूमिकाको बोध हुन्छ ।

दुर्घटनाको परिवेश तथा ‘फ्लाइट डेटा रेकर्डर’ र ‘ककपिट भ्वाइस रेकर्डर’को डेटाको विश्लेषणको सहारामा जाँच आयोगले दिएको रिपोर्टअनुसार विमानमा अवतरणअघि नै खतराको संकेत मिलिसकेको देखाएको छ । विमान अवतरणका क्रममा रहेका बेलामा मुख्य मानिने ‘ल्यान्डिङ गियर’ सामान्य अवस्थामा रहेको र स्वाभाविक रूपमा खुलेको रिपोर्ट आफैं बोलेको छ । को–पाइलट अञ्जु खतिवडाले पाइलट तथा प्रशिक्षक कमल केसीसँग बारम्बार सुझाव मागिरहेकी र केसीले पनि सुझाव दिइरहेका भए पनि विमानमा अस्वाभाविक हलचल देखिन थालेपछि बल्ल प्रशिक्षक पाइलट केसीले कमान्ड आफ्नो हातमा लिएको रिपोर्ट बताउँछ । धावनमार्गको नजिकै पुगिसकेको विमानमा थप गडबडी देखिएको र विमानका दुवै इन्जिनका ‘प्रोपेलरहरू’ फेदरमा पुगिसकेको अवस्थामा विमानले स्वाभाविक गति लिन नसक्ने भएकाले विमान सेती नदीको खोँचमा दुर्घटनाग्रस्त हुन पुगेको देखिन्छ । यसमा कमान्ड कन्ट्रोल एकै हातमा नहुँदा वा चेन अफ कमान्डमा देखिएको गडबडीका कारण यो सबै हुन गएको निष्कर्षमा पुग्नु केटाकेटीपन हुँदैन । यसमा मानवीय कमजोरीले पनि काम गरिरहेको छ भने यान्त्रिक कमजोरीले पनि ठूलो भूमिका निर्वाह गरेको छ ।

नेपालीहरूमा महत्वाकांक्षा तथा उदार बानी एकसाथ देखापर्ने गर्छ । यो हामीहरूको बारम्बार दोहरिएर देखापर्ने बानी पनि हो । विमान दुर्घटनाको प्रारम्भिक संकेत नेपालको राजनीतिक मामलामा पनि ठ्याक्क लागू हुन आउँछ । यहाँ महत्वाकांक्षा तथा उदारताले वा आग्रह र पूर्वाग्रहले काम गरिरहेको देखिन्छ । चेन अफ कमान्ड कहीँ र कतै पनि लागू भएको देखिँदैन । संघीयता कार्यान्वयनका क्रममा सम्पन्न दोस्रो आवधिक निर्वाचनपश्चात् जनताको जनादेशनुसार प्राप्त नेपालको राजनीति चेन अफ कमान्डमा पनि यही महत्वाकांक्षा र उदारताले काम गर्न पुगेको छ । यो कुरा जनता तथा मतदाताले पनि रुचाएका छैनन् । राजनीतिक खेलका नाममा देश र जनताको टाउकामाथि मनपरि उफ्रन र कुद्न कसैलाई पनि छुट छैन । चेन अफ कमान्ड यदि कसैका लागि पनि ग्राह्य छैन भने नेपालमा पनि नेताहरूको अतिमहत्वाकांक्षी मानवीय कमजोरीका कारणले राज्यसत्तारूपी संयन्त्रलाई यस्तै हालतमा पु¥याउन बेर छैन । त्यसैले, सबै क्षेत्रमा गम्भीरताका साथ ‘चेन अफ कमान्ड’ कायम गर !

तपाइको प्रतिक्रिया
(Visited 309 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको निर्णयले तनावमा प्रधानमन्त्री दाहाल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीमा हार स्वीकारेर घर पुगेका उम्मेदवार ३ मतले विजयी भएपछि...