स्मार्ट टिभीसँगै ‘एक शिक्षक एक ल्यापटप’

गलकोट (बागलुङ) । कुनै समय खरिपाटीमा पढाउने शिक्षक अहिले ल्यापटपमा शैक्षिक सामग्री राखेर स्मार्ट टेलिभिजनबाट श्रव्यदृश्य सामग्री देखाएर पढाउनसक्ने भएका छन् ।

जिल्लाको नगरपालिका–९ स्थित सिगाना माध्यमिक विद्यालय तित्याङमा गत वर्षदेखि प्रत्येक कक्षामा स्मार्ट टिभी जडान गरेर ल्यापटपका माध्यमबाट शिक्षण सिकाइ थालिएकामा यसवर्ष सिगाना माध्यमिक विद्यालय लामिचौरमा समेत प्रविधिको माध्यमबाट शिक्षण सिकाइ थालिएको छ ।

नगरपालिकाको आर्थिक सहयोगमा विद्यालका सबै कक्षा कोठामा स्मार्ट टिभी जडान गरिएको छ भने शिक्षकलाई ल्यापटप प्रदान गरिएको छ ।

कक्ष ६ देखि १० सम्मका पाँचवटा कक्षा कोठामा ५५ इन्चको स्मार्ट टिभी जडान गरिएको छ । विद्यालयका शिक्षकलाई ल्यापटप वितरण गरिएको छ ।

शिक्षकले ल्यापटपमा भएको पाठ्यसामग्री स्मार्ट टिभीमा देखाउन सक्नेगरी प्रविधि विकास गरिएको र विद्युत् नभएको अवस्थामा समेत पढाउनसक्ने व्यवस्था मिलाइएको सिगाना माध्यमिक विद्यालय लामिचौरका प्रधानाध्यापक चन्द्र मल्लले जानकारी दिए । उनका अनुुसार ल्यापटपबाट पढाउन शिक्षकले तालिम लिइराखेका छन् ।

‘केही शिक्षकले मात्रै ल्यापटप चलाउन जान्नुहुन्छ, उहाँहरूले अहिले दिनको एउटा कक्षा प्रविधि प्रयोगबाट लिइराख्नुभएको छ,’ प्रधानाध्यापक मल्लले भने, ‘अन्य शिक्षकले ल्यापटप चलाउन सिक्दै हुनुहुन्छ, एक शिक्षकले अर्को शिक्षकलाई समेत सिकाउनुभएको छ ।’

कम्तीमा दैनिक दुई घण्टी मात्रै भए पनि डिजिटल माध्यमबाट अध्यापन गराउन सकिन्छ भन्ने उद्देश्य राखिएको छ । नगरपालिकाको ८ लाखबाट विद्यालयको सिकाइ योजना प्रविधिमैत्री बनाइएको छ ।

अहिले ५५ इन्चका पाँचवटा स्मार्ट टिभी र आठवटा ल्यापटप खरिद गरेर विद्यालयमा प्रविधिका माध्यमबाट सिकाइ सुरु गरिएको हो ।

विद्यार्थी संख्यामा कमी आए पनि गुणस्तरीय बढाउनेतर्फ विद्यालयको ध्यान गएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टीकाराम थापा बताउ“छन् । विद्यालयमा हाल १ सय ४६ विद्यार्थी छन् । ‘बसाइँसराइले विद्यार्थी क्रमशः घट्दै छन् तर हामीले शैक्षिक गुणस्तर भने बढाउँदै लगेका छौं,’ अध्यक्ष थापाले भने ।

यहाँ अधिकांश दलित समुदायका विद्यार्थी अध्ययनरत छन् । उनीहरूलाई थप आकर्षित गर्नका लागि नगरपालिकाको सहयोगमा ‘एक शिक्षक एक ल्यापटप र कक्षाकोठामा स्मार्ट टीभी’ जडान गरिएको छ । विद्यालयको भौतिक सुरधारमा समेत अहिले व्यवस्थापन समिति लागेको छ ।

डिजिटल माध्यमबाट अध्यापन गराउ“दा विद्यार्थीमा सिकाइ उपलब्धि बढेर जाने र विद्यार्थीसमेत प्रविधिमा निपूर्ण हुने शिक्षकको भनाइ छ । विद्यालयमा कक्षा कोठा अभाव भए पनि दुई वर्षअघि मात्रै स्थानीयसँग चन्दा उठाएर एक तला पक्की भवन निर्माण गरिएको थियो ।

त्यस्तै, चालू आर्थिक वर्षमा ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’अन्तर्गत ५० लाखमा चारकोठे सुविधा सम्पन्न विद्यालय भवन बनाउन सुरु गरिएको छ ।

चारकोठे विद्यालय भवन निर्माणपश्चात् कक्षा कोठाको समस्या समाधान हुनेछ भने विद्यालयको तारबार र प्रवेशद्वार निर्माण गरिने विद्यालयको लक्ष्य छ ।

बाग्लुङ नगरपालिकाले माध्यमिक विद्यालयमा ‘एक ल्यापटप एक शिक्षक कार्यक्रम र स्मार्ट टीभी’ जडान कार्यक्रमलाई प्राथमिकतामा राखेको नगरपालिका उपप्रमुख राजु खड्का बताउँछन् ।

तपाइको प्रतिक्रिया
(Visited 239 times, 1 visits today)

epaper

ताजा समाचार

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यी हुन् सम्भावित कार्यसूची