काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवन सोमबार कलेज व्यवस्थापन समितिलाई हस्तान्तरण गरे । सो हस्तान्तरण समारोहमा नेपाल सरकारका पूर्वपरराष्ट्रमन्त्री एवं कलेज व्यवस्थापन समितिका अध्यक्ष महेन्द्रबहादुर पाण्डे, मदन भण्डारी फाउन्डेसनका अध्यक्ष श्रीमती उषाकिरण भण्डारी र काठमाडौं जिल्ला समन्वय समितिका अध्यक्ष सन्तोष बुढाथोकीको सहभागिता रहेको थियो ।
‘नेपाल–भारत विकास सहकार्य’अन्तर्गत यस कलेज भवनको निर्माण उच्च प्रभाव सामुदायिक विकास परियोजनाका रूपमा कुल २.८६४ करोडको लागतमा भएको हो ।
स्थापनाकालदेखि नै यस कलेजले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजमा देशका विभिन्न जिल्लाका १५ सय बढी विद्यार्थीहरू अध्ययनरत छन् । यस कलेजले विभिन्न विषयमा अध्यापन गराउँदै आएको छ ।
सन् २००३ यता भारतले नेपालमा ५३५ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना सञ्चालन गरेकोमा ४ सय ७८ वटा परियोजना सम्पन्न भइसकेका छन् । तीमध्ये काठमाडौं जिल्लाका ४० वटा परियोजनासमेत गरी बाग्मती प्रदेशमा १०४ वटा परियोजना रहेका छन् । यसबाहेक यस कलेजलाई प्रदान गरिएको एक स्कुल बससहित भारत सरकारले हालसम्म काठमाडौंका विभिन्न अस्पताल, स्वास्थ्य चौकी एवं शैक्षिक संस्थालाई ६८ वटा एम्बुलेन्स र ४६ वटा स्कुल बस उपहारस्वरूप प्रदान गरिसकेको जनाइएको छ ।






