भीभीआईपीको सवारीबाट जनता आतंकित

विकासशील देशमा विकसित देशको भन्दा ज्यादा अति विशिष्टको आवागमनमा सुरक्षा दस्ता आवश्यकताभन्दा बढी तैनाथ गर्ने गरिएको देखिन्छ । नेपालमै पनि यस प्रकारको सुरक्षा नाममा भद्दा प्रदर्शन गरिरहेको पाइन्छ । शिवरात्रिको दिन सम्माननीय राष्ट्रपतिलाई बेलुकीपख आराध्यदेव पशुपतिनाथको दर्शन र पूजा अर्चना गर्ने राजइच्छा जाहेर भएछ । बिहान एक बजेदेखि लाइनमा बसेर दर्शनका लागि निलाहार रहेका भक्तजनहरू दर्शनपश्चात् मात्र प्रसाद ग्रहण गर्ने सोचमा रहेका थिए । त्यही समय म्याडम राष्ट्रपतिको राजकीय सानका साथ सवारी चलाउँदा भोकभोकै लाइनमा बसेकाहरूको समस्यालाई थोरै मात्र पनि ध्यान दिएको देखिएन । राष्ट्रप्रमुखबाट आफूलाई दर्शन गर्न अवरोध सिर्जना भएको महसुस भक्तहरूले गर्न पुगे । राष्ट्रपतिको आगमनसँगै उनीविरुद्ध हुटिङ प्रारम्भ भयो । अधिकांश भक्तजनहरू सवारीको तडकभडक र लामो समयसम्म राष्ट्रपतिले पूजा अर्चनामा बिताउँदा धेरै आक्रोशित बनेका थिए । उनी फर्किँदा पनि हुटिङ भएको थियो ।

यसभन्दा केही दिन पहिले राष्ट्र प्रमुख संसदमा सवारी भइबक्सेको थियो । आफ्नो कर्तव्य निर्वाह गरी घर फर्कन लागेका एक चिकित्सक उहाँका सुरक्षाकर्मीको गर्विलो राम धुलाइमा पर्न पुगे । लामो समय बाटो पूर्णरूपमा अवरुद्ध गरेर सवारीका लागि मात्र उपयोग गरिँदा गम्भीररूपमा बिरामी भई अस्पताल हिंडेकाहरू कतिले कष्ट भोग्नुप¥यो । प्रसूती वेदनाले छटपटिएर अस्पताल पुग्न नसक्दाको पीडा नेपाली नागरिकले भोग्नुपरेको थियो । त्यसको लेखाजोखा गरिराख्नु हाम्रा शासकका दृष्टिमा आवश्यक भएन । तर, ठूलै आतंकवादी समूह सहर प्रवेश गरेकाले उनीहरूको तीव्र खोजिभइरहेको र जुनसुकै समय पनि धरपकड हुन सक्ने उच्च सतर्कतामा सुरक्षाकर्मीहरू रहेको प्रतीत हुन्थ्यो । जनता आतंकित थिए, लोकतन्त्रमा सार्वभौम नेपाली जनताहरू आफ्नै प्रतिनिधिद्वारा अपराधीको व्यवहार भइरहेको तीतो अनुभूति गर्न विवश थिए । जनताको मतबाट राष्ट्र प्रमुख बनेकी जनताकी छोरीलाई जनताले पाएको कष्टको थोरै मात्र पनि महसुस भएको अनुभूति गर्न सकिएन ।

चिकित्सक जनित लालले आफ्नो परिचयपत्रसहित कुरा राख्दै गर्दा सुरक्षा बन्दोबस्तमा खटिएकाहरू आफ्नो सुरक्षा गर्ने जिम्मेवारीमा कमजोरी देखिने संत्राशका कारण निम्नस्तरको प्रहरीबाट निर्घात कुटिए । प्रहरीलाई निलम्बित गरेर सरकार जनताप्रति जिम्मेवार देखिने प्रयास गरिरहेको छ तर प्रश्न उठेको छ के अब जनितलालको जस्तै पीडा अन्य नागरिकले भोग्नु नपर्ने अवस्था छ त ? आउँदा दिनमा यस्ता सवारीहरू हुँदा जनताले कम कष्ट पाउने वातावरण तयार पारेको छ त सरकारले ? यी कुनै पनि विषयको प्रत्याभूति नगरी प्रहरी जवानलाई निलम्बनको कारबाही गरेर समस्याको समाधान सम्भव छैन । आफ्ना हाकिमको आदेश इमानदारिताका साथ पालना गर्ने जवानमाथिको कारबाही कुनै पनि कोणबाट उपयुक्त हुन सक्दैन । यो पात्रभन्दा प्रवृत्तिको विषय हो । प्रवृत्तिमा सुधार नआउँदासम्म नागरिक यस्ता सवारीबाट प्रताडित मात्र बनिरहने छन् ।

