काठमाडौं । बाढीपहिरोका कारण पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको आपूर्ति थप प्रभावित भएको छ ।
मुख्य राजमार्ग अवरुद्ध हुँदा ठूला बुलेट काठमाडौं आउन नसकेपछि उपत्यकामा अभावको अवस्था सिर्जना भएको हो । अभाव चर्किन नदिन नेपाल आयल निगमले सीमित रूपमा उपलब्ध हुने ग्यासमा घरायसी उपभोक्तालाई पहिलो प्राथमिकता दिने निर्णय गरेको छ ।
व्यावसायिक प्रयोजनका होटल, रेस्टुरेन्ट तथा उद्योगले भने तत्कालका लागि तराई तथा उपत्यका बाहिरका रिफिलिङ प्लान्टबाट आफ्नै खर्चमा ग्यास ढुवानी गर्नुपर्ने व्यवस्था मिलाइएको निगमले जनाएको छ ।
– उद्योग र होटलले आफैं ग्यास ल्याउनुपर्ने
– उपत्यकामा दैनिक २ सय ट्रक परिचालन गरिँदै
– बुलेटको सट्टा सिलिण्डरमा भरेर ल्याइदै ग्यास
निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार समस्या ग्यासको मौज्दातमा नभई ढुवानीमा हो । ‘अहिलेको असहज परिस्थितिमा सर्वसाधारणको चुलो निभ्न नदिन हामीले सम्पूर्ण ध्यान घरायसी सिलिन्डरमा केन्द्रित गरेका छौँ,’ उनले भने । व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्रीमा पूर्ण रोक भने नलगाइएको उनको भनाइ छ ।
आपूर्ति सहज नहुँदासम्म होटल, रेस्टुरेन्ट तथा अन्य व्यावसायिक उपभोक्ताले सम्बन्धित उद्योगमार्फत रिफिलिङ भइरहेको ग्यास आफ्नै व्यवस्थापनमा काठमाडौं ल्याउनुपर्ने व्यवस्था मिलाइएको निगमको भनाइ छ ।
उपत्यकामा ग्यासको अभाव हुन नदिन आज (बिहीबार)बाट दैनिक करिब २ सय ट्रक परिचालन गर्ने सहमति भएको छ । ठूला ग्यास बुलेट काठमाडौं ल्याउन सडकको अवस्था अनुकूल नभएपछि उपत्यकामा रहेका खाली सिलिन्डर ट्रकमा राखेर तराईका रिफिलिङ प्लान्टसम्म पठाउने र त्यहीँ ग्यास भरेर काठमाडौं ल्याउने व्यवस्था मिलाइएको हो ।
नेपाल एलपी ग्यास उद्योग संघ, नेपाल आयल निगम र यातायात व्यवसायीबीच भएको सहमतिअनुसार ट्रकलाई पूर्ण क्षमतामा परिचालन गर्ने तयारी गरिएको हो । हेटौँडालाई आधार बिन्दु मानेर ढुवानी व्यवस्थापन गर्नेसहित ट्रकलाई सुरक्षित रूपमा आवतजावत गराउने व्यवस्था मिलाइएको छ ।
बुलेटको विकल्पमा सिलिन्डरबाटै ढुवानी
निगम र ग्यास उद्योगीहरूले कान्ति लोकपथ तथा त्रिभुवन राजपथबाट ठूला ग्यास बुलेट सञ्चालन गर्न तत्काल असम्भव देखिएको भन्दै सिलिण्डर नै ढुवानीको विकल्पलाई कार्यान्वयन गर्ने भएका छन् ।
एलपी ग्यासका बुलेटलाई तराईमै अनलोड गर्ने र काठमाडौंमा रहेका खाली सिलिन्डरलाई साना तथा मझौला ट्रकमार्फत तराई पठाएर ग्यास भरेपछि पुनः वैकल्पिक मार्गबाट काठमाडौं ल्याउने व्यवसायकिो तयारी छ ।
