काठमाडौं । बैंक तथा वित्तीय संस्थाले कायम राखेको चर्को ब्याजदरविरुद्ध व्यवसायी फेरि सडक संघर्षमा उत्रिएका छन् । उद्योगी व्यवसायीका विभिन्न संगठन शुक्रबार काठमाडौंको सडकमा फेरि चर्को बैंक ब्याजदरविरुद्ध यस्तो सडक संघर्ष तथा प्रदर्शनमा उत्रिएका हुन् ।
शुक्रबार उद्योगी व्यवसायीका विभिन्न नौवटा महासंघ र ३८ वटा संघले संयुक्त रूपमा सडक संघर्षका कार्यक्रम गरेका हुन् । व्यवसायीले हाल बैंकले बढाएको चर्को ब्याजदरविरुद्ध यसअघि धेरैपटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि अझै आफूहरूको माग सम्बोधन नभएको भन्दै बाध्यतावस आन्दोलनमा उत्रिनुपरेको बताएका छन् ।
उद्योगी व्यवसायीमा रहेको सिन्डिकेटको अन्त्य र बैंकको ज्यादतीविरुद्ध अहिले आफूहरू पुनः सडक आन्दोलन गर्न बाध्य भएको उनीहरूले बताए ।
माग सम्बोधन नभए थप सडक आन्दोलन गर्ने चेतावनी
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले उद्योगी व्यवसायीले सांसद, मन्त्री बनाइदिन माग नगरेको भन्दै बैंकहरूको चर्को ब्याजदरलगायत ऋण असुल्न गरिएको धरपकडको आतंकलाई बन्द गर्न र व्यवसायीलाई गरिखान दिन आवाज उठाइरहेको बताए ।
उनले देशका उद्योगी व्यवसायीको माग सम्बोधन हुन व्यवसायी आत्मदाह नै गर्नुपर्ने बाध्यात्मक परिस्थितिबाट बचाइदिन माग गरे । यसैगरी, नेपाल राष्ट्रिय व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष कुमार कार्कीले साना लगानीमा व्यवसाय गर्नेले स्वदेशमै गरिखान पाउनुपर्ने वातावरण बनाइदिन माग गरे ।
उनले व्यापारीले ८ प्रतिशतमा लिएको ब्याज १५ प्रतिशतसम्म पु¥याउँदासमेत सरकार चूप लागेर बस्नुपर्ने कुराको अन्त्य हुनुपर्ने बताए ।
अहिले बैंक र वित्तीय संस्था सामन्ती बनिरहेको आरोप लगाउँदै उनले सरकार यसरी मौन बस्न नहुने जिकिर गरे । यसैगरी, उनले सरकारले उद्योगमैत्री नियम कानुन ल्याउन आवश्यक रहेको बताए ।
पछिल्लो समय कोभिड महामारीलगायतका कारण नेपालका उद्योग धन्दा चल्न नसकेको अवस्थामा सरकारले व्यवसायीका कुनै पनि माग सम्बोधन नगरेको आरोप प्रदर्शनमा उत्रिएका व्यवसायीको छ ।
उनीहरूले अझै आफूहरूको माग सम्बोधन नभए अब बैंकहरूविरुद्ध थप सडक आन्दोलन गर्ने चेतावनी दिएका छन् । यसअघि पनि व्यवसायीले धेरैपटक काठमाडौंको माइतीघरमा सडक आन्दोलनका कार्यक्रम गरेका थिए ।
यसअघिका आन्दोलन स्थगित गर्नेक्रममा आफूहरूलाई सरकारले दिएको आश्वासन अझै पूरा नभएकाले अहिले पुनः यसरी सडक संघर्षमा उत्रिनुपरेको उनीहरूको भनाइ छ ।