आडम्बर र तामझामका साथ सवार हुँदा आफ्नो प्रतिष्ठा वृद्धि भएको अनुभूति गर्ने भीभीआईपीको सवारीबाट जनता आतंकित छन्

यस प्रकारको तामझाम नेपालीका छोराछोरीको सवारीमा आवश्यक हो वा होइन छलफलको विषय बन्नुपर्छ । यस विषयमा अन्तर्राष्ट्रिय स्तरमा भएका केही अवस्थाको उल्लेख गर्नु उपयुक्त हुनेछ । राष्ट्र प्रमुख वा भीभीआईपीले जनताको आस्थाको केन्द्रबिन्दुमा रहेर उनीहरूको मन मस्तिष्कदेखि नै आदर र सम्मान प्राप्त गर्नुपर्छ । आफ्ना प्रिय नेताको सुरक्षा जनताले नै गर्दछन् । थाइल्यान्डका वर्तमान राजाका पिताजी तत्कालीन राजा निक्कै जनप्रिय थिए । उनी सामान्य सुरक्षा लिएर जनताको दुःखसुख हेर्न पुग्दथे । जनताले आदर गर्दथे । थाई जनतासँग राजाका ’boutमा त्यस समय टीकाटिप्पणी गर्न सक्ने अवस्था थिएन । राजाको रक्षात्मक पंक्तिमा जनता उभिने अवस्था थियो । संयुक्त राज्य कि महारानी आफ्नो देशमा मात्र नभई कमनवेल्थ समूहका सबै देशमा सम्मान पाइरहेकी छन् । सबै जनताको साझा व्यक्तित्व बन्न सफल छिन् । नेपालमा जस्तो उच्च सुरक्षा सतर्कता उनका लागि जरूरी पर्दैन । लेडी डायनालाई उनका पतिले अर्कै केटीसँग प्रेम गरेर तिरस्कार गरे । व्यक्तिगत जीवन जोखिममा रहेको अवस्थामा उनलाई पत्रकारले प्रश्न गरेछन् । अब पनि तपार्इं देशको महारानी बन्नु हुन्छ कि बन्नु हुन्न ? उनले सहजतासाथ जवाफ दिइछन् म देशको महारानीभन्दा ज्यादा यस देशका सम्पूर्ण नागरिकको आत्मामा स्थान पाउने सबैको स्वीकार्य महारानी बन्नेछु ।

दक्षिण अफ्रिकाका रंगभेदविरुद्ध जेहाद छाडेर आन्दोलनको नेतृत्व लिँदै अश्वेतलाई अधिकार प्रदान गर्न सफल स्व. नेल्सन मन्डेलाले विश्वभर आफ्नो योगदानको कदर भइरहेको अवस्थामा पनि आफ्नो सवारीलाई तामझामका परिणत गरेनन् । हाम्रा पूर्व र वर्तमान राष्ट्रपतिहरू जस्तै छुट्टै ठूलो संख्याको सुरक्षाकर्मीहरू र सवारी साधनको पनि अपेक्षा गरेनन् । अवकाशको समयमा केही गाईको सेवा गरेर गाउँमा बसेका थिए । विश्वमै साम्राज्य कायम गरेका पश्चिमा श्वेतहरूलाई ठीक आकारमा राखेर आफ्ना देशका अश्वेतलाई लामो समयको आन्दोलनपश्चात् अधिकार सम्पन्न बनाउन सफल भएका मन्डेलाको भन्दा हाम्रा भीभीआईपीलाई बढी सुरक्षा दिनुपर्ने अवस्था हो त ? मन्डेलाभन्दा हाम्रा अति विशिष्टको जीवन बढी मूल्यवान् भएको हो ?

नेपाली अतिविशिष्ट बढी असुरक्षित भएका हुन त ? अध्ययनको विषय बनेको छ । यदि हुन भने यी सार्वजनिक पदाधिकारीले जनताको पक्षमा काम गरेका छैनन् । जनतालाई सुशासन प्रदान गर्ने शासकको सुरक्षा जनताले गर्दछन् । डेनमार्ककी प्रधानमन्त्री मेट्टे फ्रेडरिक्सन सन् २०१९ मा प्रधानमन्त्री बनिन् । उनी आफ्नो कार्यालयमा आवतजावत गर्दा साइकलको प्रयोग गर्न रुचि राख्छिन् । जनताको करको सदुपयोग गर्न तल्लीन हुँदै नेपाल जस्ता गरिब देशलाई सहयोग गरिरहेकी छन् । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनको निवासमा अनुसन्धानकर्ता जस्ता प्रवेश गरी खानतलासी लियो । केही शंकास्पद कागजातहरू फेला पारी नियन्त्रणमा लियो । राष्ट्रपतिले यस कदमको स्वागत गरे । जापानका तत्कालीन प्रधानमन्त्रीले उमेर र स्वास्थ्य अवस्थाका कारण पदीय दायित्व निर्वाह गर्न नसक्ने परिस्थिति भएकाले पदबाट राजीनामा मात्र दिएका होइनन्, जनतासमक्ष माफी पनि मागेका थिए ।

