राष्ट्रपति पौडेल आज शीतल निवासमा

काठमाडौं । गणतन्त्र नेपालको चौंथो कार्यकालका लागि तेस्रो राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेल आज(सोमबार) शीतल निवास छिर्दै छन् ।

गत बिहीबार राष्ट्रपति चयनका लागि भएको निर्वाचनमा ३३ हजार ८ सय २ मतभार पाएर निर्वाचित बनेका पौडेललाई कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सोमबार दिउँसो १ बजे पद तथा गोपनीयताको शपथ गराउँदै छन् । त्यसपछि राष्ट्रपति पौडेल आजैबाट देशको राष्ट्रपति पदमा आसीन हुनेछन् । संविधानको धारा ६३ मा राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल पाँच वर्ष तोकिएको छ ।

नवनिर्वाचित राष्ट्रपति पौडेलका प्रेस सहयोगी खिला कार्कीले सोमबार दिउँसो १ बजेका लागि शपथको समय निर्धारण भएको जानकारी दिए । ‘सोमबार दिउँसो १ बजे कायममुकायम प्रधानन्यायाधीशबाट राष्ट्रपतिज्यूले पद तथा गोपनीयताको शपथग्रहण गर्ने कार्यक्रम छ, त्यसलगत्तै राष्ट्रपतिज्यूले पदभार ग्रहण गर्नु हुनेछ,’ कार्कीले राजधानीसँग भने ।

१ बजे शपथ, भण्डारीको बिदाइ आजै

संविधानमा राष्ट्रपतिलाई प्रधानन्यायाधीशले पद तथा गोपनीयताको शपथ गराउने व्यवस्था उल्लेख छ । तर, हाल प्रधानन्यायाधीश रिक्त रहेका कारण कामु प्रधानन्यायाधीशले नै शपथ गराउनेछन् ।

संविधानको धारा ७१ मा ‘राष्ट्रपति र उपराष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि संघीय कानुुनबमोजिम राष्ट्रपतिले प्रधानन्यायाधीशसमक्ष र उपराष्ट्रपतिले राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्नेछ,’ भनिएको छ ।

पौडेल राष्ट्रपति कार्यालय छिर्दै गर्दा सोमबार नै २०७४ मा निर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीको बिदाइ हुनेछ । भण्डारीको ‘राष्ट्रपति’ कार्यकाल आइतबारबाट नै सकिएको हो । उनी २८ फागुन २०७४ मा राष्ट्रपति निर्वाचित बनेकी थिइन् । राष्ट्रपति कार्यालयले एकै समयमा नव निर्वाचित राष्ट्रपतिको पदभार र कार्यकाल सकिएर बिदा हुने राष्ट्रपति भाण्डारीको बिदाइ गर्नेगरी तयारी गरेको छ ।

देशको पहिलो राष्ट्रपतिमा डा. रामवरण यादव तथा उपराष्ट्रपतिमा परमानन्द झा निर्वाचित भएका थिए । त्यसपछि दोस्रो राष्ट्रपतिमा भण्डारी र उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्वाचित भएका थिए ।

यस्तै, तेस्रोपटकसमेत २०७४ सालमा भएको निर्वाचनमा राष्ट्रपति पदमा भण्डारी र उपराष्ट्रपतिमा पुन नै दोहोरिएका थिए । त्यसबखत राष्ट्रपति पदको निर्वाचन २०७४ फागुन र उपराष्ट्रपतिको निर्वाचन चैतमा भएको थियो । वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन भने ३ चैतसम्म पदमा कायम रहनेछन् भने ३ चैतमा नै देशले नयाँ उपराष्ट्रपति पाउनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 292 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखरामा एकीकृत समाजवादी ७ सय मतान्तरले अगाडी