स्याङ्जा । स्थायी लेखा नम्बर लिएका करदाताले समयमै आय विवरण पेस नगरेका सेवाग्राहीलाई अविलम्ब विवरण बुझाउन अनुरोध गरिएको छ । करदाता सेवा कार्यालय पुतलीबजार स्याङ्जाले लामो समयदेखि मूल्य अभिवृद्धि करको विवरण नबुझाएको देखिएकाले सेवाग्राहीलाई अविलम्ब विवरण बुझाउन अनुरोध गरेको हो ।
८-९ महिनादेखिका केही करदता र पछिल्लो समय चार महिनादेखिका करदाताले आय विवरण नबुझाएको तथ्यांक करदाता कार्यालय स्याङ्जाले सार्वजनिक गरेको छ । करदाता कार्यालय स्याङ्जाका प्रमुख शोभाकान्त पंगेनीले दिएको जानकारीअनुसार अहिलेसम्म झन्डै ४ सय करदाताले मूल्य अभिवृद्धि करको विवरण नबुझाएको देखिएको बताए । ‘हामीले पटकपटक विवरण बुझाउन आग्रह गरेका छौं,’ उनले भने, ‘विवरण बुझाउन आलटाल गर्ने करदातालाई कानुनअनुसार कारबाही हुन्छ ।’
कार्यालयले तोकेको समयसीमाभित्र विवरण नबुझाउने करदाता मूल्य अभिवृद्धि कर ऐन २०५२ अनुसार कारबाहीमा पर्ने उनले प्रस्ट पारे ।
स्याङ्जामा १ हजार ३ सय १४ जना मूल्य अभिवृद्धि करमा दर्ता भएका छन् । कार्यालयले सार्वजनिक गरेको विवरणमा सामाजिक संघसंस्था, उद्योगी व्यवसायी र एनजीओले लामो समयदेखि आय विवरण पेस नगरेको तथ्यांक छ । विवरण पेस नगर्नेमा अधिकांश व्यवसायी रहेको करदाता सेवा कार्यालय स्याङ्जाले जनाएको छ ।
कार्यालयले स्याङ्जाका केही व्यवसायीका पसलमा समेत अनुगमन गरी मूल्य अभिवृद्धि कर विवरण पेस गर्ने सुझावसमेत दिएको जनाएको छ । करछली गर्ने व्यवसायीलाई भने कारबाहीको दायरामा राखिने कर कार्यालयले जनाएको छ । आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७९÷०८० लाई बजार अनुगमनको वर्षका रूपमा लिएको जनाएको छ ।
नेपाल सरकारको आर्थिक वर्ष २०७९÷०८० को राजस्व नीति तथा कार्यक्रमअनुसार सघन र प्रभावकारी अनुगमनमार्फत राजस्व चुहावटलाई नियन्त्रण र करदातालाई सहजीकरण गर्ने अभियान गर्ने जनाएको छ । सोही नीतिअनुरूप स्याङ्जा करदाता सेवा कार्यालयले आय अभिलेख नबुझाउनेको नामावली सार्वजनिक गर्ने र बजार अनुगमन गर्ने कार्य अवलम्बन गरेको छ । अहिलेसम्म झन्डै दुई दर्जन पसलमा कार्यालयले अनुगमन गरेको छ भने अनुगमनलाई निरन्तरता दिने जनाएको छ ।