उनी अस्वस्थ हुँदा पनि जनतासँग झुक्नुपर्दो रहेछ, जनताका प्रतिनिधि हरूले, त्यसैले नागरिकको मन मस्तिष्कमा सम्मानित हुँदै स्वीकार्य हुन्छन् । यस्ता सरकार प्रमुख र राज्य प्रमुखलाई तामझामसहितको सुरक्षा जस्ताको उपयोग आफ्नो सुरक्षा लागि गर्नुपर्दैन । जनता प्रताडित हुने अवस्था रहँदैन । हाम्रो सन्दर्भमा आफ्नो सवारी हुँदा चिकित्सक घाइते बनेका छन्, जनताले दुःख पाएका छन्, यसमा दुःख व्यक्त गर्ने सुसभ्य सोच र सदासयतासम्म पनि नेपालकी राष्ट्रपतिमा देखिएन ।

नेपालमा रानाकाल र पञ्चायती शासनका निरपेक्ष राजाभन्दा पनि बढी महाराज र महारानी बन्ने सोख राष्ट्रपति, पूर्वराष्ट्रपतिलगायत अन्य विशिष्टमा देखियो । शोखको मात्र विषय रहेन हाम्रा राजनीतिक नेतृत्वमा रहनेहरूमा देश र जनताको पक्षमा काम गर्ने सोचको अभाव देखिएको छ । देश भ्रष्टाचारले आक्रान्त बनेको छ । महँगी अत्यन्त तीव्र गतिमा बढी रहेको छ । रोजगारीको अभावमा युवाहरू विदेश पलायन बन्न बाध्य भएका छन् । कानुनको समान प्रयोग हुन सकेको छैन । सार्वजनिक सेवा प्रवाहको अवस्था अत्यन्त नाजुक छ । नेतृत्व तह नातावाद र कृपावादमा अभ्यस्त छ । स्वार्थ संघर्षको अवस्थामा रमाइरहेका छन् । यो अपराधकर्म भएको सोचसम्म पनि नेतामा देखिएन ।

राष्ट्र प्रमुख जस्तो गौरवशाली पदमा आसीन हुनेहरू राजनीतिक दलको पृष्ठपोषण गरेर जनताका नजरमा आलोचित छन् । राजनीतिक अस्थिरताका कारण देशले सकारात्मक गति लिन सकेको छैन । वैदेशिक नीति अलपत्र छ । अति विशिष्ट स्तरमा रहनेहरू अनिच्छित शक्तिबाट परिचालित छन् । लघुताभाष पालेर मनोवैज्ञानिक सन्त्राशमा बाचेका छन् । वार्षिक १५ प्रतिशत पुँजीगत खर्च गरेर समुन्नतिको अलाप गरिरहेका छन् । साधारण खर्च अत्याधिक बढेकाले आर्थिक संकटको अवस्थाको संघारमा देश पुगेको छ । राष्ट्रिय स्वार्थका विषयमा मतैक्यता राजनीतिक दलबीच हुने गरेको देखिँदैन । राजनीतिक दलले अवलम्बन गरेको आदर्श, सिद्धान्त र आस्थाबाट प्रायः सबै दल विचलित भएका छन् । आफ्नो आफ्नो राजनीतिक आस्थामा दृढरहेका नागरिकले लोकतान्त्रिक शक्ति र साम्यवादी शक्तिबीच विभेद देख्न सकेका छैनन् ।

शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउन खासै चिन्तन मनन भएको देखिँदैन । यस परिस्थितिमा हाम्रा राजनीतिकर्मी कर्तव्यबाट च्युत हँुदै शासन र शक्तिमा रहिरहने आशक्तिका आधारमा राजनीति गरिरहेका छन् । यो अस्वस्थ अवस्थामा प्रताडित जनताबाट हाम्रा राजनीतिज्ञ जनताप्रति विश्वस्त हुन सकेका छैनन् । जनतामा निर्भर हुन नसक्नेहरू सत्ता र शक्तिमा पुगेपश्चात् उनीहरू जनताबाटै असुरक्षित महसुस गर्दछन् । जनतालाई नै आतंककारी देख्न पुग्छन् । यस अवस्थामा उनीहरू मानसिक सन्त्रसमा रहने नै भए । जनताले स्वागत गर्ने कार्यको सम्पादन गर्न असफल भएको आत्मबोध उनीहरूमा छ ।

