नेपाल आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा प्रवेश गरेसँगै अर्थतन्त्रको संकुचनका कारण निराश भइरहेका नेपाली खुसीले तरंगित भएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टिमले बिहीबार आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेलमा यूएईमाथि नाटकीय जित दर्ता गरेसँगै यतिबेला देश क्रिकेटमय बनेको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई शीतल निवासमा बोलाएर बधाई मात्र दिएनन्, सरकारले खेकलुदलाई उपेक्षा गर्न नहुने भन्दै खेलाडीले राष्ट्रको प्रतिष्ठा बढाएको बताए । शुक्रबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि खेलाडीलाई प्रधानमन्त्री निवास बालुवाटारमा भेटेर बधाई दिए र प्रतिव्यक्ति ३ लाख पुरस्कार दिने घोषणासमेत गरे । प्रदेश सरकारहरूले पनि पुरस्कार दिने घोषणा गरिरहेका छन् । झट्ट हेर्दा खेलकुदलाई राष्ट्रप्रमुखदेखि नीति निर्मातासम्मले महत्व दिएको देखिन्छ ।
बिहीबार र शुक्रबार भएको ‘स्टन’बाट मात्र नेपाली खेलकुदको मापन हुँदैन । यो स्टनको भ्रमबाट मुक्त हुन जरुरी छ । यसले खेलकुदको स्तरवृद्धि हुनेवाला छैन । सय वर्षअघि नै नेपालमा क्रिकेट भित्रिएको भए पनि २५ वर्ष अघिदेखि मात्रै नेपालले अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको हो । यसअघि नेपाल सन् २०१४ मा टी–२० विश्वकपमा छनोट भयो । त्यसपछि पनि सरकारले नगद पुरस्कार दिएर पन्छिएको थियो । दर्शकको अपार माया पाएका कारण शासकीय नेतृत्वलार्ई समेत खेलाडीको प्रोत्साहनमा उत्रन बाध्य बनाएको र खेलाडीको सम्मानमा सरिक हुँदा प्रशंसा र प्रचार हुने लालच पनि त्यसभित्र लुकेको हुनसक्छ । नेतृत्व तहबाट सार्थक पहल भइदिएको भए नेपाल खेलकुद क्षेत्रमा धेरै अघि बढिसक्ने थियो । संघको नेतृत्व सम्हाल्न नसकेका कारण नेपाल क्रिकेट संघ नै निलम्बनमा समेत परेको थियो । राज्यले स्पष्ट खेलकुद नीतिसमेत निर्माण गर्न सकेको छैन । संघीयता लागू भएसँगै खेलकुदमा त्यसको कुनै संकेत देखापरेको छैन । विश्व खेलकुदले ठूलो फड्को मारिसक्दा पनि २०÷२२ वर्षदेखि संघमा राज गर्नेहरूको अनुहार हेरेर पनि नेपाली खेलकुदको अवस्था बुझ्न सकिन्छ ।
खेलकुदको सर्वाेच्च निकाय राष्ट्रिय खेलकुद परिषद्देखि संघहरूलाई राजनीतिक चलखेलबाट मुक्त गर्ने र खेलकुदको विकासमा नीति तथा कार्यक्रम र बजेटमा समेत सम्बोधन गरेर प्राथमिकता राख्ने दृढ अठोट गरेको खण्डमा मात्र राज्यले खेलाडीको सच्चा सम्मान गरेको ठहरिनेछ । सरकारले यदि खेलाडीको सच्चा सम्मान गर्ने हो भने खेलाडीको अथक प्रयासबाट आउने यस्ता उपलब्धिमा मात्र रमाएर नबसी योजनाबद्ध रूपमा खेलकुद क्षेत्रलाई अगाडि बढाउने रणनीति तय गर्नुपर्छ । प्रारम्भिक खेलाडी छनोटा प्रक्रियामा हुने नातावाद र कृपावाद अन्त्य गरिनुपर्छ । राष्ट्रिय खेलकुद परिषद्देखि संघहरूमा सुशासन र पारदर्शिता कायम गर्न सकियो भने मात्रै समग्र खेलको विकास गर्न सकिनेछ ।






