५७ वर्षपछि हानको विधान संशोधन

काठमाडौं । होटल व्यवसायीहरूको छाता संगठन होटल एसोसिएसन अफ नेपाल (हान) स्थापनाको ५७ वर्षपछि बल्ल पहिलोपटक पूर्णरूपमा विद्यान संशोधन हुने भएको छ ।

हाल संशोधन हुन लागेको नयाँ विधानअनुसार अब हान कार्यसमितिमा पदाधिकारी हुन चाहने होटल व्यवसायीले कुनै पनि राजनीतिक दलको सदस्य हुन पाउनेछैनन् । हानका पदाधिकारी कुनै पनि दलको सदस्य हुन नपाउनेगरी विधान संशोधन गर्न लागिएको हान स्रोतले जनाएको छ ।

हान स्रोतका अनुसार अब हान कार्यसमितिमा पदाधिकारी हुन चाहने होटल व्यवसायीले कुनै पनि राजनीतिक दलको सदस्य हुन नपाउने नियम बहुमतले पारित गराउने तयारी भइरहेको छ ।

राजनीतिक दलका सदस्य, व्यवसायी हान पदाधिकारी हुन नपाउने

देशको वर्तमान संघीय संरचनाअनुसार हानलाई पनि अब सातवटै प्रदेश र तीनवटै तहमा लैजानेगरी विधान संशोधनको मस्यौदा तयार भइरहेको हान स्रोतले जनाएको छ । यसअघि आंशिक मात्र विधान संशोधन भएको थियो । संशोधित विधानको मस्यौदानुसार सातवटै प्रदेश र ७७ वटै जिल्लामा इकाइ गठन हुनेछन् । सात प्रदेशमध्ये अहिलेसम्म जम्मा दुईवटा प्रदेशमा मात्र व्यवसायी भेला एवं इकाइ समिति गठन भएको छ । अझै पाँचवटा क्षेत्रमा इकाइ गठनको काम हुन बाँकी नै छ । त्यसैले, आगामी तीन महिनाभित्र हानको साधारणसभा गर्ने भनिए पनि अझै सो समय अपुग हुनसक्ने हानका पदाधिकारीले बताए ।

उनीहरूका अनुसार हालसम्म हानको १७ ठाउँमा मात्र इकाइ गठन भएका छन् । मुलुक संघीयतामा गएपछिको संरचनाअनुसार सञ्चालन भएसँगै अधिकांश सामाजिक संस्था प्रदेश र जिल्लागत संरचनामा गइसकेको अवस्थामा हानले पनि विधान संशोधनसहित कार्यक्षेत्र बढाउन आफ्नो तयारी थालेको हो ।

हाल केन्द्रमा मात्र सीमित रहेको भन्दै बेलाबेलामा हानको आलोचना भइरहेको छ । अबको केही समयभित्र संघीय संरचनामा विस्तार गर्नेगरी विधान संशोधन गर्न हानका प्रथम उपाध्यक्ष विनायक शाहको संयोजकत्वमा समिति गठन गरिएको हान स्रोतले जनाएको छ ।

विधान संशोधन समितिमा हानका पूर्वअध्यक्ष योगेन्द्र शाक्य, कार्यसमिति सदस्य विनोदशंकर श्रेष्ठ, कानुन व्यवसायी गान्धी पण्डित र पूर्वकोषाध्यक्ष घनेन्द्रबहादुर श्रेष्ठ सदस्य छन् ।

यस समितिले तयार पारेको प्रारम्भिक मस्यौदानुसार अब हानमा राजनीतिक हस्तक्षेप निषेध गर्नका लागि पदाधिकारी बन्न चाहनेले कुनै पनि राजनीतिक दलको सदस्य हुन पाउनेछैनन् । यदि, कुनै पनि पदाधिकारी राजनीतिक दलको सदस्य भएको पुष्टि भए हान पदाधिकारी पद स्वतः खारेज गर्ने कडा व्यवस्था यस विधानमा समेटिएको छ ।

पछिल्लो समय अधिकांश संघसंस्थामा राजनीतिक हस्तक्षेप बढिरहेका बेला हानले भने विधान संशोधनमार्फत यस्तो कडा नीति ल्याउन लागेको हो । खासगरी पर्यटनसम्बद्ध संस्था नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा), ट्रेकिङ एजेन्सिज एसोसिएन अफ नेपाल (टान) र नेपाल पर्वतारोहण संघ (एनएमए) मा चरम राजनीतिक हस्तक्षेप बढिरहेका बेला हान पदाधिकारी बन्न कुनै पनि दलको सदस्यता लिएको हुन नहुने नीति विधानमै समावेश गरिएको हान विधान संशोधन समितिले जनाएको छ । तर, अहिले छलफल र सुझावका रूपमै रहेको यस संशोधित विधान साधारण सभाबाट पास हुन भने बाँकी नै रहेको छ ।

ती संस्थाका उम्मेदवार विभिन्न राजनीतिक दलको कार्यालयबाट तय हुने र उनीहरूले काम पनि दलको स्वार्थनुसार नै गर्ने भएकाले त्यसबाट मुक्ति दिलाउन विधान संशोधनको प्रक्रियामा रहेको विधान संशोधन समितिका एक सदस्यले जानकारी दिए ।

