काठमाडौं । ११३औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा चार जना महिला चलचित्र पत्रकार सम्मानित भएका छन् । बुधबार चलचित्र पत्रकार संघले नारी दिवसको अवसरमा आयोजना गरेको सम्मान तथा अन्तत्र्रिmया कार्यक्रममा उनीहरू सम्मानित भएका हुन् । यसरी सम्मानित हुने पत्रकारमा जयन सुब्बा मानन्धर, सबी कार्की, बिना श्रेष्ठ र शिल्पा अधिकारी रहेका छन् ।
यी पत्रकारले कला क्षेत्रका महिलाका पक्षमा काम गरेकाले सम्मानित गरिएको संघकी महिला उपाध्यक्ष सुरक्षा भट्टराईले कार्यक्रममा बताइन् ।
अग्रज अभिनेत्री वसुन्धरा भुसालले कार्यक्रममा बोल्दै पछिल्लो समय चलचित्र पत्रकारितामा महिला पत्रकारको पनि त्यत्तिकै आकर्षण बढेको बताइन्, ‘अहिले पुरुष जत्तिकै नारी पत्रकार पनि चलचित्र पत्रकारितामा आउँदा हाम्रा समस्या उहाँले अझ नजिकबाट उठाउनुभएको छ । नारी दिवसमा महिला पत्रकारले अझ राम्रो काम गर्न सकून् भन्ने मेरो शुभकामना छ ।’
सम्मानित महिला पत्रकारमध्येबाट बोल्दै जयन सुब्बा मानन्धरले आपूmले पत्रकारिता गर्दा एक्लो महिला सिने पत्रकार रहेको स्मरण गरिन् । अहिले यस क्षेत्रमा धेरै महिला पत्रकार आएकाले चलचित्र पत्रकारितामा महिलाको हकअधिकारका कुरा पनि त्यत्तिकै उठ्न थालेको उनले जानकारी दिइन् ।
चलचित्र पत्रकार संघका अध्यक्ष समिर बलामी, पूर्व अध्यक्षहरू विदुर गिरी, शान्तिप्रिय, महासचिव रघुनाथ सापकोटा, पूर्व उपाध्यक्ष जीवन पराजुलीलगायतले महिला चलचित्र पत्रकारलाई शुभकामना दिँदै सम्मानित महिला चलचित्र पत्रकारको योगदानको चर्चा गरे ।