वीरगन्ज । वीरगन्ज महानगरपालिकाले वीरगन्ज पथलैया औद्योगिक करिडोर क्षेत्र भएर बग्ने सिर्सिया नदी प्रदूषित गर्ने पाँचवटा उद्योगलाई १५ लाख जरिमाना तिराउने भएको छ । गत आईतबारको मिति उल्लेख गरी नदी प्रदूषित गर्ने पाँचवटा उद्योगलाई वीरगन्ज महानगरपालिकाले ३÷३ लाखका दरले १५ लाख जरिमाना तिर्न पत्रचार गरेको हो ।
अटेर गरे थप कानुनी कारबाहीसमेत गरिने व्यहोरा पत्रमा उल्लेख छ । ती उद्योगबाट निस्केको ठोस र फोहोर पानी वर्षौंदेखि सिर्सिया नदीमा फालिँदै आएको प्रमाण महानगरसँग रहेको महानगरको दाबी छ । सबैभन्दा बढी प्रदूषण गर्ने नदीहरूमध्ये पहिलो चरणमा पाँचवटालाई कारबाही गरिएको वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले जानकारी दिए ।
महानगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण गर्न बनेको ऐन, २०७७ को दफा ३७ अनुसार तथा वीरगन्ज महानगर, जितपुरसिमरा उपमहानगरपालिका, परवानीपुर गाउँपालिका र पर्सा–बाराका जिल्ला प्रशासन कार्यालयको संयुक्त अनुगमन समितिको गत ३ फागुनको निर्णयानुसार नदी प्रदूषण गर्न अटेर गर्ने ती उद्योगलाई कारबाही गरिएको उनको भनाइ छ ।
त्यसरी कारबाहीमा पर्ने उद्योगहरूमा वीरगन्ज–२१ मा रहेका अर्निका प्रोसेसिङ उद्योग प्रालि, ग्लोबल लेदर उद्योग प्रालि, श्रीसिद्धि टेक्सटायल्स प्रालि, मोरियम लेदर उद्योग प्रालि र वीरन्ज महानगरपालिका वडा नम्बर ३२ मा रहेको दुर्गा पुल्प एन्ड पेपर प्रालि रहेका छन् ।
गत १६ फागुनमा वीरगन्ज महानगरले उद्योगहरूबाट निस्केको फोहोर सिर्सिया नदीमा फाल्ने तीनवटा ट्याक्टरलाई पनि नियन्त्रणमा लिएर १÷१ हजार रुपैयाँ जरिमाना गरेको थियो । अनुगमनका क्रममा नदी तटमा रहेका उद्योगले त्यहाँबाट निस्कने फोहोर ( रसायनयुक्त फोहोर पानी, छालाको लेदो, कोइलाको छाईलगायतका वस्तु) सिधै नदीमा फाल्ने गरेको सबुत सरोकारवाला व्यक्ति र निकायले फेला पारेका छन् ।
बाराको सिमराभन्दा पश्चिममा पर्ने रामवनस्थित वनबाट बग्न सुरु गरेको सिर्सिया नदी पर्साको वीरगन्ज सहर हुँदै भारतको रक्सौलसम्म पुगेको छ । औद्योगिक करिडोरमा रहेका छाला, डिस्टिलरी, टेक्सटायल, घिउ, साबुनलगायतका उद्योगबाट निस्कने रसायनयुक्त पानीसँगै जीवजन्तुका सडेगलेका छाला, रौं, खरानी, लेदोलगायतका विकार नदीमा मिसाइँदा दुर्गन्धित बन्ने गरेको छ ।
नदीको प्रदूषणले बाराको सिमरा, बकुलिया, लोहसन्डा, रमौली, सगरदीना, रामपुर टोकनी, छातापिपरा, नितनपुर, गम्हरगाँवा, बेहरा, बलुवा, पर्साको सिर्सिया, ताजपुर, भलुही, रामगढवा, परवानीपुर र वीरगन्ज महानगरपालिकाको रामवन, रामगढवा, विन्दवासिनी, रानीघाट, अशोक वाटिका, छपकैयासहित करिब दर्जनबढी गाउँ र टोल छिचोल्दै बग्ने गरेको छ । सिर्सिया नदीको प्रदूषित पानीका कारण नदी छेउका बासिन्दा तथा पशु चौपायामा समेत रोगको संक्रमण देखिने गरेको स्थानीयको गुनासो छ ।
सिर्सिया नदी आसपासका स्थानीयले प्रदूषण रोक्न माग गर्दैै २०६७ सालमै जिल्ला प्रशासन कार्यालय पर्सा घेराउ पनि गरेका थिए । सो समयमा पनि सिर्सिया नदी अनुगमन समिति गठन गरिएको थियो । सो समितिले नदीको स्थलगत अनुगमन गरी तयार पारेको प्रतिवेदनमा प्रदूषणको कारक उद्योगहरू नै रहेको पुष्टि गरिएको थियो । त्यस समयमा पनि नदी प्रदूषण गर्ने उद्योगहरूको नामै किटान गरिएको पत्र सम्बन्धित निकायमा अझै सुरक्षित छ ।