त्यसैले उनीहरू आफ्ना सवारीका क्रममा जनतालाई प्रताडित गर्न पुग्दछन् । जनताका नेता जनताको सामुन्ने असहजरूपमा प्रस्तुत हुँदै सैन्य जस्ता परिचालन गर्दै आपूmलाई सुरक्षित राख्ने प्रयास गरिरहेका छन् । यो देश लोकतन्त्रको हदैसम्मको दिवालीयापन हो ।

भीभीआईपी सवारीका बखत जुनसुकै समय पनि धरपकड हुन सक्ने उच्च सतर्कतामा सुरक्षाकर्मीहरू खटिरहेको प्रतीत हुन्छ

नेपालका शासकमा जिज्ञासुरूपमा प्रस्तुत हुने इच्छा शक्तिको अभाव छ । पञ्चायती व्यवस्थाको अवसानपश्चात् तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई आफ्नो कमीकमजोरीको अनुभूति भएछ । आजीवन लोकतान्त्रिक आन्दोलनमा होमिएका लोकतन्त्रका सिपाही गिरिजाबाबुले आफूमा शासकीय अनुभवको कमिरहेको अनुभूति भएछ । तत्कालीन राजा स्व. वीरेन्द्रसँग हामीमा शासकीय अनुभवको कमी छ । त्यसैले सरकारबाट मार्गदर्शन हुनुपर्ने बिन्ती गर्नुभएको थियो ।

तत्कालीन प्रधानमन्त्री किसुनजीमा आफ्ना छिमेकी समकक्षीहरूसँग पदीय गरिमाको संरक्षण गर्नसक्ने क्षमता थियो । किसुनजी, सुशीलजी र मनमोहनले भ्रष्टाचारमा लिप्त भएको कहिले सुन्नुपरेन । के उनीहरूको यस प्रकारको सच्चरित्रताको स्मरण गर्दा हाम्रा वर्तमान समयका शासकलाई आत्मग्लानी वा गौरव के महसुस हुन्छ होला ? आफ्ना नेताले देखाएको मार्गलाई अनुकरण गर्न किन असफल भएका छन् ? गम्भीर विषय बनेको छ । यस्ता नेताले आफ्नो सवारीमा जनतालाई प्रताडित गर्नेबाहेक अन्य विकल्प’bout सोच्न सक्ने अवस्था रहँदैन । नेपालको अवस्था यही हो । यसैबाट अभ्यस्त ठूला सार्वजनिक पदाधिकारीको अब हुने सवारीमा धेरै जनितलाल प्रताडित बन्ने छन् ।

नेपालमा राष्ट्र प्रमुखको निर्वाचन हुँदै छ । छिमेकी देशबाट राष्ट्रपतिको मनोनयन हुने क्रम जारी छ । यो समाचार सम्प्रेषण हँुदै गर्दा हाम्रो राष्ट्रपति निर्वाचनको उपादेयता’bout सचेत नागरिकबीच विश्लेषण हुने क्रम जारी छ । समग्रमा भन्नु पर्दा हाम्रा भीभीआईपी जनताका नजरमा स्वीकार्य हुनसकेका छैनन् । निर्वाचनमा प्राविधिक प्रक्रिया पूरा गरेर जिम्मेवारीमा पुगेका छन् । विशिष्ट पात्र जनताका नजरमा उनीहरूकै क्रियाकलापका कारण आलोचित छन् । त्यसैले उनीहरू जनतासँग त्रसित छन् । जनतालाई दुःख दिँदै आवागमनलाई निरन्तरता दिइरहेका छन् । यसका साथै आडम्बर र तामझामका साथ सवार हुँदा आफ्नो प्रतिष्ठा वृद्धि भएको अनुभूति गर्दछन् । तसर्थ सवारीबाट जनता कम प्रभावित हुनेगरी सम्पन्न गर्न विभिन्न देशका अभ्यासबाट समेत पाठ सिकी सवारी चलाउने समग्र ढाँचामै पुनरावलोकन गर्नुपर्ने अवस्था स्पष्ट छ ।

तपाइको प्रतिक्रिया
(Visited 91 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘ओहो ! अहिले पनि पोल्छ’

कुरी-कुरी

Rajdhani Rastrya Dainik: Kuri Kuri – Jesth-10 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Rajdhani Rastrya Dainik: Kuri Kuri – Jesth-10 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
रुपा गाउँपालिकामा एमाले विजयी