दिनको संकेत बिहानीले गर्छ भने झैं पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बनेको सरकारले प्रारम्भिक दिनमा गर्ने कार्यले सरकारको आगामी कार्य कस्तो हुन्छ भन्ने सहजै अनुमान लगाउन सकिन्छ । तर, पनि सरकारको कामको खास मूल्यांकनका लागि सय दिनको समयलाई लिने गरिन्छ । वर्तमान सरकार गठन भएको सय दिन नपुगेकाले यस’bout विश्लेषण गर्न अलि हतार हुनेभए पनि सरकारका प्रारम्भिक काम हेर्दा चित्त बुझाउने ठाउँ छैन । भ्रष्टाचार र कुशासनको दुष्चक्रमा पर्दै आइरहेको हाम्रो देश नेपालमा अन्ततः ‘जुन जोगी आए पनि कानै चिरेको’ भन्ने उखानको चरितार्थ नहोस् भन्ने मनोकांक्षा नेपाली जनताको छ । अर्थात् सरकारले राम्रो काम गरोस्, जनताको दुःख सुख बुझेर जनमैत्री काम गरोस्, सबैखाले व्यक्तिगत र पार्टीगत स्वार्थ त्यागेर देश र जनताको सामूहिक स्वार्थ हेर्न सकोस्, भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्न सकोस् भन्ने आमजनचाहना छ ।
सिंहदरबार प्रवेश गरेपछि धेरै शासक आँखा नदेख्ने जस्ता हुने गरेका छन् । शक्ति र सत्ताको मातले जनताका तमाम खाले समस्या बिर्साइदिने लक्षण बोकेका हाम्रा नेताहरू सुध्रने लक्षण अझै पनि देखिएको छैन । हाम्रा दलका नेता तथा शासकको सबैभन्दा ठूलो बदमासी नै उनीहरू जे बोल्छन् त्यो गर्दैनन्, तर, जे गर्छन् त्यो बोल्दैनन् । यानेकी उनीहरूको बोलाइ र गराइमा ठीक उल्टोपन देखिन्छ । नेता र शासकले बोलेअनुसार व्यवहारमा उतार्ने हो भने त अहिलेसम्म देश पुरै भ्रष्टचारमुक्त भइसक्ने थियो । प्रधानमन्त्री र मन्त्री भएपछि उनीहरूको पहिलो प्रतिबद्धता नै मुलुकमा सुशासन कायम गर्छौं, प्रभावकारी कार्य गरेर जनताका तमाम समस्या समाधान गर्छौं भन्ने हुन्छ । तर, व्यवहार ठ्याक्कै उल्टो । मन्त्री भएर आएको केही दिनसम्म ठूलो सुशासनको गफ गर्नेहरू भित्र भित्रै नराम्ररी सड्ने गरेका छन् ।
विगतमा केही अपवाद छोडेर धेरै मन्त्रीहरू त्यस्तै गलत धन्दामा लागेका प्रसस्त उदाहरणहरू छन् । आशा गरांै वर्तमान सरकारका धेरै मन्त्रीबाट त्यस्ता नाटक हुने छैनन् र प्रधानमन्त्रीले पनि जो बोल्छन् त्यो व्यवहारमा देखाउने छन् । सरकार र मन्त्रीहरूले राम्रो कामको सुरुवात गर्न सकेको देखिँदैन । त्यसविपरीत पुरानै परम्पराअनुसारका कामहरू गर्न थालेका छन् । प्रधानमन्त्री र मन्त्रीका स्वकीय सचिवालय र सल्लाहकार टिमबाहेक राज्यका अन्य सबै निकायमा मानिसहरू राख्दा प्रतिस्पर्धाका आधारमा राखांै । ती सबै निकायमा लोकसेवा आयोगको नेतृत्वमा विज्ञको टोली गठन गरेर त्यही टोलीलाई छान्ने अधिकार दिनेगरी नयाँ कानुन बनाआंै ।
सरकार र सरकामा रहेकाले सधैं विधि पद्धतिको कुरा उठाउने गरेका छन् । उनीहरूले यदि साच्चै नै विधि र पद्धतिको कुरा उठाएका हुन् भने त्यसलाई व्यवहारमा चरितार्थ गर्न पनि हरेक निकायमा पदाधिकारी नियुक्त गर्दा स्वस्च्छ प्रतिस्पर्धाका आधारमा गर्ने प्रणालीको विकास गर्नुपर्छ । तर, वर्तमान सरकारले पनि विभिन्न ठाउँमा नियुक्ति गर्दा राम्रा मान्छेभन्दा पनि हाम्रा मान्छेलाई नै बढी प्राथमिकता दिइरहेको देखिन्छ । जुन गलत छ । सरकारले जनताको मनोविज्ञानअनुसार निष्पक्ष भएर काम गर्नुपर्छ ।