निजी क्षेत्रका तर्फबाट प्रतिनिधित्व हुनेगरी नेपाल पर्यटन बोर्डमा नियुक्त भएका सञ्चालक सदस्यहरूले समेत बोर्ड गठनको मर्मभन्दा राजनीतिक दलको स्वार्थनुसार काम गरिरहेका छन् भन्दै उनले विधान संशोधन समितिका सदस्यले जसरी पर्यटन बोर्ड भद्रगोल हुँदा पर्यटन क्षेत्रले दुःख पाइरहेको छ, त्यही अवस्था हानमा आउन नदिन अहिले व्यवसायीहरू नै सचेत भएर विधान संशोधन गर्न लागेको बताए ।

जसका लागि हानको गण्डकी र मधेस प्रदेशमा तदर्थ समिति गठन भइसकेको छ । संघीय संरचनामा लैजाने तयारीस्वरूप हानले केही समयअघि दुई प्रदेशमा इकाइ समिति गठन गरिसकेको जनाएको छ । बाँकी पाँच प्रदेशमा पनि इकाइ गठन गर्ने तयारी हानको छ । सातवटै प्रदेशमा इकाइ गठन भएपछि मात्र विधान संशोधनको प्रस्ताव आगामी साधारण सभामा लैजाने तयारी हानले गरेको छ ।

नयाँ संरचनाअनुसार जिल्ला अध्यक्षहरू स्वतः प्रदेश समितिको सदस्य हुनेछन् । यस्तै, प्रदेश अध्यक्षहरू केन्द्रको पदेन पदाधिकारी रहनेछन् । सम्बन्धित जिल्लाका सबै गतिविधि प्रदेशका संयोजकहरूकै मातहतमा हुनेछ भने केन्द्रले गर्ने गतिविधि पनि प्रदेश संयोजकमार्फत नै हुनेछ । केन्द्रीय निर्वाचनमा प्रतिनिधि छनोट कुन विधिबाट हुने भन्ने विषय भने टुंगो लागिसकेको छैन ।

वर्तमान हानको विद्यमान विधानअनुसार आगामी नयाँ पदाधिकारी चयनको जिम्मा अध्यक्षलाई छ । सुरुमा विभिन्न विधाका होटल तथा रिसोर्टबाट प्रतिनिधि चयन हुने र त्यही प्रतिनिधिले कार्यसमिति छनोट गर्नेछ । यसरी छानिएको कार्यसमितिले आगामी नयाँ नेतृत्व चयनका लागि अध्यक्षको टुंगो लगाउनेछ । पदाधिकारी चयनको सम्पूर्ण अधिकार अध्यक्षलाई दिइएको छ ।

यस विषयमा भने अहिलेको विधानमा उल्लेख भएका बुँदा संशोधन हुनेछैन । हाल पाँचतारे, चारतारे, तीनतारे, दुईतारे, एकतारे, पर्यटनस्तरीय तथा रिसोर्टका प्रतिनिधि दुई–दुई सदस्य साधारण सभामा सहभागी हुन पाउनेछन् । जिल्ला शाखा खोल्न पर्यटकस्तरीयमा २० देखि २५ होटल तथा रिसोर्ट सञ्चालन भएको हुनुपर्नेछ ।

यससँगै हान सदस्य बन्न पर्यटन विभागमा दर्ता भएका, सरकारले होटलका लागि तोकिएको मापदण्ड पूरा गरेका र कर कार्यालयमा दर्ता भएका होटल तथा रिसोर्ट मात्र योग्य हुनेछन् । ती होटल तथा रिसोर्ट जिल्ला, प्रदेश वा केन्द्रको सदस्य बन्न पाउनेछन् । जसका लागि निश्चित सेवा शुल्क बुझाउनुपर्नेछ । तर, त्यो शुल्क कति रहने भन्ने निर्णय पनि विधान मस्यौदा समितिले अहिलेसम्म यकीन गरिसकेको छैन ।

यो विधान पूर्ण रूपले व्यवसायीमाझ पारित गराउन आयोजना हुने हानको साधारण सभा आगामी तीन महिनाभित्रै सक्नेगरी तयारी भइरहेको हानले जनाएको छ । अहिलेसम्म मिति तय भइसकेको छैन । वर्तमान विधानअनुसार हालको कार्यसमितिको पदावधि सकिइसकेको छ ।

आगामी तीन महिनाभित्र साधारण सभा सम्पन्न गर्ने भनिए पनि अझै कोरोना महामारीको प्रभावबाट सिर्जित समस्या र आर्थिक मन्दी देखाउँदै साधारण सभाको यकीन मिति भने तय भइसकेको छैन । अब हुने साधारण सभाबाट नयाँ कार्यसमितिसमेत चयन हुनेछ । हानको वर्तमान विधानमा प्रथम उपाध्यक्ष नै अध्यक्ष हुने प्रावधान छ ।

तपाइको प्रतिक्रिया
(Visited 292 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

इलाममा गर्भवती विमलाको शव गाडिएको अवस्थामा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखराको मेयरमा धनराज आचार्य उपमेयरमा मञ्जुदेवी गुरुङ