एक वर्षपछि रिहा भए अभिनेता पल शाह

पोखरा । नाबालिक गायिका बलात्कार अभियोगमा थुनामा परेका अभिनेता पल शाह ठीक एक वर्षपछि जेलमुक्त भएका छन् ।

सुटिङका क्रममा पटकपटक करणी गरेको भनी नाबालिकले पलविरुद्ध गत वर्ष ११ फागुनमा जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएकी थिइन् । आफूविरुद्ध उजुरी परेपछि केही दिन फरार अभिनेता शाहले १५ फागुनमा प्रहरीसमक्ष आत्मसमर्पण गरेकामा त्यसको ठीक एक वर्षपछि उच्च अदालत पोखराको आइतबार सफाइको फैसलासँगै जिल्ला कारागार कार्यालय तनहुँबाट रिहा भएका हुन् ।

पलका समर्थकले तनहुँ सदरमुकाम दमौलीमा ठूलो संख्यामा उनको स्वागत गरेका छन् ।

बालयौन दुरुपयोगको मुद्दामा अभिनेता पल शाहलाई उच्च अदालत पोखराका न्यायाधीश डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै आइतबार सफाइको फैसला सुनाएको थियो ।

उनलाई यसअघि जिल्ला अदालत तनहुँले सफाइ दिएकामा जिल्ला अदालत नवलपुरले गत २१ भदौमा बालयौन दुरुपयोग आरोपमा साढे दुई वर्ष कैद र पीडितलाई १० लाख क्षतिपूर्ति दिने फैसला गरेको थियो । सो सम्बन्धमा नवलपुरको फैसलाविरुद्ध सरकारी वकिलको कार्यालय र पल शाह दुवै पक्षले उच्च अदालतमा पुनरावेदन दिएका थिए ।

‘सुरु नवलपुर जिल्ला अदालतको सो फैसला उल्टी भई पुनरावेदक प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाहले अभियोग दाबीबाट सफाइ पाउने ठहर्छ,’ उच्चको आइतबारको फैसलामा भनिएको छ, ‘शाहलाई अभियोग दाबीबमोजिम जबर्जस्ती करणीको कसुरमा कसुरदार ठहर गरी पाऊँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन ।’

तपाइको प्रतिक्रिया
(Visited 430 times, 1 visits today)

epaper

ताजा समाचार

काठमाडौं-मुग्लिन सडक खण्ड पुन: सञ्चालन