काठमाडौं उपत्यकामा दैनिक करिब १ लाख २५ हजार सिलिन्डर एलपी ग्यासको माग छ । उपत्यकामा आपूर्ति गर्ने २२ वटा ग्यास उद्योगमध्ये उपत्यका, काभ्रे र धादिङ क्षेत्रमा रहेका १८ उद्योगमा भारत तथा तराईबाट आउने ग्यास बुलेट पुग्न नसकेको निगमले जनाएको छ ।
जसका कारण उपत्यकामा आपूर्ति गर्ने ग्यास उद्योगको ठूलो हिस्सा प्रत्यक्ष रूपमा प्रभावित भएको छ । उपत्यका र आसपासका क्षेत्रमा मात्रै देशको कुल एलपी ग्यास खपतको ४० प्रतिशतभन्दा बढी माग हुने भएकाले सडक अवरोध लम्बिँदा आपूर्ति व्यवस्थामा थप दबाब पर्न सक्ने व्यवसायीहरूको भनाइ छ ।
अब जुनसुकै ब्राण्डमा रिफिल सुविधा
मुख्य सडक अवरुद्ध भएपछि ग्यास उद्योगीहरूले आफ्ना ब्रान्डका सिलिन्डर अन्य उद्योगबाट रिफिल गर्ने व्यवस्था मिलाएका छन् । नेपाल आयल निगमले समेत कृष्णभीरको सडक सञ्चालनमा नआएसम्म तराईका उद्योगलाई जुनसुकै ब्रान्डका सिलिन्डर रिफिल गर्न निर्देशन दिएको छ ।
नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवानबहादुर चन्दका अनुसार बनेपाका सूर्य र उग्रचण्डी ग्यासले वीरगन्जस्थित जगदम्बा, मनोज र लियो ग्यासका प्लान्टबाट सिलिन्डर रिफिल गरिरहेका छन् ।
सगर ग्यासले नवलपरासी र धनुषाका उद्योगसँग समन्वय गरेको छ । एसटीसीले वीरगन्जबाट, एभरेस्ट र सुगमले हेटौँडाको सहारा ग्यासबाट रिफिलिङ गरिरहेका छन् । बाबा र साइबाबा ग्यासले चितवनस्थित आफ्नै प्लान्टबाट आपूर्ति व्यवस्था मिलाएका छन् ।
श्री ग्यासले बाबा, श्रीकृष्णले साइबाबा, श्रीरामले जानकी, नेपाल ग्यासले नेपाल गण्डकी तथा एभरेस्ट र सुगमले सहारा ग्यास उद्योगबाट सिलिन्डर भर्न थालेका छन् ।
व्यवसायीका अनुसार काठमाडौंबाट खाली सिलिन्डर लिएर जाने गाडी त्रिभुवन राजपथ हुँदै हेटौँडा जाने र ग्यास भरिएपछि कान्ति लोकपथ हुँदै काठमाडौं फर्काउने व्यवस्था मिलाइएको छ ।
सम्बन्धित समाचार
दिनहुँ बढ्दै अमेरिकी डलरको मूल्य
सुनको मूल्य तोलामै बढ्यो ९ हजार ३०० रुपैयाँ, चाँदीको पनि वृद्धि
दुई दिनमा तोलाको १२ हजार ६०० रुपैयाँले बढ्यो सुन, कतिमा भइराखेको छ आज कारोबार ?
२६ बर्ष निदाएर ब्युझिदै हेटौंडा कपडा उद्योग
फौजदारी मुद्दा खेपिरहेका एनआइएमबीका सिइओ र बोर्ड सदस्य नियमावलीविपरित जिम्मेवारीमा
‘चीनबाट जनै आयात भएको तथ्याङ्क छैन’
सोमबार एकै दिन प्रधानमन्त्री राहत कोषका लागि अर्थमन्त्रीमार्फत दाताले दिए ६० करोड
अमेरिकी डलर थोरै मजबुत बन्दा अन्य विदेशी मुद्राको अवस्था के छ ?






