प्रधानमन्त्री दाहाललाई १ सय ७८ सांसदको मत पक्का

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहल ‘प्रचण्ड’ले आज सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिँदै छन् । १० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले प्रधानमन्त्री भएपछि एकै कार्यकालमा दोस्रोपटक विश्वासको मत लिन थालेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले पहिलोपटक २६ पुसमा संसद्को विश्वास लिएका थिए । त्यसबखत सरकारमा सघाएको दल नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएपछि उनले संवैधानिक व्यवस्थाअनुसार पुनः विश्वासको मत लिन लागेका हुन् ।

संविधानको धारा १०० को (२) मा ‘प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्नेछ’ भन्ने उल्लेख छ ।

प्रधानमन्त्री प्रचण्डले यसपटक नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टीबाहेकका मत पाउने सम्भावना छ । नेमकिपाले यसअघिसमेत प्रचण्डलाई विश्वासको मत दिएको थिएन । यस्तै, जनमोर्चाले पनि प्रचण्डलाई विश्वासको मत दिएको थिएन । यसपटक प्रचण्डले जनमोर्चाको पनि मत पाउने अवस्था छ ।

एकै कार्यकालमा दोस्रोपटक विश्वासको मत लिँदै प्रधानमन्त्री

यसपटक प्रधानमन्त्रीमा प्रचण्डलाई कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, लोसपा र राष्ट्रिय जनमोर्चाले विश्वास दिने निश्चित छ । यस्तै, नेपाल समाजवादी पार्टी र आमजनता पार्टीले पनि प्रधानमन्त्रीमा प्रचण्डलाई विश्वासको मत दिने सम्भावना छ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरिसकेको छ । प्रधानमन्त्रीमा कायम रहन प्रचण्डलाई १ सय ३८ सांसदको विश्वास पु¥याउनुपर्छ ।

प्रधानमन्त्री प्रचण्डलाई कांग्रेसका ८९ मध्ये ८६ सांसदको मत पाउने सम्भावना छ । कांग्रेस सांसद टेकबहादुर गुरुङ निलम्बित भएका कारण उनको एक मत घट्ने छ भने चन्द्र भण्डारी भारतमा उपचाररत रहेको र रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएका कारण तीन मत प्रचण्डलाई कांग्रेसबाट आउनेछैन ।

यसैगरी, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका १९, जसपाका १३, नेकपा एकीकृत समाजवादीका १०, लोकतान्त्रिक समाजवादी पार्टीका चार, जनमत पार्टीका ६, नागरिक उन्मुक्ति पार्टीका चार र स्वतन्त्र सांसद दुई र आमजनता पार्टीका एक र जनमोर्चाका एक जनाले प्रचण्डलाई प्रधानमन्त्रीमा विश्वासको मत दिनेछन् । जसपाका सांसद रामसहाय यादव उपराष्ट्रपति निर्वाचित बनेका कारण उनको मत प्रचण्डलाई आउनेछैन ।

यस्तै, एमालेका ७८, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का १४ जनाको विश्वास प्रचण्डले यसपटक पाउने छैनन् । एमाले र राप्रपा दुवै दलले समर्थन फिर्ता लिएका कारण नै प्रचण्डले प्रधानमन्त्रीमा आफूलाई विश्वास कायम रहेको देखाउने प्रक्रियाका लागि विश्वासको मत लिन लागेका हुन् ।

प्रतिनिधिसभामा सहभागी नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पनि प्रचण्डलाई विश्वासको मत दिने सम्भावना छैन । यसअघि पनि उनले विश्वासको मत दिएका थिएनन् ।

यसअघि २६ पुसमा प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिँदा चार सांसद अनुपस्थित थिए । यस्तै, सभामुखको भूमिकामा रहेका ज्येष्ठ सदस्य पशुपतिशमशेर राणा मतदानमा सहभागी भएका थिएनन् ।

गत १३ फागुनमा राष्ट्रपति निर्वाचनका क्रममा एमालेसँगको गठबन्धन भत्किएपछि माओवादी केन्द्र र एमालेको सम्बन्धन बिग्रिएको छ भने हाल माओवादी केन्द्रसहितका १० दलको गठबन्धन छ ।

प्रधानमन्त्री प्रचण्डले १० पुसमा संविधानको धारा ७६ (२) अनुसार प्रतिनिधिसभाका १ सय ६९ सांसदको समर्थन तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेपछि भण्डारीले उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

त्यसबखत प्रचण्डलाई नेकपा माओवादी, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीसहित जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टीले समर्थन गरेका थिए ।

