बर्दिया । बर्दियामा भारतका विभिन्न स्थानबाट फर्किएका ५१ जना नेपालीलाई क्वारेन्टाइनमा राखिएको छ । मंगलवार राति र बुधवार विहान भारतका विभिन्न स्थानबाट आएका ५१ जना नेपालीलाई क्वारेन्टाइनमा राखिएको बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए ।
बर्दियाको मुर्तिया, पश्चिमको गौरीफंटा नाकाबाट नेपाल भित्रिएका बर्दियाबासीलाई सदरमुकाम गुलरिया, ठाकुरबाबा, मधुवन र बारबर्दिया नगरपालिकाको क्वारेन्टाइनमा राखिएको जनाईएको छ । सदरमुकाम गुलरियामा २ जनालाई अत्याधिक ज्वरो आएपछि आईसुलेसन वार्डमा राखिएको थियो । ज्वरो घटेपछी उनिहरुलाई क्वारेन्टाइनमा राखिएको प्रजिअ लामिछानेले बताए । यस्तै देशका विभिन्न स्थानबाट आएका झण्डै ३५ जनाको ज्वरो मापन गरि घरमा पठाईएको छ ।
उनीहरुलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिने बताए । नेपाल सरकारले देशभर लकडाउन घोषणा गरेसंगै बर्दियामा बाहिर निस्कन नदिन कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका एसपी राजेशनाथ बास्तोलाले बताए । धेरै उल्लघंन गरेको पाइएमा थप कडाइ गरिने उनले बताए ।
विश्वभर कोरोना भोइरस त्रास नेपालमा पनि बढेसँगै बर्दियामा अहिले उच्च सर्तकता अपनाइएको छ । बर्दियाका स्थानीयबासीले कोरोना भाइरस विरुद्ध उच्च सर्तकता अपनाएका छन् ।
सरकारले लकडाउन गरेसँगै जिल्ला प्रशासन कार्यालय बर्दियाले अत्यावश्यक काम बाहेक कोही पनि घर बाहिर ननिस्कन निषेधआज्ञा जारी गरेको बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए ।
‘निषेधआज्ञा ‘कर्फु जस्तै हो, निषेधआज्ञा प्रभावकारी बन्दै गएको छ । कोही पनि व्यक्तिलाई बाहिर ननिस्कन आग्रह गरेका छौँ । एक प्रकारको कर्फु नै हो, सबैले पालना गर्नुपर्छ,’ प्रजिअ लामिछानेले भने सिमानाका पनि बन्द गरिएको छ । यसको पालना गर्दै अत्यावश्यक काममा बाहेक मानिसहरु बाहिर सडकमा बजारमा निस्केका छैनन् । निस्कनै पर्ने मानिसहरुले मास्क प्रयोग गरेका छन् । सेल्फ क्वारेन्टाइन भन्दै मानिसहरु घरमै बसेका छन् । अधिकाशं मानिसहरुले घरमै बसेर सामाजिक सञ्जाल मार्फत अरुलाई पनि सर्तकता अपनाउन, हिड्डुल नर्गन आग्रह गर्ने गरेका छन् ।
नेपाल रेडक्रस, स्थानिय प्रहरी, प्रशासनले पनि अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन अनुरोध गरेको छ । बर्दियाका अधिकाँश स्थानीय तहले आइसोलेसन वार्ड र क्वारेन्टाइन व्यवस्थापन गरिरहेका छन् ।






