उपराष्ट्रपति रामसहाय प्रसाद यादव पद तथा गोपनियताको शपथ लिन सिंहदरबार पुग्दा श्रीमती चम्पादेवी पनि साथमै थिइन् । वरिपरि रहेका पालुवा फेर्ने तरखरका राणाकालमै रोपिएका बुढा रुख, प्रांगणमा रहेका आकर्षक पूmलका बगैंचा, पानीका फोहोरा यस्ता धेरै चिज छन् जसले शीतल निवासमा आकर्षण थपेको छ । बडो मेहनतका साथ जोगाइएका ती प्राकृतिक सौन्दर्य चम्पादेवीका लागि फिक्का लाग्यो । उनी भन्दै थिइन्, ‘मलाई सकेसम्म चाँडै कलैया पुग्नु छ । मेरा गाईवस्तु भोकाए ।’ अहिलेको हाम्रो सामाजिक संरचनालाई हेर्ने हो भने चम्पादेवी उपराष्ट्रपतिकी श्रीमती मात्रै हैनन् । समाजका लागि एउटा गतिलो पाठ हुन् र उनको जीवनशैलीबाट धेरै कुरा पढ्न र सिक्न सकिन्छ । कुनै पनि पद हासिल गरिसकेपछि पदीय दायित्व निर्वाहभन्दा पनि पदीय रवाफ प्रस्तुत गर्नु हाम्रो पुरानो प्रचलन हो ।
राणाकाल, पञ्चायतकाल र गणतन्त्रमा पनि पदीय हैसियत प्राप्त गर्नेहरूले रवाफ प्रस्तुत गर्नुलाई महत्वपूर्ण माने । त्यही कारण ‘पात्र फेरियो, प्रवृत्ति फेरिएन’ भनेर टीकाटिप्पणी पनि हुने गरेको छ । गणतन्त्र आइसकेपछि पनि राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरूले कतिपय अवस्थामा अनावश्यक ‘राजसी ठाँट’ प्रस्तुत गरेको भन्दै उनीहरूको चरित्रमाथि प्रश्न पनि उठिरहेको छ । यस अर्थमा चम्पादेवीले एउटा उपाय सुल्झाएकी छन् । ‘सत्ता केही पनि होइन’ भन्ने अर्थमा उनी जसरी प्रस्तुत भइरहेकी छन्, उनको शैली अनुशरण गर्ने हो भने साँच्चै समाज बदल्छु भनेर लाग्नेहरूका प्रेरणादायी पात्र हुन सक्छिन् उनी । सत्तामा पुग्ने बित्तिकै कर्तव्य भुलेर लोभलालचलाई महत्वपूर्ण ठान्नेहरूका लागि चम्पादेवी तत्कालका लागि अवरोध हुन सक्छिन् । उनको कलैया मोह र गाईबस्तु प्रेम कतिपयका लागि अनावश्यक लाग्न पनि सक्छ ।
चम्पादेवीकै प्रसंग जोडेर मिडियाले अति ग¥यो भन्नेहरू पनि छन् । यथार्थमा भन्ने हो भने चम्पादेवी नेपाली समाजकी ती दुर्लभ पात्र हुन् जसले सत्तालाई भोगविलासको माध्यम मात्रै ठान्छ उनीहरूका लागि ‘सुध्रिनै पर्ने’ एउटा बाध्यत्मक उपाय खोजिदिएकी छन् । चम्पादेवी नेपाली समाजको एउटा पात्र मात्रै हैन प्रवृत्ति हुन् । सत्ताको छिनाझपटीका विषयमा बेखबर रहेकी चम्पादेवीले स्वाभाविक व्यवहार प्रस्तुत गरिरहँदा धेरैलाई अचम्म लाग्यो कारण यसभन्दा अगाडि नेपाली जनताले राष्ट्रपति, प्रधानमन्त्री वा उपराष्ट्रपति श्रीमतीमा यो गुण भेटेका थिएनन् । श्रीमान सत्तामा भएका बेला हो सकेसम्म धेरै तामझाम देखाउने भन्ने सोच राख्ने महिलाका लागि चम्पादेवीको जीवनशैली बोझिलो लाग्न पनि सक्छ । तर, चम्पादेवी जस्तै सत्ताको स्वाद चाखेर मात्रै हुन्न आफ्नो कर्तव्य पनि निर्वाह गर्नुपर्छ भनेर बस्ने महिलाका लागि भने उनले प्रेरणा पनि दिएकी छन् । चम्पादेवीले जस्तै गाईलाई घाँसकुँडोमै सबै जना रमाउनुपर्छ भन्ने होइन । उनको जस्तै सरल जीवन जिउन चाहनेका लागि भने मार्ग प्रशस्त गरेको छ