प्रतिनिधिसभाका २ सय ७५ सदस्यमध्ये एमालेको ७८, माओवादी केन्द्रको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २०, राष्ट्रिय प्रजातन्त्र पार्टीको १४, जनता समाजवादी पार्टीको १२, जनमत पार्टीको ६, नागरिक उन्मुक्ति पार्टीका चार र अन्य तीन जना स्वतन्त्र सांसदको समर्थन प्रचण्डलाई थियो ।

एमाले र राप्रपाबाट सरकारलाई दिएको समर्थन फिर्ता भएपछि प्रधानमन्त्रीलाई हाल ७७ सांसदको मात्रै समर्थन रहँदै आएको छ । सो संख्या भनेको सरकार सञ्चालन गर्न अपुग हो । सरकार सञ्चालन गर्न प्रतिनिधिसभामा रहेको कुल संख्याको ५१ प्रतिशत समर्थन आवश्यक पर्छ । जसअनुसार प्रधानमन्त्रीका लागि प्रतिनिधिसभामा कायम कुल २ सय ७५ सदस्यको ५१ प्रतिशत अर्थात् १ सय ३८ सांसदको समर्थन चाहिन्छ ।

गत ४ मंसिरमा सम्पन्न प्रतिनिधसभा निर्वाचनमार्फत प्रतिनिधिसभामा कुनै पनि एक दलको बहुमत नआएपछि तत्कालीन राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (२) अनुसार मिलीजुली सरकार बनाउन आह्वान गरेकी थिइन् । सो धाराअनुसार प्रचण्ड प्रधानमन्त्री बनेका थिए ।

२०६५ सालमा प्रचण्ड पहिलोपटक प्रधानमन्त्री बनेका हुन् । त्यसबखत संविधानसभाको चुनावमा उनले नेतृत्व गरेको दल सबैभन्दा ठूलो बन्दा उनी प्रधानमन्त्रीका रूपमा बालुवाटार छिरेका थिए । त्यसबखत माओवादीलाई सरकार बनाउन एमालेको समर्थन थियो । त्यसपछि २०७४ सालमा प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री बनेका थिए । त्यसबखत उनलाई नेपाली कांग्रेसले समर्थन गरेको थियो ।

प्रचण्डले पछिल्लोपटक प्रधानमन्त्री नियुक्त भएपछि २६ पुसमा प्रतिनिधिसभामा विश्वासको मत लिँदा त्यसबखत उनलाई प्रतिनिधिसभामा ठूलो दल बनेर पनि सत्ताबाहिरै रहेको दल कांग्रेसलेसमेत विश्वासको मत दिएको थियो । त्यसबेला प्रचण्डलाई प्रतिनिधिसभाका कुल २ सय ७५ सांसदमध्ये बैठकमा सहभागी २ सय ७० जनामा २ सय ६८ सांसदले विश्वासको मत दिएका थिए ।

त्यसबखत प्रचण्डले कांग्रेसका ८९ मध्ये ८५, एमालेका ७८, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का १३, जनता समाजवादी पार्टीका १२, नेकपा एकीकृत समाजवादीका १०, लोकतान्त्रिक समाजवादी पार्टीका चार, जनमत पार्टीका ६, नागरिक उन्मुक्ति पार्टीका चार र स्वतन्त्र सांसद तीन जनाको मत पाएका थिए ।

सांसदलाई कांग्रेसको ह्वीप
नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिन सांसदलाई ह्वीप लगाएको छ ।

आइतबार संसद् भवन नयाँ बानेश्वरमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि कांग्रेसले विश्वासको मतका लागि सांसदलाई ह्वीप लगाएको हो । प्रतिनिधिसभामा कांग्रेसका ७९ सांसद छन् । त्यसमध्ये ७६ सांसद मात्रै मतदान प्रक्रियामा सहभागी हुँदै छन् ।

कांग्रेस सांसद टेकबहादुर गुरुङ निलम्बित भएका कारण उनको एक मत घट्नेछ भने चन्द्र भण्डारी भारतमा उपचाररत रहेको र रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएका कारण तीन मत प्रचण्डलाई कांग्रेसबाट आउनेछैन ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले कार्यसम्पादन समितिको बैठकले सरकारको पक्षमा मत दिने निर्णय गर्दै सांसदलई ह्वीप जारी गरिएको जानकारी दिए ।

प्रचण्डले विश्वासको मत लिएपछि सरकार विस्तारको प्रक्रिया अघि बढ्नेछ । कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर सरकारमा जाने निर्णय गरिसकेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 277 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
अर्घाखाँचीको पाणिनी गाउँपालिकामा एमाले विजयी