काठमाडौं । नेवाः पत्रकार राष्ट्रिय दबुले नेपाल टेलिभिजनमा नेपाल भाषाका माध्यमबाट पनि समाचार प्रसारण गर्नका लागि आवश्यक पहल गर्न सञ्चारमन्त्री रेखा शर्मा र नेपाल टेलिभिजनका महाप्रबन्धक फुलमान बललाई ध्यानाकर्षणपत्र बुझाएको छ ।
दबुका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठको नेतृत्वमा मन्त्री शर्मालाई बुझाइएको ध्यानाकर्षणमा मातृभाषा पत्रकारिताको विकास र विस्तारका लागि राज्यबाट थप सहुलियत, सुविधालाई नीतिगत रूपमा सम्बोधन गर्न सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रभावकारी भूमिका निर्वाह गर्न माग गरिएको छ ।
त्यस्तै, पहिलो मातृभाषी पत्रकार धर्मादित्य धर्माचार्यलाई राज्यस्तरबाट मान्यता दिनुपर्ने माग पनि मन्त्रीसमक्ष दबुले राखेको थियो ।
भेटमा अध्यक्ष श्रेष्ठले नेपालमा मातृभाषाबाट पत्रकारिताको सुरुवात भएको सय वर्ष पुग्ने तरखरमा रहेको बताउँदै नेपाल संवत् १०४५ अर्थात् १९८२ सालको बुद्धजयन्तीका दिन नेपालभाषाका माध्यमबाट पहिलो पत्रिका ‘बुद्ध धर्म’ प्रकाशित भएको मन्त्री शर्मालाई जानकारी गराउँदै पहिलो मातृभाषी पत्रकार धर्मादित्य धर्माचार्यलाई राज्यबाट मान्यता प्रदान गर्नुपर्ने माग गरेका थिए ।
नेवाः पत्रकार राष्ट्रिय दबुले नेपाल आदिवासी जनजाति पत्रकार महासंघको समन्वयमा धर्मादित्य धर्माचार्यको जन्मदिन बुद्धजयन्तीको अघिल्लो दिनलाई विगत सात वर्षदेखि मातृभाषा पत्रकारिता दिवसका रूपमा मनाउन थालेको पनि मन्त्रीलाई जानकारी गराएका थिए ।
दबुले नेपाल संवत् ११४४ अर्र्थात् आगामी २०८० साल कात्तिकदेखि अर्को वर्ष कात्तिकसम्म मातृभाषा पत्रकारिता शताब्दी महोत्सव मनाउने तयारी गरिरहेको पनि सो अवसरमा जानकारी गराइएको थियो ।
शतवार्षिकीका अवसरमा पहिलो मातृभाषाका पत्रकार धर्मादित्य धमाचार्य (जगतमान वैद्य) को जीवनी प्रकाशित गर्ने, उनको कृतित्व र व्यक्तित्व चर्चा, उनको सालिक राख्ने, हुलाक टिकट प्रकाशित गर्ने, मातृभाषाको पत्रकारिता’bout विभिन्न गोष्ठी, सभा, अन्तक्र्रिया कार्यक्रमहरू गर्ने योजना रहेको पनि बताइएको छ ।
यस्तै, समावेशी सञ्चार क्षेत्रको विषयमा सञ्चारकर्मीको दक्षता, क्षमता अभिवृद्धि, अभिमुखीकरण, युवावर्गलाई सञ्चार क्षेत्रमा आकर्षित गर्ने विषय पनि जोडिएको बताउँदै नेवाःलगायत आदिवासी जनजाति पत्रकारहरूको उत्पादन र पुनर्ताजगी तालिम सञ्चालन रहेको पनि मन्त्री शर्मालाई जानकारी गराइएको थियो ।






