काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सत्ता गठबन्धनमा आबद्ध १० राजनीतिक दललाई सम्हाल्ने जिम्मा कांग्रेसकै काँधमा रहेको बताएका छन् ।
मंगलबार कांग्रेस नेता गिरिजाप्रसाद कोइरालाको स्मृतिमा नेपाल प्रेस युनियनले राजधानीमा आयोजना गरेको ‘नागरिक स्वतन्त्रताका लागि गिरिजाप्रसाद कोइरालाको योगदान’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले कांग्रेसको काँधमा ठूलो जिम्मेवारी रहेको बताए ।
‘पुष्पकमल दाहाल ‘प्रचण्ड’जीको सरकार छ, गठबन्धनमा १० वटा दल छन्, ती १० वटा दललाई सम्हालेर अगाडि बढ्ने जिम्मेवारी नेपाली कांग्रेसकै हो, कांग्रेसको काँधमा ठूलो जिम्मेवारी आएको छ,’ कांग्रेस नेता डा. कोइरालाले भने । कोइरालाले एक–दुई दिनमै कांग्रेस सरकारमा सहभागी हुने भन्दै सरकारमा गएर गल्ती गर्ने छुट कांग्रेसलाई नभएको बताए । ‘एक–दुई दिनभित्रै हामीहरू सरकारमा जाँदै छौं, अब नेपाली कांग्रेसलाई सरकारमा गएर गल्ती गर्ने छुट छैन, कुनै किसिमको कमीकमजोरी कांग्रेसबाट हुनुहुँदैन’, कोइरालाले भने ।
कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री गगनकुमार थापाले गठबन्धन आबद्ध दलहरूलाई अस्वाभाविक मन्त्रालय दाबी नगर्न आग्रह गरे । उनले दलहरूका बीचमा सैद्धान्तिक सहमतिबाट कुन मन्त्रालय कसले पाउने भन्ने सहमति हुने भन्दै अस्वाभाविक दाबी भने नगर्न आग्रह गरेका हुन् । थापाले शान्ति प्रक्रियाका बाँकी कामलाई छिटोभन्दा छिटो टुंगोमा पु¥याउनुपर्ने पनि बताए । तत्कालको नाफाघाटा हेरेर ढिलासुस्ती गरे वा पीडितको भावनामाथि चोट पु¥याउने काम गरे त्यो कसैलाई पनि मान्य नहुने उनले चेतावनी दिए ।
उनले गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सुरु भएको शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउने कामको नेतृत्व पनि कांग्रेसले नै लिनुपर्ने दाबी गरेका छन् ।






